पाँचथरमा आगलागीमा परेर २ बालकको मृत्यु, तेह्रथुममा १४ घर पूर्णरूपमा क्षति

तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी हुँदा १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ।

काठमाडौँ– पाँचथरमा आगलागीमा परी दुई बालकको ज्यान गएको छ। हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको हो।

परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा शुक्रबार दिउँसो अन्दाजी ४:४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीमा मतान घरको माथिल्लो तलाको कुनामा पहिचान हुन नसक्ने अवस्थामा बालकहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। आगलागीमा मतान घर पूर्णरूपमा जलेको छ। आगलागीको कारण खुलेको छैन। मृतक फिदिम–५ का बालक मावली घर गएको बुझिएको छ।

तेह्रथुममा १४ घर जलेर पूर्णरूपमा क्षति
त्यस्तै, तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी हुँदा १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ। १४ घरमध्ये नौ घरमा मानिस बसोबास गरिरहेको र पाँच घर खाली रहेका थिए।

नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। अहिले आगो नियन्त्रणबाहिर रहेको छ। स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगो निभाउन भर्खरै फिदिम नगरपालिकाको दमकल घटनास्थल आइपुगेको छ।