त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही २ लाख दिने

सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज ‘क्लिन स्विप’ गर्ने नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही २ लाख दिने भएको छ।

काठमाडौँ- सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ। 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताएका छन्।

उनले हालै सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहनस्वरूप जनही २ लाख रुपैयाँ दिने घोषणा गरे।

त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज 'क्लिन स्विप' गरेको थियो। नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपाल पहिलोपटक क्लिन स्विप गरेको थियो। नेपालले श्रृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पारेको हो। 

यस्तै नेपालले लगातार चार खेलमा जितेको पनि पहिलोपटक हो। त्रिवि मैदानमा सम्पन्न श्रृंखला अन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्कटल्यान्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो। स्कटल्यान्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो। 

प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनले भने, “छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ। यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो। यसपटक सबै खेल जितेर तपाईंहरूले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भूमिका खेल्नुभएको छ। म नेपाल सरकारको तर्फबाट प्रेरणास्वरूप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु।”