भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना, कञ्चनपुरमा खोप अभियान शुरू

नयाँवर्ष नजिकिँदै गर्दा कञ्चनपुरमा भारतबाट फर्किनेको संख्या बढ्न थालेको छ। भारतमा कोरोना संक्रमण बढेकाले नाकामा परीक्षण र खोप लगाउने अभियान शुरू भएको छ।

दोधारा चाँदनी– भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किने नेपालीमा दैनिक संक्रमण पुष्टि हुन थालेको छ।

“मंगलबार र बुधबार भारतबाट आएका चार जनामा संक्रमण देखिएको छ,” स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, “भारतमा कोरोना संक्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा देखिन थालेको छ।”

संक्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले शुक्रबारदेखि जिल्लामा कोभिड–१९ विरुद्ध खोपको तेस्रो र चौथो दिने अभियान शुरू गर्न लागेको उनले बताए। “अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ,” पन्तले भने, “यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ।

त्यसैले खोप अभियान शुरू गर्दैछौँ।” कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ। स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए।

“केहीदिनदेखि नाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “आजदेखि सबै पालिकामा बुस्टरडोज लगाउने अभियान शुरू हुँदैछ।” नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ।