लिग–२ : यूएई र पीएनजीविरुद्ध खेल्न क्यानले घोषणा गर्‍यो १४ सदस्य टोली

क्यानले यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग खेल्न रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

तस्वीर : क्यान

काठमाडौँ– नेपाल क्रिकट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। क्यानले घरेलु मैदानमा यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग खेल्न रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा कप्तान रोहितसहित, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतीस जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, भीम सार्की र ललित राजवंशी रहेका छन्।

नेपाली टोली यूएई भ्रमणपछि मंगलबार स्वदेश फर्किएको थियो। नेपालले यूएई भ्रमणका क्रममा चारमध्ये तीन खेल जितेको थियो।

नेपालले लिग-२ अन्तर्गत अन्तिम ओडीआई सिरिज त्रिवि क्रिकेट मैदानमा बिहीबार पपुवा न्युगिनीसँग र आइतबार यूएईसँग खेल्ने छ।

यस्तै, तेस्रो खेल पपुवा न्युगिनीसँग फागुन २९ गते सोमबार र अन्तिम खेल यूएईसँग चैत २ गते बिहीबार खेल्ने छ।

सिरिज खेल्न पपुवा न्युगिनीको टोली नेपाल आइसकेको छ भने यूएईले पनि नेपाल आउने अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।

पाँचौँ स्थानमा रहेको नेपालले समान खेलबाट ३२ अंक जोडेको छ। ३२ खेल खेलेको नेपालले १५ जित र १५ मा हार बेहोरेको छ। दुई खेल भने बराबरीमा टुंगिएको थियो।

नेपालले शीर्ष तीनमा रहँदै सिधै एकदिवसीय विश्वकप खेल्न बाँकी रहेका चार खेलमा शतप्रतिशत जित हासिल गर्नुपर्ने छ।