यो सफलता मस्कले एकैपटक पाएका होइनन्। लामो समयको संघर्ष र धेरै कम्पनीको आर्थिक सफलताले पनि उनलाई संसारको सबैभन्दा धनी बनाएको हो।
संसारकै धनी व्यक्ति एलन मस्क माइक्रो ब्लगिङ साइट ट्विटरको नयाँ मालिक बनेका छन्। प्रति सेयर ५४.२० अमेरिकी डलरका तिरेर मस्कले कूल ४४ अर्ब अमेरिकी डलरमा ट्विटर कम्पनीका खरिद गरेका हुन्। गत अप्रिलमै ट्विटर किन्ने मस्को शुरूआती योजना लामो समयपछि बिहीबार मात्रै टुंगिएको हो। त्यसपछि उनले ‘द बर्ड इज फ्री’ भन्दै ट्विट गरेका थिए। यस्तै, ट्विटरको बायोमासमेत परिवर्तन गर्दै ‘चिफ ट्विट’ अर्थात् ट्विटर प्रमुख लेखेका छन्।
मस्कले पैसा कमाउने उद्देश्यले नभई मानवीय हितका लागि ट्विटर किनेको भनेका छन्। हिजो एक ट्विट गर्दै उनले ‘कमेडी कानूनसंगत छ’ लेखेका छन्। ट्विटरलाई आगामी पुस्ताले फरक आस्था र विश्वाससँगै स्वस्थ बहस गर्ने डिजिटल थलो बनाउन चाहेको मस्कको भनाइ छ।
ट्विटरले समावेशी दृष्टिकोणसहितको एक मध्यस्थता परिषद् गठन गर्ने र सो परिषद्ले काम नगर्दासम्म ट्विटरका कुनै पनि सामग्री परिवर्तन नगर्नेसमेत उनले स्पष्ट पारेका छन्। "स्पष्ट रूपमा भन्नुपर्दा हामीले अहिलेसम्म ट्विटरको सामग्री मध्यस्ततासम्बन्धि नीतिमा कुनै परिवर्तन गरेका छैनौँ", मस्कले ट्विटरमा लेखेका छन्।
ट्विटरले अभिव्यक्ति स्वतन्त्रतामाथि अकुंश लगाएको र पक्षपाती भएको मस्कले आरोप लगाउँदै आएका थिए। त्यस बेला उनले आफू मालिक बने ट्विटरका धेरै कुरा सुधार्ने प्रतिबद्धतासमेत गरेका थिए। पछि ट्विटर किन्ने सम्झौता गरेका उनले सम्पूर्ण खाताबारे कम्पनीले जानकारी नदिएको भन्दै जुलाईमा ट्विटर नै नकिन्ने निर्णय गरे। ट्विटरका अधिकांश खाता नक्कली भएको भन्दै उनले प्रमाणित गरेर देखाउन कम्पनीलाई चुनौती दिएका थिए। आफूलाई वास्तविकता थाहा पाउने अधिकार भएको उनको भनाइ थियो। तर कम्पनीले पाँच प्रतिशतभन्दा कम मात्रै यस्ता खाता रहेको भनेको थियो।
सम्झौतापछि पनि कम्पनी नकिन्ने मस्कको निर्णयविरुद्ध कम्पनीले मुद्दा चलाउने तयारी गरेको थियो। तर विभिन्न आरोप लगाउँदै ट्विटर नकिन्ने निर्णयमा पुगेका मस्क पुनः खरिद प्रक्रियामा फर्किए। अक्टोबर ५ मा पुनः ट्विट गर्दै ट्विटर किन्ने संकेत गरे। त्यसपछि कम्पनीले उनको मुद्दा रद्द नगरी यसको मिति मात्रै सार्यो।
मस्कले ट्विटर किन्ने भए सन् २०२२ को अक्टोबर २८ तारिखभित्र कम्पनीको सम्पूर्ण रकम चुक्ता गर्नुपर्ने शर्तसहित कम्पनीले समयसीमा तोक्यो। त्यसैअनुसार रकम चुक्ता गरी मस्कले ट्विटर किनेका हुन्। ट्विटरको विश्वसनीयता बढाउने, नक्कली खाता हटाउने र सबैका लागि उपयोगी बनाउने उनको प्रतिबद्धता छ। साथै, ट्विटरलाई अहिलेकोभन्दा राम्रो र नवीन संरचनासहितको बनाउनेमा उनको जोड छ।
ट्विटर किन्ने निर्णय गर्नु पहिले मस्कले एक लामो स्ट्याटस नै लेखेका थिए,'वाक स्वतन्त्रता प्रजातन्त्र कार्यान्वयनको आधारशिला हो र ट्विटर यस्तो डिजिटल डबली हो जहाँ मानिसको भविष्यका विषयबारे छलफल गरिन्छ। मैले ट्विटरलाई पनि अहिलेसम्मको भन्दा राम्रो र नयाँ संरचनासहितको बनाउन चाहन्छु। विश्वसनीयता बढाउने, ट्विटरका नक्कली खाता हटाउने र सबै मानिसका लागि उपयोगी बनाउनेछु। ट्विटरमा अथाह सम्भावना छ यसका लागि म कम्पनी र यसका प्रयोगकर्ताहरूसँगै काम गर्न चाहन्छु।’
ट्विटरको निकै आलोचना गर्ने मस्क नै अब ट्विटरका मालिक बनेका छन्। उनले कस्तो परिवर्तन ल्याउँछन् भन्ने धेरैको चासो छ। मालिक बने लगत्तै उनले ट्विटरका कार्यकारी प्रमुख पराग अग्रवालसहित ४ जना पदाधिकारीलाई बर्खास्त गरेका थिए। यसपछि थप कर्मचारी कटौती हुने आकलन छ। उनले यसबारेमा भने केही खुलाएका छैनन्।
मस्क बिहीबार ट्विटरको मुख्यालयभित्र ‘सिंकिङ’ लिएर गएको भिडियो चर्चित नै बन्यो। उनले ट्विटर मार्फत सार्वजनिक गरेको भिडिओमा ‘लेट द्याट सिंक इन’ लेखेका थिए। व्यापार व्यवसायको भाषामा ‘किचेन सिंकिङ’ को अर्थ कम्पनीमा कडा परिवर्तन हुन लागेको संकेतका रूपमा बुझिन्छ। उनको यस कार्यले ट्विटरमा ठूलो परिवर्तन हुन लागेको हो कि भन्ने धेरैको चासो छ। सन् २०२१ मा विभेदपूर्ण ट्विट गरेको भन्दै ट्विटरले पूर्ण रूपमा प्रतिबन्ध लगाएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि पुनः स्वागत गर्ने भनेका थिए।
संसारकै धनी एलन मस्क को हुन्?
एलन मस्कको जन्म दक्षिण अफ्रिका प्रिटोरियाको एक धनी परिवारमा सन् १९७१ मा भएको थियो। मोडल र डाइटिसियन आमा माये र इन्जिनियर बाबु इरोल मस्कका जेठा सन्तान हुन् एलन मस्क। मस्क बुबाभन्दा आमाका प्यारा थिए।
एलन सानैदेखि कम्प्युटरमा रुचि राख्थे। उनले १२ वर्षको उमेरमै भिडियो गेम डिजाइन गरेका थिए। दक्षिण अफ्रिकामा जारी रंगभेदी आन्दोलनकै बेला उनको हुर्काइबढाइ भयो। उनी हिंसात्मक आन्दोलनका प्रत्यक्षदर्शीसमेत हुन्। देशको तनावपूर्ण स्थितिबाट टाढा भाग्न मस्क १७ वर्षको उमेरमा क्यानडा गए।
क्यानडा पुगेपछि केही समय क्विन्स विश्वविद्यालयमा पढेका उनी १९९२ मा अमेरिकाको पेन्सलभेनिया विश्वविद्यालयमा पढ्न गए। त्यहाँ उनले भौतिक विज्ञान (फिजिक्स) र अर्थशास्त्रमा स्नातकोत्तर गरे।
भौतिकशास्त्रमा पीएचडीका गर्न उनी क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना भएका थिए तर यसबीचमा भाइ किम्बलसँग मिलेर गरेको शुरू गरेको अनलाइन व्यापार कम्पनी जीप २ लाई समय दिन भन्दै सन् १९९५ मा पढाइ छाडेर व्यवसायतिर लागे। पछि मस्क दाजुभाइले त्यो कम्पनी सन् १९९९ मा ३० करोड ७० लाख अमेरिकी डलरमा बिक्री गरे। सम्झौताबापत उनले २ करोड २० लाख डलर लिएका थिए।
मस्कले हालको विरासत एकैपटक प्राप्त गरेका भने होइनन्। संसारको सबैभन्दा धनी बन्न उनलाई उनका धेरै कम्पनीहरूको सफलताले पनि साथ दिएको हो। बिस्तारै आर्थिक सफलता हात पर्दै गएको हो।
जीप २ पछि मस्कले अनलाइन बैंकिङ भुक्तानीको व्यवसायमा पिटर थियलसँग मिलेर काम गरे। यी दुई जना मिलेर पेमेन्ट प्लेटफर्म पे पल बनाए। यसले निकै ख्याति र पैसा पनि कमायो।
पछि पे पललाई सन् २००९ मा ईबेले खरिद गर्दा कम्पनीमा मस्कको हिस्सा कूल १८ करोड डलर थियो। उनी यतिमै रोकिनन्। उनले आफ्नो सम्पत्ति पृथ्वीमा मात्र सीमित गरेनन् किनकि उनी अन्तरिक्षमा पनि उत्तिकै चासो राख्थे।
सुलभ मूल्यका विमानमार्फत चन्द्रमालाई उपनिवेश बनाउने महत्वाकांक्षी लक्ष्यसहित उनले सन् २००२ मा विमान कम्पनी (स्पेस एक्स्प्लोरेसन टेक्नोलोजी कोर्प) स्पेस एक्सको स्थापना गरे। जसले छोटो समयमा नै सफलता पायो।
अर्को वर्ष नै उनले अर्को विद्युतीय कार कम्पनी टेस्लाका लागि ६ करोड डलर छुट्याए। जबकि त्यतिबेला कम्पनीले एउटा पनि कार बनाएको थिए। मस्कका दुई कम्पनी स्पेस एक्स र टेस्लाले सँगसँगै हुर्किएका हुन्।
यसबीचमा सन् २००८ मा स्पेस एक्सले नासासँगको सम्झौतामा पहिलो विमान अन्तरिक्षमा पुर्यायो। यस्तै, सन् २०१२ मा टेस्लाको पहिलो कार मोडल–एसको उत्पादनलाई तीव्र बनायो।
अहिले स्पेस एक्स नासाको प्रमुख साझेदार कम्पनी हो। यस्तै टेस्लाको विद्युतीय कार पनि वातावरणमैत्री भएको भन्दै धेरैको रोजाइमा छ।
सन् २०२१ मा मात्रै टेस्ला कम्पनीको मूल्य तीन गुणाभन्दा पनि बढी अर्थात् एक खर्ब डलर पुगेको थियो। यद्यपि, उसको अहिलेको वास्तविक मूल्य ६९ अर्ब अमेरिकी डलरभन्दा केहीमाथि छ।
उनले ट्विटर खरिद गर्दा टेस्लाका ७ अर्ब डलर बराबरका सेयर बिक्री गरेका थिए। यता, स्पेस एक्सको कूल सेयरमध्ये ४८ प्रतिशत सेयरका हिस्सेदार मस्कको आर्थिक सफलतामा टेस्लाको महत्त्वपूर्ण भूमिका छ।
विश्वकै धनी व्यक्ति मस्कको व्यापार र सफलताको कथा यतिमै सकिएको छैन। उनले हालै थप दुई वटा कम्पनी खोलेका छन्। एक हो द बोरिङ कम्पनी जसले जमिनमा ठूला ठूला खाडल बनाउने काम गर्छ।
अर्को हो न्यूरोटेक्निोलोजीसम्बन्धि कम्पनी हो नेउरालिंक। यो यस्तो आविष्कार हो जसले टेलिप्याथिक लिंक विकास गरी स्नायुसम्बन्धी समस्या र मेरुदण्डमा गम्भीर चोट लागेका बिरामीलाई निको पार्न मद्दत गर्ने भनिएको छ।
मस्कको कूल सम्पत्ति
फोर्ब्सका अनुसार शुक्रबारसम्म उनको सम्पत्ति २ खर्ब २१ अर्ब ५० करोड अमेरिकी डलर छ। मस्कको सम्पत्तिको मूल्य बेलाबेला घटबढ हुने गर्छ। उनको अधिकांश सम्पत्ति टेस्लाको सेयरमा आधारित भएकाले सेयर बजार तलमाथि हुँदा सम्पत्ति घटबढ हुने गर्छ।
एक हिसाबले भन्नुपर्दा मस्कको कूल सम्पत्ति विश्वका १५० वटा मुलुकको कूल गार्हस्थ्य उत्पादन(जीडीपी)भन्दा पनि बढी रहेको विश्व बैंकको तथ्यांक छ। यसमा पोर्चुगल, न्युजिल्याण्ड इरानलगायत मुलुकहरू समावेश छन्। मस्कको सम्पत्ति संयुक्त अधिराज्यको कूल गार्हस्थ्य उत्पादनको १० प्रतिशत जति छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
