जी-२० सम्मेलनमा मोदीले भने- ठूला चुनौती सम्बोधनमा विश्वका शासकीय प्रणाली असफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठूला चूनौतीहरूको सामना गर्न विश्वका शासकीय प्रणालीहरू असफल बनेको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका साझा समस्या समाधान गर्न सबैले सहमतिमा आउनुपर्ने बताएका छन्। 

नयाँ दिल्लीमा आयोजित जी-२० सम्मेलनको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मोदीले विश्वका ठूला चुनौतीहरूको सामना गर्न विश्वका शासकीय प्रणालीहरू असफल बनेको बताए। यस्तोमा विश्वको बहुपक्षीय अवधारणा संकटमा परेको बताउँदै उनले सबै मुलुक त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए। 

“पछिल्ला केही वर्षयताका वित्तीय संकट, जलवायु परिवर्तन, महामारी, आतंकवाद र युद्धहरूको अनुभवले वैश्विक शासकीय प्रणाली असफल भएको कुरा स्पष्ट देखिन्छ,” मोदीको भनाइ थियो, “हामीले साझा रूपमा समाधान गर्न सकिने विषयहरूमा समाधान गर्न नसकिने विषयहरू तगारो बन्नु हुँदैन।”

भारतले यस वर्षको जी-२० सम्मेलनको अध्यक्षता गरिरहेको छ। तर, युक्रेन-रुस युद्धमा भारतको तटस्थताका कारण बैठकका अजेन्डा छलफलका क्रममा भारतलाई अप्ठेरो परेको अलजजिराले उल्लेख गरेको छ। जी-२० बैठकमा विशेष गरी युक्रेन युद्धका विषयमा साझा धारणा बन्न नसकेको बताइएको छ।

रुसी युद्धसामग्री र इन्धनको प्रमुख खरिदकर्ता रहेको भारतले रुस–युक्रेन युद्धबारे खुलेर रुसको विरोध गरेको छैन। यस्तोमा भारतले यसपटक जी-२० सम्मेलनमा पनि रुसको आलोचना गरेन। उसले गरिबी निवारण र जलवायु परिवर्तनलगायतका मुद्दा मात्रै सम्मेलनमा प्राथमिकताका साथ उठाएको अलजजिराले उल्लेख गरेको छ।

बैठकमा युरोप र अमेरिकी प्रतिनिधिहरूले भने युक्रेन द्वन्द्वमा रुसलाई नै जिम्मेवार रहेको दोहोर्‍याएका छन्। त्यस्तै, जर्मनीले भने जी-२० बैठकलाई रुसी ‘प्रोपागान्डा’को प्रतिकार गर्ने थलोका रूपमा लिएको बताइएको छ। 

बैठकमा साइडलाइन वार्ताका क्रममा नेदरल्यान्ड्सका विदेशमन्त्री वोप्के होक्स्त्राले रुस-युक्रेन युद्धमा रुस पूर्णरूपले जिम्मेवार रहेको बताउँदै उसमाथि निरन्तररूपमा प्रतिबन्ध लगाउनुपर्ने बताए।  

यस्तै, फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनाले पनि विश्वका हरेक मुलुकले भोगिरहेको नकारात्मक परिणामका लागि रुस जिम्मेवार बन्नुपर्ने बताइन्। उनले युद्ध प्रभावित मानिसहरूको सुरक्षाको चिन्ता गरिनुपर्ने बताइन्। 

बैठकमा रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन, चिनियाँ विदेशमन्त्री किङ गाङसहित विभिन्न देशका ४० जना प्रतिनिधिहरूको सहभागिता थियो।

गत महिना भारतको बैंगलोरमा बसेको जी-२० विदेशमन्त्री स्तरीय बैठकले युक्रेन संकट समाधानमा साझा सहमति गरेको थियो। तर, उल्लेख्य उपलब्धि हासिल नभएपछि त्यसको केही दिनपछि पुनः नयाँ दिल्लीमा बैठक बसेको हो।

बैंगलोर बैठकमा भारतीय प्रधानमन्त्री मोदीले विश्वका धनी मुलुकहरूले विश्वका अति संवेदनशील मानिसहरूलाई सहयोग गर्नुपर्ने, स्थायित्व कायम गर्नुपर्ने, आत्मविश्वास र विश्व अर्थतन्त्रमा प्रगति हासिल गर्नुपर्ने कुरामा जोड दिएका थिए।

यसअघि सन् २०२२ को नोभेम्बरमा इन्डोनेसियाको बालीमा सम्पन्न जी-२० बैठक पनि साझेदार राष्ट्रहरूबीच साझा धारणा नबनी टुंगिएको थियो।

-एजेन्सी