यू-१९ टोलीका सदस्यलाई जनही १ लाख दिने क्यानको निर्णय

क्यानले यू–१९ टोलीका सदस्यलाई जनही एक लाख रुपैयाँ दिने भएको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले यू-१९ टोलीका सदस्यलाई जनही एक लाख रुपैयाँ दिने भएको छ।

अर्को वर्ष श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकपअन्तर्गत एशियाली छनोट प्रतियोगिता पार गरेसँगै क्यानले जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको हो।

बिहीबार सम्पन्न खेलमा नेपालले घरेलु टोली यूएईलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि विश्वकपमा पुगेको थियो। नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको यूएईले ४८ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्रै बनाउन सक्यो।

नेपालले अन्तिम पटक सन् २०१६ को विश्वकपमा न्युजिल्यान्ड र आयरल्यान्डजस्ता बलिया टोलीलाई हराउँदै क्वार्टरफाइनलसम्मको ऐतिहासिक यात्रा तय गरेको थियो। त्यसयता नेपाल पहिलोपटक विश्वकपमा छनोट भएको हो।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले नेपाली टिमलाई बधाई दिएका छन्। उनले देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका छन्।