नेपाल कहिल्यै मृत्युदण्डको पक्षमा जानुहुँदैन : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मृत्युदण्ड कानूनको पक्षमा नरहेको बताएका छन्।

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन्।

मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने भएकोले आफू मृत्युदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो । 

मंगलबारबाट काठमाडौँमा शुरू भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान नहुने जिकिर गरे।

अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताए। 

“मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी बुद्ध जन्मेका देशका बासिन्दाहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो”, उनले भने, “तर, पनि कतिवटा देशहरूले त मृत्युदण्ड दिएकै छन्। संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेशनले कुनै प्रकारको विभेद हुँदैन भन्छ। सबै प्रकारका असमानता स्वीकार गर्दैन।”

अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीतिक भइरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।