भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ।
दार्चुला– सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ। भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ।
दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा शुक्रबार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो। महरा महाकाली किनारमा नेपाली क्षेत्रमा हिँडिरहेका बेला उक्त घटना घटेको थियो।
“भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गरेको छ”, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले भने। उक्त घटनाबारे नेपाली पक्षले भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल गरेको थियो।
महाकाली किनारमा भारतले आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो। भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोटक पदार्थ प्रयोग गर्दा महराको मृत्यु भएको नेपाली पक्षको आरोप छ। उक्त विषयमा दुवै पक्षबीच छलफल हुँदा भारतीय पक्षले सो घटनामा आफू जिम्मेवार रहेको स्वीकार गरेको शाहीले बताए।
“भारतीय निर्माण कम्पनी पीडित परिवारलाई क्षतिपूर्ति दिन तयार छ,” उनले भने। भारतीय निर्माण कम्पनी मृतक महरा परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउन तथा परिवारका एक सदस्यलाई कम्पनीमा रोजगारी दिन सहमत भएको छ। निर्माण कम्पनीले १० लाख रुपैयाँ दिन तयार रहेको जनाए पनि मृतक महराको परिवारले अस्वीकार गरेको प्रहरी निरक्षिक शाहीले बताए।
पीडित बालकको परिवारले भारतीय पक्षसँग १० लाख भारतीय रुपैयाँ क्षतिपूर्तिस्वरूप माग गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। निर्माण कम्पनी गर्ग एण्ड गर्गसित थप छलफल गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाइने उनको भनाइ छ।
छलफलका लागि पीडित परिवारका सदस्य, स्थानीय प्रहरी प्रशासनका प्रतिनिधिलगायतको टोलीले आज भारतको धारचुला गइ छलफल गरेको थियो। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना पटक-पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकामा नेपाली पक्षले आपत्ति जनाएको थियो। अब आइन्दा यस्ता गतिविधि रोक्न नेपाली पक्षले भारतीय पक्षसित आग्रह गरेको छ। भारतीय पक्षबाट यसअघि पनि यस्ता घटना हुँदै आएका थिए। भारतले सीमा क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ घरमासमेत क्षति हुने गरेको स्थानीयवासीको गुनासो छ।
शुक्रबार भारतीय निर्माण कम्पनीले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा बालक महराको घटनास्थलमै ज्यान जानुका साथै उनकी दिदी १४ वर्षीया सरिना घाइते भएकी थिइन्। हाल उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। दुवैजना आमाबुवासँगै जङ्गलबाट घर फर्किँदै थिए। बालक महराको शव शुक्रबार राति परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो।
मृतक बालक दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए। सरिनाको खुट्टामा चोट लागेको बुवा हिक्मतले बताए। भारतीय पक्षले जानकारी नदिइकन विस्फोट गराएका कारण छोराको ज्यान गएको उनले बताए।
“म श्रीमती बेरसपति, छोरा पङ्कज, सरिना, पवन र पवेशसँगै लेकबाट घर फर्किदै थिए”, महराले भने, “एक्कासि उछट्टीएर आएको ढुङ्गा लागेर छोरोको ज्यान गयो। विस्फोटक पदार्थ प्रयोग हुँदैछ भन्ने जानकारी पाएको भए छोरा गुमाउनु पर्दैनथ्यो, उनीहरू (भारतीय पक्ष)ले सिट्टीसमेत बजाएनन् ।”
महरा परिवार दसैँ तिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो। यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरू गाउँ फर्किएका थिए।
भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ। त्यसका लागि बेला बेलामा उनीहरूले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन्। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था आएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ।
“यस्तो अवस्थामा दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ”, प्रजिअ उपाध्यायले भने। तर, शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको उनको भनाइ छ।
“घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छौँ”, प्रजिअ उपाध्यायले भने। घटनाबारे स्थानीयस्तरमा दुवै देशका जिल्ला अधिकारीबीच टेलिफोन संवादसमेत भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
