अस्मिताको संघर्ष : बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

धन कमाउन विदेशिएका श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र खुवाउन समस्या भयो। त्यसपछि अस्मिताले ५० हजार रुपैयाँ ऋण लिएर ‘कटन क्यान्डी’ बनाउने मेसिन किनिन्। 

ढोरपाटन– अस्मिता विक ३७ वर्ष पुगिन्। उनी आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेचिरहेको हुन्छिन्। 

अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका संघर्षको चाङ पनि थपिँदो छ। म्याग्दीको राखु भगवतीमा जन्मिएकी अस्मिताको मंगला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो।

विवाहलगत्तै २०६३ सालमा सुनौलो भविष्यको सपना देखेर गरेर बागलुङ बजार छिरेका विक दम्पतीका कष्ट त्यसपछि शुरू भए। जेठा छोरा यतिबेला रुद्रेपिपल माविको कक्षा १० र कान्छा छोरा कक्षा ५ मा अध्ययनरत छन्। अस्मिता विद्यालय जान पाइनन्। तर, छोराहरूले धेरै पढुन् भन्ने उनको चाहना छ। शुरूआती दिनमा अस्मिता बागलुङ बजारको हल्लनचोकमा तरकारी बेच्थिन्।

छोरालाई पढाउनकै लागि कालिका मन्दिर प्रवेशद्वारमा फूल–प्रसाद पनि बेचिन्। सोचेजस्तो आम्दानी नभएपछि कालीगण्डकी नदीबाट बालुवा निकाल्न थालिन्। श्रीमान् गणेश वैदेशिक रोजगारीका लागि साउदी गए।  विदेशमै बिरामी परेर दुःख पाएपछि गणेश स्वदेश फर्किए। धन कमाउन विदेशिएका श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र दुई छाक खुवाउन समस्या भयो।

अस्मिताले ५० हजार रुपैयाँ ऋण लिएर ‘कटन क्यान्डी’ बनाउने मेसिन किनिन्। छ वर्षयता सोही मेसिन अस्मिताको सुख, दुःखको साथी बनेको छ। गणेशले निको भएपछि घर निर्माणको काम गरे। अहिले आफ्नै अटोरिक्सा चलाउँछन्।

“कुनै कुनै दिन एउटा पनि क्यान्डी बिक्री हुँदैन। कहिले चार–पाँच हजार पनि हुन्छ,” उनी भन्छिन्, “कमाएर सम्पत्ति जोड्ने रहर छैन। छोराले दुःख नपाउन्। धेरै पढुन् भन्ने चाहना छ।” अप्ठ्यारोमा पनि आँट, साहस र परिवारको मायाले हरेक चुनौतीसँग लड्न सहज भएको उनी बताउँछिन्। “अहिले शुरूका दिनमा जस्तो दुःख छैन। संघर्षलाई निरन्तरता दिए सफलता मिल्ने रहेछ,” उनले भनिन्। 

एक जनाको कमाइले घर खर्च चलाउने र अर्काको कमाइले अटोको किस्ता तिरिरहेका छन्। बचेको केही रकम सहकारीमा बचत गरेका छन्। “खुसी जीवन जिउन श्रीमान्–श्रीमतीले एक अर्काको मुख ताकेर हुँदैन, सकेको काम सबैले गर्नुपर्छ,” उनी भन्छिन्, “हामीजस्तो सामान्य परिवारका मान्छेले अवसर पाउन गाह्रो नै हुन्छ र पनि निरन्तर लागे सफलता मिल्छ। हामीलाई दुःखले संघर्ष सिकायो।”