राष्ट्रपति भण्डारीले देशको विरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्न बुढानीलकण्ठ स्कुलजस्ता शैक्षिक संस्थाले अग्रणी भूमिका खेल्न सक्ने बताएकी छन्।
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहासले सुम्पेको विरासतलाई न्याय गर्दै सभ्य, विकसित र चिन्तनशील राष्ट्र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएकी छन्।
शुक्रबार बुढानीलकण्ठ स्कुलको स्वर्ण जयन्ती स्तम्भ अनावरण गर्दै राष्ट्रपति भण्डारीले इतिहासले सुम्पेको विरासतलाई न्याय गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएकी हुन्। राष्ट्रपति भण्डारीले नेपाल सभ्यता र संस्कृतिको अतुलनीय संगम भएको मुलुक भएको बताइन्।
"नेपाल सभ्यता र संस्कृतिको अतुलनीय संगम भएको मुलुक हो। यहाँको भूमिमा ज्ञानको नयाँ क्षेत्रको खोजी र प्रयोगहरू भएका छन्, त्यसैले हामी नेपाललाई ज्ञान भूमि वा शान्ति भूमि मान्दछौँ। इतिहासले सुम्पेको त्यो महान् विरासतलाई हाम्रो आजको पुस्ताले न्याय गर्न सक्नु पर्दछ र एउटा सभ्य, विकसित र चिन्तनशील राष्ट्र भावी पुस्तालाई हस्तान्तरण गर्न सक्नु पर्दछ", उनले भनिन्।
देशको विरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्न बुढानीलकण्ठ स्कुलजस्ता शैक्षिक संस्थाले अग्रणी भूमिका खेल्न सक्ने उनको भनाइ छ।
राष्ट्रपति भण्डारीले हरेक दिनजस्तो प्रविधिको क्षेत्रमा नयाँ र चमत्कारपूर्ण उद्भवहरू भइरहेकाले ज्ञानको दायरा असीमित रूपमा बिस्तार हुँदै गएको बताइन्। परम्परागत सोच र चिन्तनले मात्र अबको पुस्ता सफल बन्न नसक्ने बताउँदै उनले वर्तमान समयको विज्ञान र प्रविधिलाई जोड्न सके नेपालले नयाँ सभ्यताको रचना गर्न सक्ने औँल्याइन्।
“हरेक दिनजस्तो प्रविधिको क्षेत्रमा नयाँ र चमत्कारपूर्ण उद्भवहरू भइरहेका छन्। यसबाट ज्ञानको दायरा असीमित रूपमा बिस्तार हुँदै गएको छ। परम्परागत सोच र चिन्तनले मात्र अबको पुस्ता सफल बन्न सक्दैन”, उनले भनिन्, “त्यसैले हाम्रो सभ्यताले विकास गरेको ज्ञानसँग वर्तमान समयको विज्ञान र प्रविधिलाई जोड्न सकेको खण्डमा नेपालले फेरि नयाँ सभ्यताको रचना गर्न सक्दछ।”
बुढानीलकण्ठजस्ता विद्यालयले प्रविधि र परम्परागत मूल्यमान्यतालाई एकै स्थानमा सिकाउँदै बालबालिकालाई प्रतिस्पर्धी, सहयोगी, प्रविधिमैत्री र कुशल नेतृत्व गुणले सम्पन्न बनाउन सक्ने विश्वास व्यक्त गरिन्। गुणस्तरीय शिक्षामा आमनगारिकको पहुँच सुनिश्चित गर्नका लागि बुढानीलकण्ठ आदर्श र नमुना विद्यालयका रूपमा रहेको बताइन्। “यस्तो विद्यालय राजधानीमा मात्र सीमित नरहेर देशका अन्य भागमा सञ्चालन हुन सकेमा गुणस्तरीय शिक्षाको राष्ट्रिय लक्ष्य हासिल गर्न आवश्यक सहयोग पुग्ने छ”, उनले भनिन्।
राष्ट्रपति भण्डारीले ५० वर्षको यात्रामा पठनपाठनका क्षेत्रमा समयानुकूल सुधार गर्दै उत्कृष्टता कायम राख्न सफल भएको भन्दै बुढानीलकण्ठ स्कुलको सराहना गरिन्। विद्यालयबाट उत्पादन भएका विद्यार्थीले संसारका जुन सुकै ठाउँमा प्रतिस्पर्धा गर्न सक्ने र आफूलाई नेतृत्वदायी भूमिकामा राख्न सक्ने क्षमतायुक्त भएका छन् भन्ने कुरा उनीहरू देशका आर्थिक राजनीतिक, सामाजिकलगायत विभिन्न क्षेत्रमा सक्रिय योगदान गरिरहेको वास्तविकताले यसलाई पुष्टि गरेको बताइन्।
"बहुलताको सम्मान, समावेशीकरण, राष्ट्रियताको भाव अभिवृद्धि गर्ने आधारशिलामा उभिएको यस विद्यालयले यही आदर्शमा आधारित भई ५० वर्षको अवधिमा हजारौँ विद्यार्थीलाई दीक्षित गरेको छ। विद्यालय शिक्षाबाट हासिल गरेको संस्कार र ज्ञान व्यक्तिको जीवनमा चिर स्थायी रहन्छ। बुढानीलकण्ठ स्कुलले शिक्षाको यस आधारभूत मान्यतालाई आत्मसाथ गरेको जानकारी गराउँदा खुशी लागेको छ", उनले भनिन्।
यसअघि राष्ट्रपति भण्डारीले मुलुकको सम्पूर्ण भूगोलमा छरिएका जातजाति, वर्ग र सम्प्रदायका बालबालिकालाई स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको भन्दै विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेकोमा बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन्।
कार्यक्रममा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौँ क्षेत्र न. ५ का सांसद प्रदीप पौडेल, पूर्वविद्यार्थी तथा सांसद सुमना श्रेष्ठ, चन्दा कार्की, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति थियो। कार्यक्रममा राष्ट्रपतिले स्कुलको पहिलो ब्याचका एसएलसी टपरलाई सम्मान तथा बोर्ड टपरलाई कदरपत्र प्रदान गरेकी थिइन्। साथै पूर्वकर्मचारी, एसईई, कक्षा १२ र 'ए' लेबलमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई पुरस्कार वितरण गरेको थियो। राष्ट्रपतिको स्वागतमा विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्यलगायतका प्रस्तुति गरेका थिए।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
