मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले

मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका तर्फबाट सरकारमा सहभागी भएका एक राज्यमन्त्रीसहित पाँच मन्त्रीले राजीनामा दिएका छन्।

काठमाडौँ– केन्द्रको सत्ता समीकरणमा फेरबदल आएसँगै मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। 

नेकपा एमालेका तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मंगलबार पदबाट सामूहिक रूपमा राजीनामा दिएका हुन्। मधेश प्रदेशमा एमालेका एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री थिए।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, प्रदेशसभा मामिला तथा कानूनमन्त्री राजकुमार लेखी, गृह तथा सञ्चारमन्त्री शत्रुधन सिंह कोइरी, महिला बालबालिका युवा तथा खेलकुदमन्त्री मो. जैद आलम र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले पदबाट राजीनामा दिए। उनीहरूले मुख्यमन्त्री सरोजकुमार यावदसमक्ष राजीनामा दिएका हुन्।

मुख्यमन्त्री यादवसँगै एमालेका तर्फबाट भौतिक पूर्वाधारमन्त्री यादवले गत पुस २९ गतेमा शपथ लिएका थिए भने अन्य मन्त्रीहरू माघ २० गते सरकारमा सहभागी भएका थिए। एमाले मधेशमा २३ सांसदसहित सबैभन्दा ठूलो दल थियो। सरकारबाट बाहिरिएसँगै अब एमाले प्रतिपक्षी बनेको छ।