दल तथा उम्मेदवारले कति वटा सम्पर्क कार्यालय खोल्न पाउँछन्?

प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक तर्फको कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न भनिएको छ।

काठमाडौँ- निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने प्रयोजनका लागि सातबुँदे निर्देशन दिएको छ। मंगलबार आयोगले एक विज्ञप्ति जारी गर्दै सातबुँदे निर्देशन दिइएको जानकारी दिएको छ। 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनको लागि उक्त निर्देशन दिइएको हो। निर्देशनअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न सक्ने छन्।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य पदको उम्मेदवारले १ (एक) वटा सम्पर्क कार्यालय खोल्न सक्ने भनिएको छ। प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेश गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एकवटा सम्पर्क कार्यालय खोल्न सकिने आयोगको निर्देशनमा भनिएको छ।

प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक तर्फको कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न भनिएको छ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिई निर्वाचन चिह्न प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने पनि आयोगले भनेको छ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्न निर्देशनमा उल्लेख छ।

राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउन पनि निर्देशनमा भनिएको छ।