लयमा फर्किंदै पर्यटन क्षेत्र, व्यवसायी भन्छन्– सरकारले प्रवर्द्धनात्मक कार्यक्रम ल्याउनुपर्‍यो

तथ्यांकले पर्यटन क्षेत्र पुरानै लयमा फर्किंदै गरेको देखाए पनि पर्यटन प्रवर्द्धनका लागि सरकारी स्तरबाट खासै पहल हुन नसकेको व्यवसायीको गुनासो छ।

काठमाडौँ– नेपालको पर्यटन क्षेत्र कोभिडअघिकै अवस्थामा फर्किने लयमा देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना  पर्यटक हवाईमार्ग हुँदै नेपाल घुम्न आएका छन्। एक महिनामा भित्रिएको यो संख्या कोरोना महामारी शुरू भएयताकै धेरै हो।

सन् २०१९ मा एक लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए। नेपालमा त्यो वर्ष कोरोना महामारी शुरू भइसकेको थिएन। सन् २०१९ को तुलनामा ७८ प्रतिशतले पर्यटक आगमनमा पुनरुत्थान (रिभाइभल) भएको पर्यटन बोर्डले जनाएको छ।

सन् २०२० मार्चमा ४२ हजार ७७६, त्यसपछिको २०२१ को मार्चमा १५ हजार २५४ र २०२२ मा ४२ हजार ६ पर्यटक नेपाल घुम्न आएका थिए। सन् २०२३ को पछिल्लो तीन महिनामा मात्र दुई लाख २७ हजार ७५५ जना पर्यटक आएका छन्। जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए। फेब्रुअरीमा यो संख्या बढेर ७३ हजार २५५ पुगेको थियो भने मार्चमा झन्डै एक लाखको हाराहारीमा पर्यटक नेपाल घुम्न आएका हुन्। कोरोनाका कारण २०१९ पछिका तीन वर्ष नेपाल आउने पर्यटकको संख्या न्यून रहेको थियो। 

यस वर्षको मार्चमा नेपाल आउनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेको बोर्डले जनाएको छ। त्यसैगरी, दोस्रोमा अमेरिकी पर्यटक छन्।मार्च, अप्रिल, मे पर्वतारोहण र पदयात्राका लागि पनि उपयुक्त समय भएकाले पर्यटन आवागमन अझै बढ्ने बोर्डको आकलन छ। 

कोरोना महामारीका कारण प्रतिबन्धन लगाइँदा  सन् २०२० र २०२१ मा पर्यटन आवागमन ठप्पप्रायः थियो। सन् २०२२ मा विभिन्न मुलुकबाट ६ लाख १४ हजार १४८ पर्यटक नेपाल भ्रमणमा आए।

पछिल्लो महिनाको तथ्यांकले पर्यटन क्षेत्र कोभिडअघिकै लयमा फर्किन थालेजस्तै देखिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्। मार्च, अप्रिल पर्यटन आवागमनको मुख्य सिजन भएकाले पनि संख्या बढेको लामिछानेको भनाइ छ।  “मार्च, अप्रिल, अक्टोबर र नोभेम्बर पर्यटक आवागमनको मुख्य सिजन हो, त्यही कारण पनि बढ्यो, कोरोना महामारीअघिकै अवस्थामा बिस्तारै फर्किँदै छ।”

बर्सेनि डेढ लाखभन्दा बढी पर्यटक पर्वतारोहण र पदयात्रामा जाने गर्छन्। वसन्त ऋतुको पर्वतारोहण सिजन अहिले चलिरहेको छ।

पर्वतारोहण र पदयात्राका लागि नेपाल आउने पर्यटकको संख्या बढ्दा यसको सकारात्मक प्रभाव समग्र पर्यटन क्षेत्रमा देखिएको ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालले बताए। मुख्य पर्यटकीय सिजन शुरू भएकोले पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकले अग्रिम बुकिङ गरिरहेका छन्। 

लामो समयपछि पर्यटन क्षेत्र पुनरुत्थान भइरहेको दाहाल बताउँछन्। “ बर्लिन मार्ट लगायतका ठूला कार्यक्रममा नेपालको प्रवर्द्धन भइरहेको छ, यसले पनि सकारात्मक सन्देश दिएको हुनसक्छ,” दाहालले भने।

आम्दानी पनि बढ्दै
पर्यटक आवागमनमा सुधारसँगै यसबाट हुने आम्दानी पनि बढ्दै गइरहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिना (साउन–माघ)सम्म पर्यटन क्षेत्रबाट ३२ अर्ब २४ करोड आम्दानी भएको छ।  यो गर्त वर्षको तुलनामा १०७. ४ प्रतिशतले बढी हो। गत वर्षको सात महिनामा मुलुकको भ्रमण आय १५ अर्ब ५४ करोड रहेको थियो। 

'सरकारले प्रवर्द्धन कार्यक्रम ल्याउनुपर्‍यो'
तथ्यांकले पर्यटन क्षेत्र पुरानै लयमा फर्किँदै गरेको देखाए पनि पर्यटन प्रवर्द्धनका लागि सरकारी स्तरबाट खासै पहल हुन नसकेको व्यवसायीको गुनासो छ। होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह राजनीतिक अस्थिरताका बीच पर्यटन प्रवर्द्धनमा सरकारको ध्यान पुग्न नसकेको बताउँछन्। 

विशेष गरी चिनियाँ पर्यटकको संख्या बढाउन सकिने भए पनि त्यसका लागि सरकाले प्रवर्द्धनमा जोड दिनुपर्ने उनको भनाइ छ। “सरकारले नयाँ कार्यक्रमहरू खासै केही दिइरहेको छैन। हामीलाई त योजना चाहियो,” उनी भन्छन्, “कति पर्यटक कहाँबाट ल्याउने भन्नेबारे सरकारी नीति तथा कार्यक्रम बन्न सकेको छैन।”

चीनले गत मार्च १५ देखि आफ्ना नागरिकलाई विदेश घुम्न खुला गरेको छ। चीनले घुम्नै पर्ने देशको सूचीमा नेपाललाई पनि समावेश गर्नुले पनि पर्यटकको संख्या बढाउन सकिनेमा व्यवसायी आशावादी छन्। आवश्यक प्रचारप्रसार र नेपालसँगको हवाई उडान संख्या पनि कम हुँदा अपेक्षित रूपमा पर्यटक आवागमन बढ्न नसकेको शाहको ठम्याइ छ।

“कोभिडअघि चीनबाट पहिले हप्ताको होइन, दिनको ६ वडा उडान हुन्थ्यो,  त्यहाँबाट धेरै पर्यटक ल्याउन सकिन्छ,” उनले भने, उनीहरूलाई युरोप–अमेरिका जान पनि मुस्किल छ, नेपाल आउन पाउँछन्, तर धेरै ल्याउन सकिरहेका छैनौँ।”

कोरोनाअघि पर्यटकीय सिजनमा होटलहरू भरिभराउ हुने भए पनि हाल देशभरका होटलमा २५  देखि ३० प्रतिशत ‘अकुपेन्सी’ रहेको शाहको भनाइ छ।

कोरोनापछिको पुनरुत्थानका लागि विश्वका अधिकांश मुलुकले विभिन्न 'प्याकेज' घोषणा गरे पनि नेपाल सरकारबाट स्पष्ट खाका नआएको व्यवसायीको गुनासो छ।

कोभिड महामारीले थलिएको पर्यटन पुनरुत्थानका लागि गत साउनमा सरकारले सन् २०२३ देखि २०३३ सम्मको दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाउने घोषणा गरेको छ। यस्तै, पर्यटन प्रवर्द्धनका लागि ७४ बुँदे कार्ययोजना सार्वजनिक गरेको थियो। कार्यक्रम घोषणा गर्ने तर सरकार परिवर्तनसँगै ती कार्यक्रम प्राथमिकतामा नपर्ने गरेको शाहको गुनासो छ।