हिउँले हरेक वर्ष सानाठूला दुर्घटना निम्त्याइरहेको हुन्छ। यस्तो थाहा पाउँदापाउँदै पनि हामी हिउँसँग खेल्न मन पराउछौँ। तर हिउँले सुखभन्दा बढी दु:ख निम्त्याउँछ।
चैतका केही दिन यसपालि औधी चिसा भए। प्रि-मनसुन भित्रिएसँगै परेको लगातारको वर्षाले मौसम चिसिएको थियो। चिसोकै कारण तीन हजार मिटरमाथिका डाँडाहरूमा हिउँ पर्यो। भर्खरै शुरु भएको हिमाल आरोहण वा पदयात्रा मार्गहरू हिउँले ढाकिए। हिउँले छोपेका उच्च पर्वत श्रृंखला र पदयात्रीहरूको रमाइलो ढिलै भए पनि देख्न पाइयो। भलै काठमाडौँ आसपासका चुचुरामा यो वर्ष हिउँ परेन।
मानिसको शारीरिक बनौट चिसो सहन नसक्ने खालको हुन्छ। यसले गर्दा मानिसले अत्यधिक चिसो मन नपराउने र नसहने भए पनि, प्राय: मानिसको मन र स्वभाव हिउँसँग रमाउन चाहन्छ। केही मानिस हिउँ भन्नेबित्तिकै हुरुक्क हुन्छन्।
हिउँले हरेक वर्ष सानाठूला दुर्घटना निम्त्याइरहेको हुन्छ। यस्तो थाहा पाउँदापाउँदै पनि हामी हिउँसँग खेल्न मन पराउछौँ। तर हिउँले सुखभन्दा बढी दु:ख निम्त्याउँछ। हिउँ खेल्दा र हिउँमा रमाउँदा रमाउँदै हिउँले कतिबेला दु:ख दिइसक्छ, पत्तो पाइन्न।

अनुभवी र भुक्तभोगीहरू भन्छन्- हिउँ दु:खको अग्लो पहाड हो। पर्वतारोही शर्मीला लामाका अनुसार हिउँले ढाकेको अग्लो पहाडभन्दा कठोर हुन्छ हिउँ। पर्वतोहरण गर्दा कतिबेला र कहाँ चिप्लिन्छ, कतिबेला हिमखाल्डोमा खसिन्छ, कुनबेला हिउँले औँला खाइसक्छ थाहै हुन्न। कहिलेकाहीँ मात्र हिउँमा पुग्नेहरूको अनुभव शर्मिलाको जस्तै नभए पनि हिउँले दिने सुख क्षणिक हो।
नेपालमा यो वर्ष माघको तेस्रो सातासम्म पनि उच्च हिमाली क्षेत्रमा पहिलेजसरी हिउँ नपरेको समाचार आइरहेका थिए। गत वर्ष २०२१ अक्टोबर अन्तिम साता, अर्थात् मंसिरमै हिमालका अग्ला चुचुरादेखि ३५ मिटरका होचा ठाउँहरूमा मनग्गे हिउँ परेको थियो। मार्ग नै बिगार्ने गरी अन्नपूर्ण परिक्रमा पदमार्ग तथा तिलीचो ताल पदमार्गमा पर्ने ३५ सय मिटर उचाइमाथिका पहाड सेताम्यै थिए। सगरमाथा क्षेत्र पनि हिउँले टल्किएको थियो। तर सन् २०२२ जनवरीसम्म पनि उच्च हिमाली क्षेत्रमा हिउँ परेन।
रुवाजस्तै फुसफुस झर्ने हिउँ झर्दा मात्र तातो हुन्छ। परिरहेको हिउँमा रमाउनेले चिसो अनुभव गर्न पर्दैन। तर जब हिउँ जम्छ, चिसोले सजीव र निर्जीव सबैलाई असर पार्छ। यो वर्ष पनि यदि अहिले हिउँ परेको थियो भने, यो बेलासम्म हामीले केही न केही अशुभ खबरहरू सुन्न पर्न सक्थ्यो। किनभने हिउँले बर्सेनी जनधनको क्षति गर्छ।
नेपालको भूबनौटअनुसार पहाडका पनि उच्च भाग र हिमाली क्षेत्र, अर्थात् ११ हजार फिटमाथिको अग्ला डाँडा तथा चुचुरोहरूमा हिउँ पर्छ। उच्च हिमाली चुचुरोहरूमा भने बाह्रैमास हिँउ हुन्छ। जहाँ सधैँभरि पर्छ, त्यहाँ हिउँले निम्त्याउने दुर्घटना र जोखिम एकैखाले हुन्छन्। वर्षमा एकपटक मात्र हिउँ पर्ने पहाडी क्षेत्रका केही स्थानमा हिउँले पुर्याउने क्षति अर्कैखाले हुन्छन्।
जस्तै, सगरमाथाजस्ता अग्ला क्षेत्रमा हिउँले पुरिएर वा क्रिभास भनेर बुझिने हिमखाल्डोमा परेर पदयात्री वा पर्वतारोहीहरू हराउँछन् वा मर्छन्। चन्द्रागिरि वा फुल्चोकी जस्ता कम उचाइका डाँडामा कहिलेकाहीँ पर्ने हिउँमा चिप्लिएर, लडेर वा हिउँ खेल्ने क्रममा होस गुमाउँदा ज्यानै जान्छ। भौतिक सम्पत्ति नासिन्छ।

२०७८ माघ २१ गते बझाङको थलारा-३ चाखुरीमा ट्याक्टर चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भयो। २०७७ माघमा काठमाडौँबाट हेटौँडा गइरहेको टाटा सुमो भीमफेदी नजिक चिप्लियो। बझाङमा होस् वा भीमफेदीमा, सवारी साधन चिप्लिने कारण हिउँ नै थियो। दुवै दुर्घटनामा एक-एक जना गरी दुईको ज्यान गयो, चार घाइते भए। हुम्लामा २०७६ सालमा हिउँमा ट्रिपर चिप्लियो र दुई जनाको मृत्यु भयो।
अघिल्लो वर्ष हिउँदमा चन्द्रागिरिमा राम्रैसँग हिउँ परेको थियो। त्यहाँ पनि हिउँले एक जनाको ज्यान लियो। घरबाट जडीबुटी खोज्न निस्किएका बेला हिउँमा चिप्लीएर आठ वर्षअघि जुम्लामा एक जनाको मृत्यु भएको थियो। हिउँमा चिप्लिएरै तीन वर्षअघि मुगुमा पनि एक जनाको ज्यान गएको थियो।
केही वर्षअघि सोलुखुम्बु सदरमुकाम सल्लेरीमा हिउँ पर्यो। धावनमार्गमा हिउँ जमेपछी सात दिनभन्दा बढी फाप्लु विमानस्थल बन्द भयो। हिउँ सफा गर्न समय लाग्दा विमानस्थल बन्द गर्नु परेको थियो।
तीन वर्षअघि मनाङमा परेको बाक्लो हिउँले त्यहाँका कयौँ गाउँबाट सदरमुकाम चामे आउजाउ ठप्पै भयो। खानेकुराको अभाव भयो। चौपायाहरू कयौँ दिनसम्म हिउँमै कठांग्रिएका तस्वीरहरू सार्वजनिक भए। तर उद्वार हुन सकेन वा गर्नलाई सजिलो भएन।

हिउँले दुर्घटना निम्त्याएका र क्षति गरेका यी स्थानहरू सधैँभरि हिउँ पर्ने ठाउँ भने हैनन्। हिउँदमा एकपटक केही दिन हिउँ पर्ने स्थानहरूमा पनि हिउँले मनग्गे क्षति गर्छ भन्ने उदाहरण मात्र हुन्। हिउँको क्षति जुन हामीले आकलन गर्न भ्याएकै हुन्न।
हिउँका कारण उच्च हिमाली क्षेत्रमा हुने दुर्घटना र जोखिमका उदाहरणहरू झन् डरलाग्दा छन्। गत वर्ष हिउँदमै मनास्लु हिमालमा गएको हिमपहिरोले तीन जनाको ज्यान गयो। मनास्लु हिउँचुलीबाट चिप्लिएर विश्वप्रसिद्ध स्कि खेलाडी हिलारी नेल्सन बेपत्ता भइन्। केही दिनपछि उनको शव फेला पर्यो। गत वर्ष नै सगरमाथा बेसक्याम्प पदयात्रामा गएका एक पदयात्रीको हिउँमा चिप्लिएर ज्यान गयो।
नेपालमा सन् २०१४ मा अन्नपूर्ण पदमार्ग क्षेत्रमा बाक्लो हिउँ पर्यो। हुडहुड नामक हिउँआँधी आयो। हिउँआँधीले नेपाली र विदेशी गरी ५० पदयात्रीको ज्यान लियो। २०७२ सालको भूकम्पमा परी सगरमाथा आरोहणमा गएका २३ जना पर्वतारोहीको मृत्यु भयो। उनीहरू हिउँमा पुरिएका थिए।
२०७१ सालमै हिउँमा चिप्लिएर सगरमाथा क्षेत्रमा दुइ विदेशीले ज्यान गुमाए। तीन वर्षअघि पोखराबाट अन्नपूर्ण बेसक्याम्प गएका तीन जनामध्ये हिउँको ढिस्कोले पुरिएर एकको मृत्यु भयो।

नेपालमा हरेक वर्षजसो हिउँमा परेर मानिसको ज्यान जाने गरेको पाइन्छ। घाइते वा अंगभंग हुनेको संख्या पनि उल्लेख्य छ। हिउँले भौतिक सम्पत्ति र बालीनाली पनि नष्ट गर्छ वा काम नलाग्ने बनाइदिन्छ।
हिउँले नेपालमा मात्र हैन विदेशतीर पनि हरेक वर्षजस्तो विनास निम्त्याइरहन्छ। गएको जनवरीमा अमेरीकाका विभिन्न शहरमा हिउँ पर्दा कयौँ दिनसम्म हवाई यातायातसमेत प्रभावित भयो। २०२२ डिसेम्बरमा अमेरिकाको न्युयोर्क शहरमा गएको हिउँआँधीमा परि ३४ जनाको ज्यान गयो।
जापानमा पनि एक महिनाअघि परेको ठूलो हिमपातले १७ जनाको ज्यान लियो। क्यानाडामा सडकमै गाडी रोकिए। कार, बस, ट्रक तथा लरीहरूमा मान्छे थुनिए। खानेकुराको अभाव भयो। हिउँ पर्दा एकछिन रोकिएका उनीहरू, हिउँ पर्न बन्द नभएपछि सवारीसहित जहाँको त्यहीँ रोकिए। खानेकुरा र पानीको अभाव भयो। हाम्रो नेपालभन्दा फरक भूगोल भए पनि पृथ्वीको उत्तरी भागमा पर्ने मुलुक तथा स्थानहरूमा व्यापक हिमपात हुन्छ।
हिउँ र खेल
जाडोयाममा चिसोबाट परै भाग्ने मान्छे पनि हिउँसँग लुकामारी खेल्न पायो भने औधी खुशी हुन्छ। हिउँ खेल्नु भनेको हिउँको स्पर्शमा रमाउँदै मनोरञ्जन गर्नु हो। हिउँमा रमाउदाँ शरिरमा स्फुर्ती बढ्छ।
अग्लो ठाउँमा पुग्ने मानवीय मनोकांक्षाले पनि हिउँ र मानिसको सम्बन्ध प्रगाढ बनाएको हुनसक्छ। अग्लिनु, अग्लो ठाउँमा पुग्नु र सकुशल फर्किनुलाई मान्छेले जित ठान्छ। अग्लिनुको पछाडि आत्मसन्तुष्टि हुने भएकोले होला, जोखिम हुदाँहुदै पनि मान्छे हिउँसँग जोरी खोज्छ। दुर्घटनामा समेत पर्छ।
हिउँ पर्न लाग्यो भन्ने थाहा पाउने बित्तिकै मानिसहरू वरिपरिका अग्ला चुचुरातिर कुद्छन्। हिउँमा चिप्लेटी खेल्छन्। हिउँ थुपारेर मानवाकृति बनाउँछन्। फोटो र भिडियो खिच्छन्। पानीजसरी हिउँ छ्यापाछाप गर्छन्। हिजोआज त झन, रमाइला टिकटक बनाउँछन्। फेसबुक लाइभ गर्छन्। फोटोले इन्स्टा रंगाउँछन्।

सुन्दा उस्तै सुनिए पनि हिउँ खेल्नु र हिउँमा खेल खेल्नु बिल्कुल फरक हो। हिउँ परिरहेको बेला फुसफुस झरिरहेको हिउँमा भिज्नु, कुद्नु, हिउँ बटुलेर मानवाकृति वा अन्य आकृति बनाउनु, फोटो खिच्नु, टिकटक बनाउनु, उफ्रिनु, चिप्लेटी खेल्नु र रमाउनु हिउँ खेल्नु हो। यस्तो अवस्थामा बिनातयारी र सावधानीले दुर्घटना निम्ताएको पाइन्छ।
हिउँमा व्यवासायिक खेलहरू पनि खेलिन्छ। हिउँमाथि खेलिने खेलहरू चुनौतीले भरिएका हुन्छन्। तिनीहरू साहसिक खेलको दर्जामा पर्छन्। जस्तै, स्किइङ, स्नोबोर्डिङ, स्केटिङ, स्लाइडिङ तथा आइस क्लाइम्बिङ आदि हिउँमा खेलिने रोमाञ्चक र साहसिक खेल हुन्। आइस क्लाइम्बिङलाई पर्वतारोहण भन्दा फरक नपर्ला।
यसबाहेक नेपालमा हिउँमा खेलिने अन्य खेलहरू बिरलै देखिन्छन्। यहाँको भूगोलले र हिउँ जम्ने पहाडको उचाइ र भू-बनोटले पनि पर्वतारोहणबाहेक अन्य खेलहरू नेपालमा खेलिन सजिलो छैन भन्ने भुक्तभोगीहरूको ठम्याइ छ।
हिउँसँग खेल्ने की नखेल्ने?
हिउँसँग खेल्दा वा रमाउँदा हिउँको प्रकृतिबारे थोरै भए पनि जानकार हुनु राम्रो हुन्छ। ग्लेसिएरबारे जानकारी राख्नु त झनै फाइदाजनक छ।
झर्दै गरेको हिउँ जमेर चट्टान जसरी नै थुप्रिरहेका बरफका सानाठूला चुचुरा जसरी ग्लेसिएर बनेको हुन्छ। यसलाई पृथ्वीको गुरुत्वाकर्षणले तलतल तानिरहेको हुन्छ। ग्लेसिएर अध्ययन गर्नेहरू ग्लेसियोलोजिस्ट हुन्। उनीहरूका अनुसार ग्लेसियर एक डेढसय वर्षदेखि हजारौँ वर्षसम्म पुरानो हुन्छन्।
नेपालका हिमालमा जोखिमपूर्ण ग्लेसियर छैनन्। त्यसैले ग्लेसिएरमा परेर हुने दुर्घटनादर डरलाग्दो छैन। तर हिमाल चढ्नेले ग्लेसिएर वा हिउँको प्रकृति बुझ्दा हिउँमा पर्न सक्ने संभावित जोखिमबाट सावधान रहने उपाय अपनाउन सकिन्छ।
कहिलेकाहीँ वा वर्षमा एकपटक मात्र हिउँ पर्ने ठाउँमा घुम्न वा खेल्न जानेले ग्लेसियरबारे जान्नु नपर्ला। क्रिभासहरूसँग उतिसारो डराउनु नपर्ला। तर हिउँसँग कसरी साक्षात्कार गर्ने, के गर्ने र के नगर्ने भन्ने सामान्य जानकारी राख्नुपर्छ।
फुसफुस झरिरहेको हिउँ न्यानो हुन्छ। तातो भयो भनेर पातला लुगा, टिसर्ट वा हाफपैन्टमा हिउँमा भिज्नु वा लडिबुडी गर्नु जोखिमपूर्ण हुन्छ। हिउँमा भिज्दा वा खेल्दा न्यानो लुगा लगाउनैपर्छ। त्यो पनि एउटा हैन, दुई तीनवटा लगाएमा सुरक्षित हुन सकिन्छ। शरीर ढाक्नेगरी कोट वा ज्याकेट, त्यसको बाहिर रेनकोट लगाउँदा भित्री कपडाहरू भिज्दैनन्। हिउँको चिसो छालासम्म पुग्दैन।
हिउँ खेल्दा हातमा पञ्जा र शिरमा ह्याट वा बाक्लो टोपी, बुटजुत्ता लाउनुपर्छ। सामान्य बेलामा जस्तो हैन, न्यानो जुत्ता वा बुट चाहिन्छ। हिउँ खेल्दा लुगा भिज्ने सम्भावना भएकोले फेर्ने लुगासमेत लानु बुद्दिमानी हुन्छ। लगातार हिउँमा पछारिने, दौडिने, चिप्लिने गर्दा शरिरलाई भार पर्ने भएकोले आराम गर्दै रमाउँदा जोखिम निम्तिदैन।
शरीरमा पानीको अभाव हुन नदिन पानी खाइरहनुपर्छ। हिउँ जमेको जमिनको सतह, हिउँको गहिराइ र भूबनौट बुझेर खेल्यो भने पछुताउनु पर्दैन। हिउँ खेलिरहेको ठाउँको भूबनौटले जोखिम निम्त्याउँछ।
चुचुरोमा हिउँ पर्ने भएकोले त्यस्तो ठाउँमा हिउँ खेल्दा चिप्लिने जोखिम रहन्छ। यस्तो ठाउँमा भिरोलो पाखामा चिप्लेटी खेल्नु भएन। चुचुरोको छेउछाउतिर जानु भएन। झाडी वा बुट्यान छ भने त्यस्तो ठाउँमा पनि खेल्नु भएन। चट्टान र ढुंगा भएको ठाउँ छ भने उफ्रिनु भएन। एक्लै हैन समूहमा मिलेर हिउँमा हिँड्ने वा खेल्ने गर्दा दुर्घटनाबाट जोगिन सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
