गुठी संस्थानले काठमाडौँको असनमा रहेको मल्लकालीन भवन ‘घडीघर’ भत्काएर व्यापारिक कम्प्लेक्स बनाउने तयारी गरेपछि त्यसलाई रोक्न असनवासी पाँच वर्षदेखि निरन्तर आन्दोलनमा छन्।
काठमाडौँ– असन अर्थात् काठमाडौँ शहरको केन्द्र। असनको पनि केन्द्रमा छ घडीघर अर्थात् असनको ‘कोथुननी’। नेपाल भाषामा कव्थु बहाः भनेर चिनिने यो भवनको छतमुनि ११ वटा पसल छन्। त्यहीँ नै तीन परिवारको आश्रयस्थल पनि छ। कुल मिलाएर त्यहाँ १४ परिवार आश्रित छन्। तर, उनीहरूलाई पुस्तौँदेखि बस्दै आएको यो घरबाट निकालेर गुठी संस्थानले व्यावसायिक प्रयोजनको लागि भनेर निजी कम्पनीलाई भाडामा दिन लागेपछि ती १४ परिवार पछिल्लो पाँच वर्षयता आन्दोलित छन्।
यो भवन ८ आना ३ पैसा क्षेत्रफलमा बनेको छ। खासमा यो भवन असनको ऐतिहासिक एवं पुरातात्त्विक भवन हो। गुठी संस्थानले २०७४ भदौमा यो भवन भत्काएर व्यापारिक कम्प्लेक्स बनाउने भन्दै बज्रयोगिनी बहुउद्देश्यीय कम्पनीलाई २५ वर्षका लागि भाडामा दिने सम्झौता गरेको थियो। यस्तो सम्झौता गरेपछि त्यो भवनमा आश्रित परिवारले विरोध गर्दै आएका छन्।
उनीहरूले असन कोथुननी बचाऊ अभियान नै सञ्चालन गरेर आन्दोलन गरिरहेका छन्। सोही अभियानअन्तर्गत उनीहरूले मंगलबार बिहान काठमाडौँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र काठमाडौँ महानगरपालिकाका मेयर तथा उपमेयरलाई ध्यानाकर्षण–पत्र बुझाउनुका साथै अशोक वृक्ष बिहारमा अन्तरक्रियासमेत गरेका छन्।
५ वर्षदेखिको आन्दोलन
असनको यो घडीघर मल्लकालीन भवन हो। मल्लकालदेखि नै यो घर ‘व्यापारिक केन्द्र’का रूपमा विकास भएको थियो। यसको एक कोठामा अशोक वृक्ष बिहार पनि छ, जहाँ अमिताभ बुद्धको मूर्ति छ। यो मूर्तिलाई पुरातत्त्व विभागले पन्ध्रौँ शताब्दीमा बनेको भनेर पुष्टि गरेको छ।
अहिले त्यही घरमा आश्रित ‘बहालवाला’ १४ परिवारमध्ये एक परिवार सजीव बज्राचार्यको परिवार पनि हो। ६५ वर्षीय बज्राचार्यको धेरै पुस्ता त्यो घरमा आश्रित छ। यहाँ बसेबापत उनीहरूले गुठी संस्थानलाई बहाल तिर्नुपर्छ।
२०७० फागुनमा गुठी संस्थानले ती १४ परिवारसँगै सम्झौता गरेको थियो। जसमा बहाल तिरेसम्म उनीहरूका सन्तान त्यस घरमा बस्न पाउने उल्लेख गरिएको बज्राचार्य बताउँछन्। भवनमा कम लागतका मर्मत सम्भारका कामहरू बस्दै आएका परिवारले गर्नुपर्ने र बढी लागत लाग्ने खालका मर्मत गुठी संस्थान र बसिआएकाहरूको सहमतिमा गर्ने उल्लेख छ। साथै प्रत्येक पाँच वर्षमा उक्त सम्झौता पुनरावलोकन हुने व्यवस्था पनि छ।
तर सम्झौता नसकिँदै गुठी संस्थानले बज्रयोगिनी बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक, ‘गुण्डानाइके’का रूपमा चिनिने राजेन्द्र गोर्खालीसँग २५ वर्षको लागि भाडा सम्झौता गर्यो। २०७४ भदौ महिनामा भएको यो सम्झौताको विरोधमा यहाँ आश्रित परिवार आन्दोलित छन्।
“हामी बसिआएकाहरूलाई त्यो निर्णयबारे जानकारी नै थिएन,” बज्राचार्य भन्छन्, “हामीले पाँच वर्षको म्याद सकिन लागेपछि म्याद थपको निवेदन दिँदा मात्रै यसबारे थाहा पायौँ। अनि निर्णय खारेज गर्न माग गर्दै आन्दोलन शुरू गर्यौँ।”
गुठी संस्थानले उक्त भवन २०७२ सालको भूकम्पले बस्न नहुने गरी जीर्ण बनाएकाले ‘रेड स्टिकर’ पाएको उल्लेख गरेको थियो। तर, त्यस भवनमा बस्ने १४ परिवार अहिलेसम्म पनि त्यहीँ बस्दै आएका छन्। संस्थानसँग १४ परिवार आफैले त्यो भवन बनाउन अनुमति माग्दासमेत नदिएको बज्राचार्य बताउँछन्।
उनी भन्छन्, “थुप्रै ठाउँमा धायौँ, तर केही भएन। त्यही भएर जनप्रतिनिधिलाई गुहारेका हौँ।”
बज्राचार्यका अनुसार १८५२ फागुन ७ गते रणबहादुर शाहको पालामा यो घरबाट नेवारहरूलाई विस्थापित गरेर अधिग्रहण गरिएको थियो। त्यसलाई यसलाई ‘श्री ५ को वायु देउता गुठी’ बनाइएको थियो। राजपरिवारका कसैको मृत्यु भएमा ‘वायु शान्ति गर्ने’ भन्दै दसैँको बेला यो भवनबाट हनुमान ढोकामा पुजा लैजाने गरिएको थियो।

“त्यो गुठी सञ्चालन गर्न त्यतिबेला बस्दै आएका हाम्रा बाजेबराजुले वर्षको २५ रुपैयाँ अड्डा शूल्क तिर्नुपर्ने थियो,” उनी भन्छन्, “त्यही पैसाले उनीहरूले पूजा चलाउँदै आएका थिए। तर २०२१ सालमा तालुकदारहरू खारेज गरियो। २०३१ सालमा नापी आउँदा गुठी संस्थानको स्वामित्वमा गएपछि एउटै पुर्जा बनाइदिएको थियो। त्यो पुर्जामा बहाल तिर्दासम्म सन्तान दरसन्तानले भोगचलन गर्न पाउने उल्लेख गरेको थियो।”
२०३१ सालदेखि गुठीमा उनीहरूले बहाल तिर्दै आएका छन्। २०७० फागुनमा गरिएको सम्झौतामा उनीहरूले पसलको आकार हेरी ३ हजार देखि ५ हजारसम्म मासिक बहाल तिर्ने सम्झौता भएको थियो।
बज्राचार्यका अनुसार उक्त बिहार भएको घर राजगुठी अन्तर्गत पर्छ। तर २०६२ सालमा नक्कली लालपुर्जा बनाएर तालुकदारहरूले महानगरबाट नक्सा पास गरेपछि सोही वर्ष काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेको उनी बताउँछन्। त्यसको दुई वर्षपछि गरेको फैसलामा जिल्ला अदालतले त्यहाँ आश्रित परिवारहरूकै पक्षमा निर्णय सुनाएको थियो। तर उच्च अदालत र सर्वोच्चमा भने उनीहरूले मुद्दा हारे।
त्यसपछि गुठी संस्थानले उनीहरूलाई निकालेर सहकारीलाई भाडामा दिने प्रक्रिया अघि बढाएको हो। त्यसैको विरोधमा २०७६ साउन १९ गते असनको कोथुननी अर्थात् पाँच सय वर्ष पुरानो अशोक वृक्ष बिहार र मल्लकालीन व्यापार केन्द्र रहेको घडीघर संरक्षणका निम्ति सरकारलाई दबाब दिन १५ हजार भन्दा बढीको हस्ताक्षर संकलन गरिएको थियो।
सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरका अनुसार उक्त घडीघरबाट प्रचलित भवनको नाम अशोक वृक्ष बिहार हो। जुन शुरूमा बौद्ध धर्म मान्ने र सिकाउने थलोको रूपमा रहेको थियो। यो भवनमा रहेको अमिता बुद्धको मूर्ति र मूर्ति रहेको गर्भगृह अध्ययन गरेर पुरातत्त्व विभागले ५ सय वर्ष पुरानो भनेर प्रमाणित गरेको छ।
तुलाधरका अनुसार काठमाडौँमा शाहवंशले जित हासिल गरेपछि स्थानीय गुठियारहरूलाई हटाएर बिहारलाई सरकारको मातहत ल्याइएको थियो। अहिले यो भवन घर गुठी संस्थानको मातहत छ। गुठी संस्थानले पुरातात्त्विक संरचना जोगाउनुपर्नेमा विनाश गर्न खोजेको तुलाधर बताउँछन्।
“गुठी संस्थानलाई दिएको नै त्यहाँका संरचना जोगाउनको लागि हो नि, तर जे गर्न पनि मिल्छ भने झैँ गरी त्यो भवनलाई २५ वर्षका लागि भाडामा दिने भनेर टेन्डर निकाल्यो,” उनी भन्छन्, “व्यापारीको योजना नै उक्त बिहारलाई ढालेर नयाँ व्यापारिक भवन बनाउने छ, संस्थान त्यसमै लागेको छ।”
गुठी संस्थानले ठेक्का दिएर भवन मास्न खोजेपछि स्थानीयहरू आन्दोलित बनेको उनले बताए। तुलाधर उक्त भवन स्थानीय सरोकारवाललाई नै जिम्मा दिनुपर्ने बताउँछन्। भन्छन्, “स्थानीयले पुरातात्त्विक हिसाबले संरक्षण गर्छाैँ भनेर वचन दिँदादिँदै पनि गुठी संस्थानले त्यसलाई नटेरी गुठी संस्थानको स्वामित्वमा हो, जे पनि गर्न सक्छौँ भनेपछि स्थानीयसामु आन्दोलनको विकल्प भएन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
