नेपालले बाँकी खेलमा शतप्रतिशत जित निकाले ४२ अंकको साथ तेस्रो स्थानमा रहने छ। तर, नेपालको लक्ष्य पूरा हुन यूएईले १० खेलमध्ये तीन खेल गुमाउनुपर्ने हुन्छ।
काठमाडौँ– घरेलु मैदानमा नेपालले मंगलबार सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया र स्कट्ल्यान्डविरुद्धको त्रिकोणात्मक ओडीआई सिरिजमा शतप्रतिशत जित निकाल्यो। मैदानमा जितको खुशियाली मनाए पनि सञ्चारकर्मीमाझ उपस्थित हुँदा कप्तान रोहितकुमार पौडेलको अनुहारमा जितको उत्साह देखिएन।
प्रतियोगिताको उपाधि जितिसकेको स्कट्ल्यान्डविरुद्ध नेपाललाई जित दिलाउन कप्तान रोहितले अन्तिम खेलमा ९५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। अब नेपालले लिग–२ का बाँकी आठमध्ये चार खेल खेल्न यूएईको भ्रमण गर्ने छ। यूएईमा नेपालले घरेलु टोलीसँगै पपुवा न्युगिनीको सामान गर्ने छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अर्को मंगलबारदेखि शुरू हुने प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार यूएई प्रस्थान गर्ने छ। यूएई लिग–२ को अंक तालिकामा पाँचौँ स्थानमा रहेको टोली हो। नेपालभन्दा दुई खेल कम खेलेको यूएईको २६ खेलबाट २७ अंक छ।
१० खेल खेल्न बाँकी रहेको यूएईसँग शीर्ष ३ मा पर्दै आगामी जुन–जुलाईमा हुने एकदिवसीय विश्वकप छनोटका लागि जिम्बावेको टिकट काट्ने मौका छ। यता, गणितीय सम्भावना बोकेको नेपाल पनि जिम्बावेको टिकट काट्ने लक्ष्यमा हुने मुख्य प्रशिक्षक मोन्टी देसाईं बताउँछन्। “अहिले हाम्रो लक्ष्य भनेको शीर्ष ३ मा पर्नु हो। त्यसैले बाँकी रहेका खेलहरू हामीले फाइनलसरह लिएका छौँ,” उनी भन्छन्।
मंगलबारको खेलसँगै स्कट्ल्यान्डले लिग–२ को ३६ खेलको चक्र पूरा गरिसकेको छ। ओमान र अमेरिकाले पनि आ–आफ्नो खेल खेलिसकेका छन्। स्कट्ल्यान्ड तीन खेल्नअघि नै लिग–२ को विजेता घोषित भइसकेको थियो। यस्तै, ओमान ४४ अंकको साथ दोस्रो स्थानमा रहेको छ। यूएई २५ अंकको साथ चौथो स्थानमा छ। तेस्रो स्थानमा रहँदै ३७ अंक जोडेको नामिबियाले भने यूएईसँग दुई खेल्न बाँकी छ।

यस्तो अवस्थामा नामिबियाले बाँकी रहेका खेल जिते ४१ अंक बनाउने छ। नेपालले बाँकी रहेका खेल शतप्रतिशत जित निकाले ४२ अंकको साथ तेस्रो स्थानमा रहने छ। तर, नेपालको लक्ष्य पूरा हुन यूएईले बाँकी रहेका १० खेलमध्ये कम्तिमा तीन खेल गुमाउनुपर्ने हुन्छ। ‘प्राक्टिकली’ हेर्दा असम्भव देखिए पनि नेपाली टोलीमा आएको सुधारको कारण असम्भव नरहेको प्रशिक्षक देसाई संकेत गर्छन्।
“दिइएको जिम्मेवारी सही तरिकाले खेलाडीहरू प्रयोग गरेका छन्। त्यसलै ‘होम’ सिरिजमा सफलता मिलेको छ। पछिल्ला चार खेलमा गरेको प्रदर्शनले नेपाली खेलाडीले पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास दिलाएको छ,” उनी भन्छन्।
यूएई उड्नुअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न चारवटै खेलमा नेपालले दुई सयमाथिको लक्ष्य पूरा गर्यो। नेपालले नामिबियाविरुद्धको पहिलो खेलमा दुई विकेटको जित हात पारेको थियो। यस्तै, दोस्रो खेलमा नेपाल तीन विकेटले विजयी भयो। स्कट्ल्यान्डविरुद्धको पहिलो खेलमा दुई विकेटले जितेको नेपालले तेस्रो खेलमा पनि दुई विकेटको जित हात पार्यो।
नेपाल घरेलु सिरिजमा व्यस्त रहँदा यूएईले भने वरीयतामा आफूभन्दा माथि रहेको अफगानिस्तानसँग टी–२० सिरिज सकाएको छ। उसले खेलेका तीनमध्ये एक टी–२० खेलमा अफगानिस्तान नराम्रोसँग (९ विकेटले) पराजित भएको थियो। अन्य खेलमा भने अफगानिस्तानले लक्ष्य भेटाउन निकै संघर्ष गर्नुपर्यो। टी–२० वरीयतामा अफगानिस्तान नवौँ स्थानमा छ भने, यूएई १३औँ स्थानमा। एकदिवसीयमा भने अफगानिस्तान ९ र यूएई १७औँ स्थानमा छ।
हुन् त नेपालसँगको पछिल्ला पाँच भेटमा पनि यूएई हाबी हुँदै आएको छ। पाँचमध्ये तीन खेलमा युएईले क्रमशः ८४ ९९ र ४८ रनले नेपाललाई पराजित गरेको छ। दुई खेलमा भने नेपाल ६ र तीन विकेटले विजयी भएको छ। त्यसैले पनि यूएईविरुद्ध जित निकाल्न नेपाललाई कठिन देखिन्छ।

तर, कप्तान रोहितकुमार पौडेल भने यूएईलाई हराउन योजना बनाइसकेको बताउँछन्। “यूएईमा के गर्ने भनेर प्रशिक्षक मोन्टी देसाईं र मेरो प्लानिङ भइरहेको छ। त्यो प्लानिङले काम गर्छ होला जस्तो लाग्छ,” उनले भने।
यूएई जाँदा नामिबिया र स्कट्ल्यान्डविरुद्धका सिरिज खेलेका लेग स्पिनर सन्दीप लामिछाने नेपाली टोलीमा रहने सम्भावना कम छ। बलात्कारको अभियोग खेपिरहेका सन्दीपले सिरिजका ४ खेलमा १३ विकेट लिएका थिए। सन्दीपलाई काठमाडौँबाहिर जान अदालतबाट अनुमति लिनुपर्ने छ।
रोहित उनीबिना पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेमा विश्वस्त छन्। तर, ओभर ‘एक्साइडेट’ भएर नखेल्ने उनको प्रतिक्रिया छ। “गेमलाई टाइम दिएर खेलिरहेका थियौँ। यूएईमा पनि यसरी नै खेल्ने हो। तर, ओभर एक्साइडेट भएर खेल्नु भएन,” उनी भन्छन्।
यता, ज्ञानेन्द्र मल्ल भने नेपालमा पिचले धेरै साथ दिएको कारण शतप्रतिशत जित निकालेको बताउँछन्। तर, यूएईको टूर कठिन हुने उनको संकेत छ। “यहाँ पिच हामी अनुकूल छ। पक्कै पनि बाहिर फरक फरक पिचमा खेल्नुपर्छ। यसले नतिजालाई गाह्रो बनाउँछ”, उनी भन्छन्। १५–२२ फागुनसम्म नेपालले घरेलु टोली यूएई र पपुवा न्युगिनीसँगको सिरिज खेल्ने छ। लगत्तै टोली पुनः स्वदेश फिर्ता भएर त्रिवि मैदानमै हुने अर्को सिरिज तयारी गर्ने छ।
क्यानका अनुसार नेपालले फागुन अन्त्यमा यूएई र पपुवा न्युगिनीलाई नेपालले आतिथ्य गर्ने छ। योसँगै नेपालले लिग–२ का सम्पूर्ण ३६ खेल पूरा गर्ने छ। र, विश्वकप छनोट खेल्ने नखेल्ने र एकदिवसीय मान्यता जोगिने या नजोगिने भन्ने टुंगो लाग्ने छ। त्यसैले नेपाललाई प्रशिक्षक देसाईं र कप्तान रोहितले भनेको जस्तै सम्पूर्ण खेलमा जित अपरिहार्य हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
