आसिफको शतकमा नेपालद्वारा पीएनजीसामु २९८ रनको लक्ष्य

पपुवा न्यू गिनीका सेमो कामेअले ९.१ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर ५ विकेट लिए।

काठमाडौँ– ओपनर आसिफ शेखको शतकमा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणत्मक ओडीआई सिरिजमा पपुवा न्यू गिनीलाई २९८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनाएको हो। यो ओडीआईमा नेपालले बनाएको कीर्तिमान रन हो।

२०२३ फ्रेबुअरी १४ मा नेपालले नामिबियाविरुद्ध ८ विकेट गुमाउँदै २८७ रन बनाएको थियो। उक्त खेल पनि कीर्तिपुरमै भएको थियो। नेपालका आसिफले सर्वाधिक ११० रनको शतकीय इनिङ्स खेले। उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गरे। उनको ओडीआई करिअरमा यो पहिलो शतक हो।

अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए। उनले ५६ बलमा ६ चौका प्रहार गरे। उनीहरूबीच पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी भएको थियो।

१८.४ ओभरमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि लगातार २ विकेट गुमायो। कुशल मल्ल २ र ज्ञानेन्द्र मल्ल ११ रनको व्यक्तिगत स्कोरमा आउट भए।

तर, त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेलले आसिफसँग ६७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याए। आसिफ ३७ ओभरको चौथो बलमा आउट भए। त्यसलगत्तै रोहित पनि ३० रनमा क्याच आउट भए।

उनले ३९ बलमा २ चौका  १ छक्का प्रहार गरे। भीम सार्किले ३८ बलमा ४ चौकासहित ४४ रन बनाए। आरिफ शेख १५, करण केसी ८, सन्दीप लामिछाने ७ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए।

सोमपाल कामी ४ रनमा अविजित रहे। पपुवा न्यू गिनीका सेमो कामेअले ९.१ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर ५ विकेट लिए। रिले हेकुरेले ३ विकेट लिए।