भारतमा यस वर्षपनि ‘हिटवेभ’को सम्भावना, फेब्रुअरीमा शताब्दीकै उच्च तापक्रम

भारतको संघीय सरकारले अत्यधिक तापक्रमको प्रभाव निगरानी गर्न कमिटी नै गठन गरेको छ।

भारतमा यस वर्षको फेब्रुअरीमा सन् १९०१ यताकै बढी तापक्रम मापन भएको छ। औसतमा साढे २९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको त्यहाँको मौसम विभागले जनाएको छ।

यो भारतले मौसमसम्बन्धी रेकर्ड राख्न शुरू गरेयता फेब्रुअरीमा मापन भएको सबैभन्दा बढी तापक्रम हो। यसलाई आधार मान्दा यसवर्ष मार्च र मे महिनामा ‘हिटवेभ’को सम्भावना बढेको भारतीय मौसम विभागले जनाएको छ।

मौसम विभागले विज्ञप्ति जारी गर्दै भनेको छ, “विशेष गरी भारतका उत्तर पूर्वी, मध्य र पूर्वी क्षेत्रहरूका अधिकांश भागमा सामान्यभन्दा उच्च तापक्रम हुने अनुमान गरिएको छ।” भारतमा मे र जुन महिनामा अत्यधिक गर्मी र उच्च तापक्रम मापन हुनु सामान्य विषय हो। तर यसवर्ष चाँडै नै गर्मी भएको छ। साथै, उच्च तापक्रमका कारण उत्पादन घट्ने र ऊर्जाको बढी खपत हुने बीबीसीले उल्लेख गरेको छ।

यसअघि सन् २०२२ को मार्चमा भारतमा १२२ वर्षपछिकै उच्च तापक्रम मापन भएको थियो। त्यसबेला औसत उच्च तापक्रम ३३.१० डिग्री सेल्सियस मापन भएको थियो। केही स्थानको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो।

अत्यधिक गर्मीका कारणका कारण उत्पादनमा प्रत्यक्ष असर पुगेपछि भारतले गहुँ निर्यातमै प्रतिबन्ध लगाएको थियो। स्थानीय बजारमा पनि गहुँको मूल्य बढेको थियो। भारत विश्वमै सबैभन्दा बढी गहुँ उत्पादन गर्ने दोस्रो ठूलो मुलुक हो।

पछिल्लो समय भारतमा अत्यधिक गर्मी र निरन्तर तथा लामो समयसम्म ‘हिटवेभ’ आइरहेको विज्ञहरूको भनाइ छ। संघीय सरकारले अत्यधिक तापक्रमको प्रभाव निगरानी गर्न कमिटी नै गठन गरेको छ। यद्यपि, हालसम्म उब्जनीको स्थिति राम्रो रहेको सो कमिटीका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

“हिटवेभका कारण गम्भीर स्वास्थ्य समस्या देखा पर्छन्। रातको समयमा पनि तापक्रम बढी हुँदा बिरामी निको हुने सम्भावना घटाउने र अस्वस्थ हुने सम्भावना बढाउने गर्छ,” वैज्ञानिक डा चाँदनी सिंहको भनाइ छ।

भारतमा सन् २००० देखि २००४ र २०१७ देखि २०२१ सम्म अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ५५ प्रतिशतले बढेको मेडिकल जर्नल ‘द ल्यानसेट’ले उल्लेख गरेको छ।