आईसीसी यू–१९ सँग क्यान मिक्स्ड-११ पराजित

आईसीसीले यू–१९ विश्वकप छनोटमा एसिया क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न देशका १३ खेलाडी समेटेर टोली बनाएको छ। जुन टोलीले तीन खेल खेल्नेछ। नेपालबाट कृतिका, सृष्टि जैशी र आश्मा पुलामी मगर छन्।

तस्वीर : एमसीसी

काठमाडौँ– तीर्थ सतिश र साची धडवालले शानदार ब्याटिङ गरेसँगै आईसीसी यू–१९ महिला क्रिकेट टोलीले टी–२० अभ्यास खेलमा क्यान मिक्स्ड–११ लाई पराजित गरेको छ।

बुधबार सम्पन्न खेलमा आईसीसी यू–१९ महिला टोलीले मिक्स्ड–११ लाई १० विकेटले पराजित गरेको हो। आईसीसी यू–१९ महिला क्रिकेट टोलीको नेपाल भ्रमणमा यो पहिलो जित हो।

जितका लागि ७४ रनको विजयी लक्ष्य पछ्याएको आईसीसी यू–१९ टोलीले ९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। आईसीसी यू–१९ को जितमा ओपनर तीर्थ २६ बलमा ४ चौकासहित सर्वाधिक ३० रनमा अविजित रहिन्।

साची धडवाल २९ रनमा अविजित रहिन्। उनले ३० बलमा ३ चौका प्रहार गरिन्।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मिक्स्ड–११ महिला टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो। मिक्स्ड–११ का लागि कप्तान अप्सरी बेगमले सर्वाधिक २१ रन बनाइन्। उनले २१ बलमा ३ चौका प्रहार गरिन्।

ओपनर राजमती ऐरीले २३ बलमा २ चौकासहित १६ रन जोडिन्। अन्य ब्याटरले भने सम्झनलायक खेल प्रदर्शन गर्न सकेनन्।

आईसीसी यू–१९ का लागि कृतिका मरासिनीले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन्। समैइरा धर्नीनिधर्कले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर २ विकेट लिइन्। सृष्टि जैशीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिइन्। भुटानकी खेलाडी सोनामले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन्। इवा सोम्सेलले एक विकेट लिइन्।

आईसीसी यू–१९ महिला टोली पहिलो खेलमा मेरीलेबोन क्रिकेट क्लबससँग १६ रनले पराजित भएको थियो। आईसीसी यू–१९ टोलीले अब अन्तिम खेल कात्तिक ११ मा नेपाल इमर्जिङ टिम्ससँग खेल्नेछ।

आईसीसीले यू–१९ विश्वकप छनोटमा एसिया क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न देशका १३ खेलाडी समेटेर टोली बनाएको छ। जुन टोलीले तीन खेल खेल्नेछ। नेपालबाट कृतिका, सृष्टि जैशी र आश्मा पुलामी मगर छन्।

एमसीसी पहिलो खेलमा नेपालको मिक्स्ड–११ महिला टोलीसँग १०७ रनको फराकिलो अन्तरले पराजित भएको थियो।