लिग–२ : यूएई जाने टोलीमा परेनन् सन्दीप, मौसमलाई मौका

क्यानले एपीएफबाट घरेलु प्रतियोगिता खेलिरहेका मौसम ढकाललाई सन्दीप लामिछानेको विकल्पमा यूएई लैजान लागेको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा आयोजना हुने त्रिकोणात्मक ओडीआई सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। क्यानले बिहीबार नाबालिग बलात्कारको अभियोग खेपिरहेका लेग स्पिनर सन्दीप लामिछानेबिनाको टोली घोषणा गरेको हो।

क्यानले गत शुक्रबार सन्दीपलाई यूएई भ्रमणमा लैजान आवश्यक पहल गरिदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेको थियो। तर, उच्च अदालत, पाटनले सन्दीपलाई विदेश जान रोकेको भन्दै राखेपले क्यानको पत्र दर्ता नै नगरी आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताउँदै फिर्ता पठाइदिएको थियो।

सन्दीप यूएई जान नपाउने भएपछि उनको स्थानमा अर्का लेग स्पिनर मौसम ढकाललाई टोलीमा समावेश गरिएको क्यान स्रोतले बताएको छ। २१ वर्षीय ढकालले यसै वर्षको प्रधानमन्त्री कप प्रतियोगिताका ६ खेलमा सर्वाधिक १५ विकेट लिएका थिए। सशस्त्र प्रहरी बल (एपीएफ)बाट घरेलु प्रतियोगिता खेलिरहेका मौसमलाई सन्दीपको विकल्पमा यूएई लैजाने तयारी गरिएको हो।

इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगालदेश प्रिमियर लिग (बीपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल)लगायत विश्वका अधिकांश टी–२० लिग खेल्ने सन्दीप एक मात्र 'हाई प्रोफाइल' नेपाली खेलाडी हुन्।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिगलाई बलात्कार गरेको उजुरी परेको थियो। उनीविरुद्ध भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी हुँदा सन्दीप सीपीएल टोली जमैका तल्लावाजसँग वेस्ट इन्डिजमा थिए। लगत्तै क्यानले उनलाई निलम्बन गरेको थियो।

उनी असोज ६ गते नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए। त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा थुनामा पठाएको थियो। तर, पुस २९ गते उच्च अदालत, पाटनले सन्दीपलाई शर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

क्यानले निलम्बन फुकुवा गर्दै सन्दीपलाई मंगलबार सम्पन्न लिग–२ अन्तर्गत स्कट्ल्यान्ड र नामिबियासम्मिलित त्रिकोणात्मक ओडीआई सिरिजमा ६ महिनापछि पुनरागमन गराएको थियो। उनले ४ खेलमा १३ विकेट लिएका थिए।

नेपाली टोलीले यूएईमा घरेलु टोली र पपुवा न्युगिनिसँग ४ खेल खेल्ने छ। नेपालले फागुन १५ मा पपुवा न्युगिनीसँग पहिलो खेल खेल्ने छ। फागुन १८ मा घरेलु टोलीसँग र फागुन १९ मा पुन: पपुवा न्युगिनीसँग खेल्ने छ। नेपालले यूएई भ्रमणको अन्तिम खेलमा फागुन २२ मा घरेलु टोली यूएईसँग खेल्नेछ।

नेपाली टोली
रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन झा, भिम सार्की, प्रतिश जीसी र मौषम ढकाल