मेरो पुस्तालाई आन्दोलनले के सिकायो भने कम्युनिस्ट भनेको मुक्तिदाता हो। हामीले अनेक पटक भन्यौँ र लेख्यौँ होला। पछुतो के लाग्छ भने सो अभिव्यक्तिमा ठूलो ठालुपन छ।
साहित्यिक कृतिहरूको पनि देवत्वकरण हुने रहेछ। लक्ष्मीप्रसाद देवकोटा भन्नेबित्तिकै सबैको जिभ्रोमा 'मुनामदन' आउँछ। मुनामदन देवकोटाको सर्वश्रेष्ठ कृति हो भन्ने सन्दर्भमा ठूलो विवाद गर्न सकिन्छ। देवकोटाले प्रमिथियस लेखे। शाकुन्तल महाकाव्य र यात्रीजस्ता कविता लेखे, तर मुनामदनको देवत्वकरणका अगाडि ती सबै छायामा परे। मेरो हकमा 'खरानीमुनिको आगो' र 'सङ्ग्रामबहादुर सार्की'को व्यापक रूपमा चर्चा भइरह्यो। त्योभन्दा अरू कथाहरूको चर्चा भएन। अरू कथा ती दुईको देवत्वकरणको छायामा परे।
यद्यपि, ऐतिहासिक सन्दर्भ, सामाजिक उपयोगिता र सौन्दर्य मूल्यका दृष्टिले अरू कथाका पनि आफ्नो हैसियत, स्थान र गरिमा होला भन्ने मलाई लाग्छ। यो कथा संग्रहको पनि पृष्ठभूमि छ। बेला प्रकाशनले मेरा सबै रचना एकमुस्ट रूपमा संकलन गर्ने योजना त बनायो, तर त्यसमा धेरै काम भएको छैन। तथापि, त्यो होला भन्नेमा म किन पनि आशावादी छु भने मेलम्चीको पानीसमेत काठमाडौँमा आएको छ।
सबै रचना छाप्ने भनेपछि मैले सबै रचनाहरूलाई दोहोर्याएर हेरेँ, किनकि मेरा सबै लेख रचना पहिले हतार–हतारमा लेखिएका थिए। वास्तवमा मेरो या नारायणजी (नारायण ढकाल)का सिर्जना उभिँदाउभिँदै, भाग्दाभाग्दै या कुटिँदाकुटिँदै रचना भएका हुन्। शान्त वातावरण र मनोदशामा स्थितप्रज्ञ भएर कहिले पनि अध्ययन, चिन्तन र लेख्ने अवसर हामीलाई प्राप्त भएन। त्यसो हुँदा हाम्रो जीवन हिँडी–हिँडी खाने, सोच्ने र लेख्ने भयो।
त्यसरी लेखिएका सबै कथाहरू हेर्दै जाँदा कति कथा त मैले बिर्सेको रहेछु। दलन विषयका आठमध्ये पाँच वटा मात्र मेरा कथा मलाई याद रहेछन्, तीन वटा कथा विस्मृत भएका रहेछन्। खोज्दा दलितउपर कमसेकम आठ वटा कथा लेखेको रहेछु। अघि बोल्नुभएका सबै वक्ताले कथाको अन्तर्यमा गएर ऐतिहासिकतामा कथ्य र पात्रहरूको सम्बन्धमा प्रवेश गरेर धेरै कुरा भन्नुभएको छ। म त ताप्लेजुङस्थित सुवाङको मुखियाको छोरो! उज्ज्वल प्रसाईंले मेरो आत्मकथामा त्यही भन्नुभएको छ। मुखियाको छोरो भएकाले संस्कारगत रूपमा, कथाको भाषामा सम्बन्धमा कथामा त्यस्ता कुराहरू आउनु स्वाभाविक हो।
जन्मजातै ममा प्रगतिशील चेत आएको होइन, जन्मजात विद्रोही भएको होइन। 'खरानीमुनि आगो' लेख्नुभन्दा अगाडि मेरो लेखनको पाँच छ वर्ष बितेको थियो। मैले २० सालदेखि लेख्न शुरू गरेँ। २५ देखि २६ सालसम्म दलित उपर गोरखापत्रमा मेरा मसिना थुप्रै कथा छापिए। ती कथाहरूमा दुई–तीन वटा तत्त्व छन्: आँसु, कुण्ठा र गनगन।
एक चरण पार गरिसकेपछि, सामाजिक यथार्थ बुझ्दै जाँदा, मार्क्सवादको आलोकबाट जीवन र जगत्लाई हेर्ने अवसर जब मलाई प्राप्त भयो, मैले जीवनको ऐतिहासिकता, त्यसको वर्तमान र त्यसका सम्भावना बुझ्न थालेँ। मान्छे कहाँबाट आयो? मान्छे कस्ता अवसर पाएको भए के हुन सक्थ्यो भन्नेलगायत अन्य धेरै कुराको मलाई ज्ञान भयो। त्यो ज्ञान पाएपछि लेखिएका कथा हुन् यी। यी कथामा पनि आँसु, कुण्ठा र गनगन पनि छ। त्यससँगै आक्रोश, विद्रोह र कतिपय सन्दर्भमा सानातिना प्रतिरोध पनि छन्। त्यसो हुँदा यी कथाका धेरथोरै मूल्य होलान् भन्ने मलाई लाग्छ।
केही समयअघि सीके लालजीको लेख पढेको थिएँ। त्यसमा उहाँले 'विचारको मौन अवधि' भन्नुभएको थियो। विचारको मौन अवधि भन्नु विचारको स्खलन, रिक्तता वा विचारको भयावह सन्नाटा होला। यो सबै कुराको पृष्ठभूमि छ।
माओवादी विद्रोहका दुइटा बुझिने पक्षहरू थिए। एकातिर जघन्य ज्यादती थियो, अर्कोतिर समग्र समाजलाई जरैसम्म हल्लाउने एजेन्डा र चेष्टा। दुइटा कुरा सँगै मिलेर माओवादी 'जनयुद्ध' बनेको हो। त्यसका परिणाम आज हाम्रा आँखासामु छन्।
नवराज विकको हत्या भयो। पृष्ठभूमि के थियो?
माओवादी विद्रोहमार्फत जहाँजहाँ दलित जागेका थिए, त्यहाँका दलितविरोधीहरू नेपथ्यमा भागिरहेका थिए, लुकिरहेका थिए। माओवादी वैचारिक, सांस्कृतिक र आचारगत रूपले स्खलित हुँदै गएपछि दलितविरोधीहरू जम्मै बौरिए। ती सबै बौरिएर प्रतिसोधमा उत्रिए। यो समाजमा वर्चस्वशालीहरूको अत्यन्त प्रतिशोधपूर्ण हत्या हो नवराज विक तथा साथीहरूको हत्या।
त्यसो किन भयो? किनकि त्यसको पृष्ठभूमि थियो। माओवादी जनयुद्धमा तास खेल्नेहरूलाई तास मुखमा कोच्याइएको थियो। जुवा खेल्नेहरू कुटिएका थिए। श्रीमतीलाई पिट्नेहरूलाई अनेक कारबाही गरिएको थियो। त्यो प्रक्रियाबाट सांस्कृतिक परिवर्तन र रूपान्तरण हुन्छ कि हुँदैन, त्यो विवादको विषय हो। तर त्यसले केही परिणाम पक्कै ल्याएको थियो। अहिले दलितहरू विभिन्न गुटमा छरिँदाछरिँदै पनि दलित अधिकारको पक्षमा बोलिरहेका छन्। हिजोका वर्चस्वशाली र दमनका नायकहरू नेपथ्यमा गएका थिए। माओवादीको पतनसँगै ती सबै बाहिर आए। यिनै पृष्ठभूमिमा यी दलनसम्बन्धी कथा यसरी संकलित हुनु उचित हुन्छ भन्ने लाग्यो।
मेरो पुस्तालाई आन्दोलनले के सिकायो भने कम्युनिस्ट भनेको मुक्तिदाता हो। हामीले अनेक पटक भन्यौँ र लेख्यौँ होला। पछुतो के लाग्छ भने सो अभिव्यक्तिमा ठूलो ठालुपन छ। कोही पनि कसैको मुक्तिदाता हुँदैन। उत्पीडन र अपमान, अभाव, वञ्चना र तिरस्कारबाट दलितले कि त आफैँलाई मुक्त गर्छन्, कि त दासै रहन्छन्। खगेन्द्र सङ्ग्रौलाले मित्र परियार, सरिता परियार र सिके लालहरूको मुक्ति गर्दैन। हामी त सहायक र पूरक मात्रै हौँ। हामी जो आफैँ शासक घरानाका छौँ, हामीबाट मुक्ति हुँदैन। तर त्यो मुक्तिको प्रक्रियामा हाम्रो संलग्नता, स्थान र भूमिका हुनसक्छ।
यहाँका सबैजसो कथा आफ्नो जीवन अनुभवका आधारमा लेखेको हुँ। एउटा मात्र कथा छ, जसको पात्र नितान्त काल्पनिक छ; 'जुम्लेको साथी'। पञ्चायतकालमा कुनै अखबारमा एउटा समाचार पढेँ: देशको कुनै सुख्खा क्षेत्रमा कुनै दलित अनिकालले मरे। त्यो कथाको भ्रूण त्यहीँबाट सुरु भयो। विशुद्ध परिकल्पनाको आधारमा त्यो कथा लेखियो। बाँकी सबै कथा मैले प्रत्यक्ष देखेका पात्रहरूबाटै टिपिएका हुन्। तिनमा अलिकति कल्पना मिसाइयो होला, अलिकति नाटकीकरण गरियो होला। कतै अतिरञ्जना थपियो होला, ती सबै कुराको योगबाट यी कथा बनेका छन्।
अहिलेको सबैभन्दा ठूलो समस्या भनेको विचारको रिक्तता हो। अहिले हाम्रा १० भाइहरू सरकारमा छन्। गठबन्धनलाई भागबन्डा सिवाय दायाबाया हेर्ने फुर्सद छैन। मलाई त के डर छ भने १० भाइको यो गठबन्धन पाँचै वर्ष जानेछ। यसले यस बीचमा के गर्ला? कमसेकम १५-१६ पटक विश्वासको मत लेला। बाँकी जम्मै समय भागबन्डामा बित्नेछ, जसरी अहिले मन्त्रीको भागबन्डाको काम अहिले हुँदै छ। मन्त्रीपछि सीडीओको भागबन्डा होला। राजदूतको भागबन्डा होला। संवैधानिक निकायका नाइकेको भागबन्डा होला। अरू संरचनाका अनेक भागबन्डा होलान्। त्यसैले सत्तामा क्रान्तिकारी भनिएका जो छन्, तिनका लागि आफ्नै इतिहास विस्मृत भएको छ। तिनलाई आफ्नै इतिहासले तर्साइरहेको छ।
माओवादीका लागि सबैभन्दा त्रासको विषय नै त्यसको अतीत हो। पुष्पकमल दाहालविरुद्ध जुन मुद्दा हालियो, त्यो इतिहासको प्रेतले तर्साएको हो। यिनीहरूले आफूलाई चिन्तनलाई राजनीतिलाई व्यापक जनताको जीवनसँग जोडेनन् भने व्यापक जनताको ऊर्जा र प्रेरणाबाट शक्ति प्राप्त गरेनन् भने यस्ता मुद्दाहरू धेरै बढ्नेछन्। यस्ता धेरै प्रेतहरूले तर्साउनेछन्। त्यसको परिणाम के हुन्छ, उनीहरूले जान्ने कुरा हो। म जान्दिनँ।
कथामा प्रयुक्त भाषातर्फ फर्कौं, सामाजिक यथार्थको प्रतिविम्बन गर्ने काइदाका बारे हामीकहाँ केही समस्या छन्। 'पोलिटिकल्लि करेक्ट' भनेर जो भन्ने गरिन्छ नि, म जीवनमा त्यस्तो कहिल्यै भइनँ। त्यस विषयलाई कहिल्यै पनि गम्भीर रूपमा नलिएकाले मचाहिँ मिहिन संशोधनवादी, कम प्रगतिशील या 'पातलो प्रगतिशील' भइरहेँ।
अहिले पनि मैले पहिले लेखेको उपन्यास 'जुनकिरीको संगीत'को सन्दर्भ आउँछ। त्यो उपन्यासमा एउटा संज्ञा बारम्बार आउँछ– गुको लिँड। दलितहरूमाथि प्रयोग गरिएको त्यो संज्ञा लेखक खगेन्द्र संग्रौलाले निर्माण गरेको होइन। समाज राज्यव्यवस्था संस्कृति र त्यसले निर्माण गरेका सम्बन्धले पीडितमाथि आरोपण गरेको संज्ञा हो त्यो। त्यो यति बिघ्न आरोपित छ कि संस्कारगत रूपमा दलित आफैँले पनि त्यसलाई आन्तरिकीकरण गरिसकेको छ।
दलित परिवारमै ठूलोले सानोलाई 'गुको लिँड' भनेको देखेँ मैले। विष्ट बराजुले मात्र त्यसो भनेको होइन। उक्त उपन्यासको सन्दर्भमा दलितको अपमान गरेको आरोप लगाइयो, तर त्यो भनाइ मेरो थिएन। यो कथामा पनि टापीचाउरे र लुतुरे भन्ने शब्द छ। ती नामहरू लेखकले निर्माण गरेका नाम होइनन्। यो समाजको इतिहास, परम्परा, संस्कृतिले उत्पीडनको वृहत् इतिहासको बीचमा निर्माण भएका संज्ञा हुन् ती। जब तपाईँ यथार्थलाई प्रतिविम्बित गर्नुहुन्छ, त्यो यथार्थ नै हुनुपर्छ। त्यसलाई त्यही रूपमा बुझ्नपर्छ भन्ने मलाई लाग्छ।
प्रज्ञा प्रतिष्ठानका नयाँ कुलपति भूपाल राई यो कार्यक्रमबाट हिँडिसक्नुभयो, अर्को कार्यक्रममा दाँत देखाउन। कमसेकम भूपाल राई प्रज्ञा प्रतिष्ठानको कुलपति भएपछि १२-१४ वर्ष यहाँबाट लाभ खाएकाहरूले आफ्नै नेतृत्वमा, आफ्ना वरपरका दलालहरूको थपडीका भरमा आजीवन भत्ता खाने जुन निर्णय गरेका थिए, त्यसलाई खारेज गरे। कमसेकम एउटा काम भएको छ। अब उहाँले जग्गा-जग्गामा दाँत देखाई रहनुको सट्टा यस्ता केही राम्रा कामहरू गरिदिए भूपाललाई पनि राम्रो हुने थियो, यो दुनियाँलाई पनि राम्रो हुने थियो।
दलित विषयका आठ कथा संग्रहित आफ्नो कथा संग्रह 'सङ्ग्रामबहादुर सार्की'को विमोचनका क्रममा शनिबार लेखक संग्रौलाले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा दिएको मन्तव्यको सम्पादित अंश।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
