एमसीसीविरुद्ध रूबिनाको ह्याट्रिकप्रेरित क्यान–११ को जित

पोखरा रंगशालामा टस जितेर रूबिनाको कप्तानीमा उत्रिएको क्यान–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको थियो।

तस्वीर : क्यान

काठमाडौँ– रूबिना क्षेत्रीको ह्याट्रिकप्रेरित क्यान–११ले भ्रमणकारी एमसीसी वुमेन्सविरूद्ध जित निकालेको छ। शुक्रबार सम्पन्न खेलमा क्यान–११ ले एमसीसीलाई १९ रनले पराजित गरेको हो।

नेपालले दिएको ९९ रनको लक्ष्य पछ्याएको एमसीसीले १९.४ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्रै बनाउन सक्यो। एमसीसीका लागि एलिजा हवार्डले अविजित २० रन बनाइन्। यता, एबी ह्वाइब्रोले १९ रन बनाउनुबाहेक अन्य ब्याटरले सम्झनलायक खेल प्रदर्शन गर्न सकेनन्।

नेपाली टिमका लागि कप्तान रूबिनाले ह्याट्रिकसहित पाँच विकेट लिइन्। उनले १५औँ ओभरमा सबा नसिमको विकेट लिइन्। यस्तै, अन्तिम ओभरमा अमान्डा पोट्गेइटर, रिया बाभल, साबा क्रे र इजाबेली गर्नेलाई बोल्ड गरिन्। यस्तै, नेपालका लागि कविता कुँवर र नेरी थापाले २–२ विकेट लिए। यता, सिता रानामगरले १ विकेट लिइन्।

त्यसअघि पोखरा रंगशालामा टस जितेर रूबिनाको कप्तानीमा उत्रिएको क्यान–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको थियो। नेपालका लागि नेरीले १८, सम्झना खड्का र कविता कुँवरले १७–१७ रन बनाए। यस्तै, सुमन खतिवडाले १६ रन जोडिन्।

एमसीसीका लागि राचेल पोटरले सर्वाधिक ३ विकेट लिइन्। यता, रिया बाभल र अमान्डा पोट्गेइटरले २–२ विकेट लिइन्। यस्तै, एलिजा हवार्डले एक विकेट लिइन्।