एभरेस्ट, धादिङ र ब्राइट फ्युचर सेमिफाइनलमा

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

काठमाडौँ– एभरेस्ट मावि बुटवल, धादिङ स्पोर्ट्स क्लब धादिङ र ब्राइट फ्युचर मावि सलकपुर मोरङ काठमाडौँमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एभरेस्ट समूह ‘क’ को विजेता तथा धादिङ उपविजेता बनेर अन्तिम चारमा पुग्दा ब्राइट फ्युचर समूह ‘ख’ को उपविजेताको रूपमा अघि बढेको हो। समूह ‘ख’बाट यसअघि नै आयोजक न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ।

पुरानो नैकापस्थित न्यु डायमन्डको निर्माणधीन कोर्टमा बिहीबार भएको खेलमा एभरेस्टले दोहोरो सफलता हात पार्दै समूह ‘क’को विजेता बनेको हो। पहिलो खेलमा दुप्चेश्वर गाँउपालिका नुवाकोटलाई २५–४, २५–४ र २५–१० ले पराजित गरेको एभरेस्टले आफ्नो समूहको अन्तिम खेलमा नमोबुद्ध नगरपालिका काभ्रेलाई २५–१३, २५–८ र २५–८ ले पराजित गर्‍यो। यस जितसँगै एभरेस्टले तीन खेलबाट ९ अंक बटुल्यो।

अर्को खेलमा धादिङ स्पोर्ट्स क्लब धादिङले नमोबुद्ध नगरपालिका काभ्रेलाई २५–१५, २५–१६ र २५–१८ ले पराजित गर्दै समूह उपविजेता बन्यो। धादिङले तीन खेलबाट ६ अंक बटुल्यो। बिहीबार दुई खेलमा हार बेहोरेको नमोबुद्धले ३ खेलबाट ३ अंक बटुलेर तथा दुप्चेश्वर जित र अंकविहीन हुँदै बाहिरियो।

अर्को खेलमा ब्राइट फ्युचरले परोपकार आदर्श माविलाई २५–१४, २५–१४ र २५–२२ ले पराजित गर्दै समूह ‘ख’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो। ब्राइट फ्युचरले दुई खेलबाट ३ अंक जोड्यो। परोपकार अंक र जितविहीन हुँदै बाहिरियो। यससँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ।

अब सेमिफाइनलमा शुक्रबार समूह ‘क’ को विजेता एभरेस्ट र ‘ख’ को उपविजेता ब्राइट फ्युचरबीच तथा अर्को सेमिफाइनलमा समूह ‘ख’को विजेता डायमन्ड र ‘क’ को उपविजेता धादिङबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैयाँ प्रात गर्नेछ। विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदयमान खेलाडीले १५ हजार रुपैयाँ र ट्रफी पाउनेछ। उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ।