सन्दीप लामिछाने लिग-२ खेल्न यूएई जाँदै

सन्दीप लामिछाने आईसीसी विश्वकप लिग–२ खेल्न यूएई जाने भएका छन्।

काठमाडौँ- लेग स्पिनर सन्दीप लामिछानेले यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली, पपुवा न्यू गिनी र नेपाल सम्मिलित त्रिकोणात्मक ओडीआई सिरिज खेल्ने भएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार पहिलोपटक राष्ट्रिय टोलीमा परेका मौसम ढकाल नेट प्राक्टिसमा घाइते भएपछि सन्दीपलाई उनको स्थानमा यूएई पठाउन लागिएको हो।

पुस २९ गते उच्च अदालत पाटनले नाबालिका बलात्कारको अभियोग खेपिरहेका सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्दा विदेश जाने अनुमति दिएको थिएन। त्यसकारण सन्दीपको स्थानमा अर्का लेग स्पिनर मौसमलाई टोलीमा समावेश गरिएको थियो। २१ वर्षीय उनले यसै वर्षको प्रधानमन्त्री कप प्रतियोगिताका ६ खेलमा सर्वाधिक १५ विकेट लिएका थिए। 

फागुन १५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीप लामिछानेलाई विदेश जानका लागि अनुमति दिइसकेको छ। 

उनी सशस्त्र प्रहरी बल (एपीएफ)बाट घरेलु प्रतियोगिता खेलेका थिए। तर, २८ फ्रेबुअरीमा नेट प्राक्टिस गर्दा मौसमको काँधमा चोट लागेपछि खेल्ने अवस्थामा नरहेको क्यानले जनाएको छ। 

इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगालदेश प्रिमियर लिग (बीपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल)लगायत विश्वका अधिकांश टी–२० लिग खेल्ने सन्दीप एकमात्र 'हाई प्रोफाइल' नेपाली खेलाडी हुन्।

लिग–२ अन्तर्गत घरेलु टोली नेपाल, स्कट्ल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक ओडीआई सिरिजमा उनले ४ खेलमा १३ विकेट लिएका थिए। सन्दीप बुधबार नै यूएई जाने छन्। क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार उनको भिसालगायतका प्रक्रिया पूरा भइसकेको छ।