यू–१९ विश्वकप छनोट : मलेसियाविरुद्ध नेपाल १० विकेटले विजयी

नेपालले मलेसियाले दिएको ७३ रनको लक्ष्य ९ ओभरको समाप्तिमा विकेटको क्षतिबिना पूरा गर्‍यो।

काठमाडौँ– आईसीसी यू–१९ विश्वकप एशियाली छनोट प्रतियोगितामा नेपाल मलेसियाविरुद्ध १० विकेटले विजयी भएको छ। मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरमा पूरा गरेको हो।

नेपालको जितमा ओपनर दीपक बोहरा ३८ र अर्जुन कुमाल २१ रनको योजदान दिए। २९ बलको सामना गरेका बोहराले ८ चौका प्रहार गरे भने कुमालले २५ बलको सामना गर्दै ३ चौका प्रहार गरे।

मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो। मलेसियाका मोहम्मद अकरम मलिकले सर्वाधिक २६ रन बनाए।

उनले ५१ बलमा ३ चौका प्रहार गरे। मोहम्मद हरिसन र मोहम्मद साहिरिले १२/१२ रन बनाए। मलेसियाका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका दीपेश कँडेलले १० ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए। आकाश चन्दले ३ विकेट लिए। उनले ४.३ ओभरमा ९ रन खर्चिए।

मिलन बोहराले २ विकेट लिँदा सुवास भण्डारीको नाममा १ विकेट रह्यो।