लिग– २ : नेपाल यूएईविरुद्ध ४२ रनले विजयी

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो।

काठमाडौँ– नेपालले आईसीसी लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गरेको छ। दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा सोमबार नेपाल यूएईविरुद्ध ४२ रनले विजयी भएको हो। 

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो। यो जितसँगै नेपालले  शीर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना जीवितै राखेको छ।

यूएईका लागि असिफ खानले ८२ रनको अर्धशतकीय इनिङ्स खेले। उनले  ११५ बलको सामना गर्दै २ चौका र ३ छक्का प्रहार गरे। अर्यान लर्काले ७८ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए। अर्बिन्दले १३ रनबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन्। 

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने आरिफ शेखको नाममा १/१ विकेट रह्यो।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो।

नेपालका भीम सार्कीले ७० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ९९ बलमा ७ चौका प्रहार गरे। आरिफ शेखले ५६ बलमा २ चौका र १ छक्कासहित अविजित रहँदै ४३ रन बनाए।

कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, ओपनर ज्ञानेन्द्र मल्लले ११ र प्रतीश जिसीले अविजित ११ रन बनाए।

यूएईका जुनेद सिद्दिकीले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चिए ३ विकेट लिए। रोहल मुस्तफा र आर्यान लर्काले २/२ विकेट लिए। कार्तिक मयप्पनको नाममा १ विकेट रह्यो।