दक्षिण कोरियाको भागदौडमा मारिनेको संख्या १५१, राष्ट्रिय शोकको घोषणा

अन्य समयमा पनि व्यस्त रहने इटेवन हलोवीनका समयमा सबैभन्दा व्यस्त हुन्छ। तर, यसपालि करिब एक लाख मानिस जम्मा भएका थिए।

तस्वीर: बीबीसी

दक्षिण कोरियाको राजधानी सोलमा हलोवीन मनाउन जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा १९ जना विदेशी नागरिकसहित १५१ जनाको मृत्यु भएको छ। भागदौडमा ८२ जना घाइते भएका छन्। मृत्यु हुनेमा अधिकांश किशोरकिशोरी र विदेशीमा चीन, इरान, उज्वेकिस्तान र नर्वेका नागरिक भएको समाचार संस्था सीएनबीसीले जनाएको छ।

अधिकांशको एक रात्रीक्लबनजिकै मृत्यु भएको प्रहरीले जनाएको छ। साघुँरो सडकमा भीडले च्याँपिएर धेरैको मृत्यु भएको प्रहरीको भनाइ छ। घटनापछि करिब दुई हजार मानिस हराइरहेको उजुरी प्रहरीकहाँ पुगेकाे छ।

सोलमा रात्रीकालीन मनोरञ्जनका लागि चर्चित स्थान इटेवनका साँघुरो सडकमा हलोवीन मनाउन करिब एक लाख मानिस जम्मा भएका थिए। अन्य समयमा व्यस्त रहने इटेवन हलोवीनका समयमा सबैभन्दा व्यस्त हुने गरेको छ। तर यसपालिको हलोवीनमा पहिलेको तुलनामा १० गुणा बढी मानिस भेला भएका थिए।

कोभिड-१९ को महामारीपछि अधिकांश समय कडा मापदण्ड अपनाइएको दक्षिण कोरियामा तीनवर्षपछि पहिलोपटक मास्कबिना हलोवीन मनाउन दिइएको थियो। दूर्भाग्यवश धेरै मानिसले ज्यान गुमाए।

यो घटना दक्षिण कोरियामा सन् २०१४ मा डुंगा डुबेर ३०० जनाको मृत्युभएपछिकै सबैभन्दा ठूलो दुर्घटना हो। भागदौडको कारण खुलेको छैन। भाग्ने क्रममा धेरै मानिसहरू एकअर्कामाथि लडेका थिए।

घटनापछि दक्षिण कोरियाली राष्ट्रपति यून सुक येलले आइतबार राष्ट्रिय शोक घोषणा गरेका छन्। हुनै नहुने घटना घटेको भन्दै उनले दुःख व्यक्त गरेका छन्। विश्वका अधिकांश राष्ट्रप्रमुख र नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन्।