‘विकास’ले मासिँदै सभ्यता, छठमा जलाशयकै चिन्ता

छठ फैलिए पनि हजारौँ वर्षदेखिको मौलिकता र परम्परा खुम्चिँदै गएको छ। छठ मनाउनुअघि जलाशयहरूको सजावट गरिन्छ तर छठ सम्पन्न भएपछि धजापताकालगायत अन्य बजारिया सामानहरू त्यसै छाडिन्छन् या जलाशयमै खसालिन्छन्।

जलाशय ‘छठ’ पर्वको अभिन्न र अनिवार्य पक्ष हो। आधुनिक सहरी जीवनमा नदी, तलाउ, पोखरी र इनार भौतिक रूपमा सहजै उपलब्ध नहुने हुनाले भाँडाका कठौतामा पानी राखेर वा घर आँगनमै खनेर तत्काल पोखरीको एउटा प्रतीक बनाइन्छ। कुनै न कुनै रूपमा जलसँग यो पर्व अभिन्न र अनिवार्य रूपमा जोडिएको छ। कृषि संस्कृतिमा आधारित छ यो त्यौहार। उसो त तराई मधेशका धेरैजसो त्यौहार कृषि संस्कृतिमै आधारित छन्। कृषिका लागि जल अभिन्न र अनिवार्य पक्ष हो। निर्मल र अविरल बग्ने जल। नदी, तलाउ, पोखरी वा कुवाको किनारमा पूजा गर्नुको अर्थ त्यसप्रति कृतज्ञताको भाव हो। 

जलाशयलाई हामीले सफा राख्नु पर्छ भन्ने दायित्व भाव पनि छठको अर्को पक्ष हो। जल संरक्षित रहे मात्र कृषि, मानव जीवन र चराचर प्रकृतिलगायतको सभ्यताको संरक्षण हुनसक्छ भन्ने सन्देश यस पर्वमा अन्तर्निहित रहेको बुझिन्छ। प्रकृति संरक्षित रहे मात्र मानवीय सभ्यता संरक्षित हुनसक्छ भन्ने अर्थबोध यसमा गाँसिएकै छ। छठको वातावरणीय पक्ष हो त्यो। र, जलाशयहरू संरक्षण गर्ने काम व्यक्ति एक्लैले सम्भव नहुने हुँदा सामूहिकताको पर्वका रूपमा समेत यसलाई लिइन्छ। सामूहिकताबिना जलाशय संरक्षण पनि हुँदैन। अतः वातावरण संरक्षणमा सामूहिकताको सन्देश दिने पर्व पनि हो यो। 

समाजमा ‘लोक वेद’भन्ने शब्द प्रचलित छ। वेदको अर्थ वेदबाट निश्चित परम्परा र मान्यताहरूको अनुसरण गर्नु हो। लोकको अर्थ सामाजिक जीवनबाटै बनेका परम्परा, मान्यता र आस्थाहरू हुन्। छठपर्व चाहिँ वैदिकभन्दा पनि लोकाचारमा आधारित पर्व हो। हामी छठका लोकगीतहरू गाउँछौँ। त्यसमा आआफ्नो भाषा विशेषअनुसार ‘छठी मैयाँ’ भन्छौँ, ‘छठ’भन्छौँ, ‘छइठ’ पनि भन्छौँ। तर सबैभन्दा प्रचलित शब्द छठ हो। एकातिर ‘हे छठीमैयाँ’ भनिन्छ भने अर्कोतिर ‘हे दिनानाथ, हे सूर्यदेव’पनि भनिरहेको सुनिन्छ। एउटै आराध्यलाई नारीको र पुरुष रूप पनि मान्ने विचित्रको परम्परा देखिन्छ छठमा।  

प्रकृतिको श्रेष्ठतालाई मानवीकरण गरेर दुई फरक लैङ्गिक अस्तित्वलाई मान्ने कुराले यो संस्कृतिको फराकिलोपना झल्काउँछ। सृष्टि सञ्चालनका लागि नरनारी अर्थात् देवी र दिनानाथ दुवैको उत्तिकै महत्त्व छ भन्ने सन्देश पनि दिन्छ यो पर्वले। नारी र पुरुष दुवैको तादात्म्यप्रति समर्पणको भाव यो पर्वमा लुकेको छ। त्यसैले यो पर्व प्रकृतिको काखमा या कुनै जलाशयको किनारमा गरिने प्रचलन भएको हो। पहिले छठमा कर्मकाण्ड हुँदैनथ्यो, कुनै पुरोहितको प्रयोग हुँदैनथ्यो। यस पर्वमा गाउँघरमै उत्पादन भएका सामग्रीहरू राखिन्थ्यो। तर प्रकृतिलाई जोड्ने र आडम्बर छाड्ने सन्देश दिने पर्वलाई अचेल बजारले कब्जा गर्न थालेको छ। पुरोहितहरू लगाएर छठलाई कर्मकाण्डीसमेत बनाइन थालिएको छ। कमाउधन्दा बढेको छ। 

बिहानीपख जलाशयमा परालको ‘बिडा’ बनाएर त्यसमा बल्ने र बग्ने दियोबाट जलबाट जीवन, गतिशीलता र जस्तो पवित्रताको कल्पना गरेको हो, त्यही भाव अचेलका झिलिमिली बत्तीहरूले दिन सक्दैनन्। अत्यधिक झिलिमिली बत्ती, ठूलाठूला पण्डालहरू, सेलिब्रिटीहरूका भड्किला प्रदर्शन र त्यसको मिसिएको राजनीतिले परम्परागत छठको पवित्रता र चोखोपनाको भाव बिस्तारै खुम्चिँदै र मासिँदै गएको छ। 

हजारौँ वर्षदेखि समाज धेरैजसो नदीको किनाराहरूमा उभिएका छन्। जहाँ कुनै जाति, वर्ग वा लिङ्गको भेद हुँदैन, जहाँ कुनै मानिसले आफूलाई विपन्न र निरीह नठानोस् भन्ने भाव हुन्छ। र, छठ पूजा सम्पन्न गर्न एकले अर्काको अगाडि हात थाप्नै पर्छ। अर्थात् छठका लागि एक अर्काको पारस्परिकता अनिवार्य चाहिन्छ तर अचेल यसमा वैभवहरू आउन थाले। पहिला बाँसको टोकरीले काम चल्थ्यो, अचेल पितलको टोकरी बोक्न थालिएको छ। पहिले गाउँको सामान्य मजदुरहरूले ढकी बनाएर तथा कुमालेहरूले माटोको सामान बनाएर आयआर्जन गर्थे। साना किसानहरूले उत्पादन गरेको सामग्री यो पर्वमा बिक्री हुन्थे। तर अब कर्पोरेट छिरेर गाउँमा समेत आफ्नो मार्केटिङ गरिरहेको छ। छठजस्तो पवित्र पर्व बजारले नियन्त्रणमा लिन थालेको छ। यो चिन्ताको विषय हो। 

गाउँगाउँमा स्थानीय सरकारहरू आएपछि पोखरीहरूको ‘सौन्दर्यीकरण’को लहर नै चल्यो। २०५४ सालको स्थानीय चुनावपछि धेरै इनारहरूको पुनः निर्माण गरिएका थिए। तर त्यसपछि इनारहरूलाई संरक्षण गर्ने काम गरिएन। स्वाभाविक प्राकृतिक प्रणालीमा चलेका पोखरीहरूमा कंक्रिट हालियो। प्रदेश सरकारले समेत अचेल त्यही गरिरहेका छन्, जबकि पारम्परिक पोखरीहरूको आफ्नै ‘इको सिस्टम’ हुन्थ्यो, त्यसको वाष्पीकरणका आफ्नै प्रक्रियाहरू थिए। त्यसले आफूभित्र मौलिक जैविक विविधता आत्मसात् गरेको हुन्थ्यो। त्यसले तराईको उष्ण वातावरणमा एक प्रकारले सन्तुलन कायम गर्थ्यो। तर व्यावसायिक माछा खेती या पोखरी सौन्दर्यीकरणको नाममा कंक्रिट गर्नाले तराई मधेशका पोखरीहरूले ‘इकोसिस्टम’ गुमाउँदै छन्।

समाज अन्धदौडमा छ, उपभोक्तावादी मानसिकता हाबी भइरहेको छ। सौन्दर्यका परिभाषा फेरिएका छन्। पहिले हाम्रा समाजमा पोखरीको बीचमा जाँठ राखिन्थ्यो, पोखरीको विवाह गरिन्थ्यो। मान्छेहरू कुनै कीर्ति राख्नकै लागि पोखरी र इनार खन्न लगाउँथे। पोखरीहरू कुनै गोलाकार हुन्थे, कुनै ‘चौकोर’ हुन्थ्यो, कुनै षट्कोण आकारका हुन्थे। पोखरीका डिलहरू निर्माणको आफ्नै परम्परागत तरिका हुन्थे। पोखरीका अलग नामहरू हुन्थे। यी मान्यताहरूले गर्दा सामूहिकताको एउटा भाव थियो। हाम्रा पूर्वजले बनाएका त्यस्ता सार्वजनिक पोखरीहरू अचेल भूमाफियाहरूले अतिक्रमण गरिरहेका छन्। पोखरी पुरेर, माटो भरेर प्लटिङ गर्ने काम पो भइरहेको छ। अतिक्रमणकै कारण छठकै बेला पनि छठ–घाटहरूमा द्वन्द्व निम्तिने गरेको छ।

सौन्दर्यीकरणका नाममा पोखरी, नाला, नहर र सडक ढलानहरू बनाउने भन्दै उपभोक्ता समिति बनाएर त्यसमा लाभ लिने गरिएको छ। ढलान गर्नुपर्ने बाटोहरू सकिइसकेपछि सबैको नजर पोखरीमा नै पर्ने भयो। स्थानीय सरकार होस् वा प्रदेश सरकार, सबैले पोखरी सौन्दर्यीकरणका नाममा विभिन्न योजना बनाउने गरेका छन्। गढीमाईको प्रसिद्ध पोखरी होस् या वीरगन्जको घडिअर्वाको सूर्य मन्दिर, त्यसको चारैतिर डिल बनाइएको छ। यसरी पोखरीको चारैतिर ‘कंक्रिटाइज’ गरिएका छन्। हुँदाहुँदा पोखरीको तलको सतह पनि स्विमिङ पुलजस्तो पक्की बनाउने काम भएको छ, जसले गर्दा पोखरीको स्वाभाविक पानी आर्जन गर्ने प्राकृतिक प्रक्रिया रोकिएको छ। वर्षात्मा पोखरीको अधिक पानी निस्केर जाने निकास हुन्थ्यो, पोखरीको आफ्नै प्राकृतिक चक्र हुन्थ्यो, निर्मलीकरण हुन्थ्यो, तर अचेल त्यस्ता प्रक्रिया रोकिन थाले। यसमा जबसम्म नागरिक समाज र मिडियाले सशक्त हस्तक्षेप गर्दैन, तबसम्म यो जारी रहन्छ। 

अहिलेको यो बिकाउ राजनीतिले या चुनावी राजनीतिको अर्थ जुन राजनीति गर्नेहरूले कसरी छोटो बाटोबाट धन कमाउने या धन सञ्चय गर्ने भनेर बुझेका छन्। र, पोखरी तालतलैयाको सौन्दर्यीकरणका नाममा पनि स्थानीय राजनीतिज्ञहरूले धन कमाउने र आफ्ना कार्यकर्ता पाल्ने गरेका छन्। कतिसम्म भने जनकपुरजस्तो ठाउँमा पोखरी सौन्दर्यीकरणको नाउँमा हेर्दाहेर्दै, चिन्हित गरिएका ऐतिहासिक महत्त्व र सांस्कृतिक महत्त्वका पोखेरीहरू अतिक्रमण भइसके। 

मधेशको जीवनमा नदीहरूसँग जोडिएका प्रशस्त लोक आहानहरू छन्, जुनसुकै नदीलाई हामी मधेशीहरू गंगामैयाँ भन्छौँ। माई (आमा) भनेर हामीले नदीहरूलाई हेर्छौं। तर अचेल हामीले नदी र पोखरीहरूलाई ‘प्रडक्ट’का रूपमा हेर्न थाल्यौँ। ‘प्रडक्ट’को रूपमा हेर्न थालेपछि त्यसमा बजारको मनोविज्ञान हाबी हुन्छ। अचेल आएर पोखरी हुँदैमा त्यसमा व्यावसायिक माछा पालन हुनैपर्ने र औषधी छर्किनु पर्ने मनोविज्ञान हाबी भयो। त्यसो गर्न थालेपछि पोखरीका अन्य जीवहरू नष्ट हुन थाले, पोखरी सुक्न थाले। 

तराईमा पर्यावरणीय संकट बढ्नुमा पोखरीहरूको संकुचन, नदीमाथिको उपेक्षा र इनारहरू मासिनु पनि एउटा कारण हो। माछाका लागि बनाइने पोखरीले आर्द्रता ल्याएर त्यसमा तापक्रम बढाउने काम गर्न थाल्यो जबकि पारम्परिक पोखरीहरूले वातावरणलाई चिसो राख्न मद्दत गर्थ्यो। तर यो फरकपना मानिसहरूले बुझिरहेका छैनन्। उनीहरूलाई यो वैज्ञानिक तथ्य बुझाइएको छैन। आजका बलिया स्थानीय सरकारले स्थानीय पाठ्यक्रमहरूमा आफ्ना पोखरी, इनार र नदी र समाज तथा जनजीवकाको सम्बन्धबारे उल्लेख गरेर जलाशयहरूसँग जोडिएका परम्परागत ज्ञान फैलाउन भने सम्भव छ। 

पछिल्ला वर्षहरूमा छठ पर्व समतल मैदानबाट बिस्तारै माथितिरसम्म उक्लँदै र फैलँदै गएको छ। नेपालको सन्दर्भमा मधेशदेखि पहाड हुँदै हिमालसम्म फैलँदै गएको छ छठ। तर यस पर्वभित्र रहेको ‘अर्ग्यानिक’ ज्ञानहरूका ठाउँमा आडम्बर र देखावटीपन फैलिँदै गएको देखिन्छ। छठ पर्वमा पहिले मूर्ति बनाइँदैनथ्यो, केबल प्रकृतिप्रति अनुग्रहको भाव हुन्थ्यो। अचेल भने कतैकतै मूर्ति बनाउन थालिएको छ, झिलिमिली बत्ती पनि बाल्न थालिएको छ। दियोको ठाउँमा अरू नै चिज आएका छन्। 

यो प्रकृतिपुजक सभ्यता पहाडतिर उक्लन थाले पनि प्रकृति र जलाधारहरूसँग जोडिएको यसको सन्देश र मर्म भने उक्लन सकेको छैन। छठको नाममा उपभोक्तावादी संस्कृति र आडम्बर प्रभावी हुन थालेको छ, मौलिकता हराउँदै गएको छ। 

छठ फैलिए पनि हजारौँ वर्षदेखिको मौलिकता र परम्परा खुम्चिँदै गएको छ। छठ मनाउनुअघि जलाशयहरूको चमकधमकपूर्ण सजावट गरिन्छ तर छठ सम्पन्न भएपछि धजापताकालगायत अन्य बजारिया सामानहरू त्यसै छाडिन्छन् या जलाशयमै खन्याइन्छन्। त्यसले गर्दा जलाशय झनै प्रदूषित हुन थाले। छठका नाममा केबल देखासिकी गर्ने र बजारको कठपुतली बन्ने कुराले प्रकृति र जलाशय संरक्षणको सन्देश बोकेको महान् पर्व छठको यसरी अनादार भइरहेको छ।