यू–१९ विश्वकप एशियाली छनोट : नेपालले सिंगापुरलाई दियो २६२ रनको लक्ष्य

आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकमा नेपालले आईसीसी यू–१९ विश्वकप एशियाली छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा सिंगापुरलाई २६२ रनको लक्ष्य दिएको छ।

काठमाडौँ- आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतक प्रेरित नेपालले आईसीसी यू–१९ विश्वकप एशियाली छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा सिंगापुरलाई २६२ रनको लक्ष्य दिएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई)को आजमानस्थित इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेकव नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो।

नेपालका आकाश त्रिपाठीले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ्स खेले। नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान बनाए पनि गुलशन झा सिनियर टोलीसँगै रहने भएपछि उनको स्थानमा आकाशलाई यूएई पठाइएको थियो। 

गुलशनले यूएईमै हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली र पपुवा न्यु गिनीविरुद्धको त्रिकोणात्मक ओडीआई सिरिज खेल्ने छन्।

आकाशले १०० बलमा ७ चौका र १ छक्का प्रहार गरे। उनले ओपनर अर्जुन कुमालसँग ९३ रनको अर्धशतकीय साझेदारी गरेका थिए। अर्जुन ६७ बलमा ३ छक्कासहित ३७ रन बनाएर २७औँ ओभरको पहिलो बलमा बोल्ड भए।

विशालविक्रम केसीले ६३ रनको अविजित अर्धशतकीय इनिङ्स खेले। उनले ५४ बलमा ४ छक्का र २ चौका प्रहार गरे। कप्तान देव खनाल २१, दीपक बोहोरा १७ रनमा आउट भए।

सिंगापुरका अभ्युदय छाजेर र आर्यवीर चौधरीले २/२ विकेट लिए। महियु भाटिया र अद्वित्य भार्गवको नाममा १/१ विकेट रह्यो।