मनसुन सक्रिय भएको करिब दुई महिनासम्म मधेश प्रदेश सुक्खा छ। मधेशमा छिटपुट मात्रै वर्षा हुँदा साउन दोस्रो हप्ता बल्लतल्ल आधा रोपाइँ भएको छ। गत वर्ष यही समयमा ९२ प्रतिशत रोपाइँ सकिइसकेको थियो।
काठमाडौँ— वीगन्जका नवलकिशोर झाले हरेक वर्ष असारको शुरूआतमै धान रोपिसक्थे। यो वर्ष भने असारमा रोपाइँ गर्न सकेनन्। लामो समय वर्षा नभएपछि बीउ सुक्ने डरले साउनमा बोरिङबाट पानी तानेर धान रोपे।
तर वर्षात् नहुँदा रोपेको बीउ खेतमै सुक्यो। अब पानी परे पनि धान नफल्ने नवलकिशोर बताउँछन्। उनी भन्छन्, “यत्रो दुःख गरेर बीउ राखियो। जसोतसो खर्च जुटाएर बोरिङको सहयोगमा धान रोपियो। पानी नपर्दा सबै सुक्यो।”
उनका तीन छोराछोरीसहित पाँच जनाको परिवार छ। परिवारको जीविका खोतीपातीमै निर्भर छ। खेतमा मौसमअनुसार धान, तरकारी र विभिन्न किसिमका जडिबुटी लगाउँछन्। रोपाइँ नभएपछि यो वर्षको खर्च जुटाउन अहिलेदेखि नै चिन्ता शुरू भएको उनको भनाइ छ।
अहिले बोरिङबाट पनि पानी आउन मुस्किल भएको उनी बताउँछन्। “सतह घटेकाले पहिलेजस्तो पानी आउँदैन। सधैँ बोरिङबाट पानी निकाल्न पनि महँगो पर्छ। डिजेलबाट २०० रुपैयाँ घण्टा पर्छ, खर्चै उठ्दैन,” उनी भन्छन्।
सिरहाको गोलबजारका अर्जुन थपलिया पनि करिब पाँच बिघा जमिनमा धान लगाउँछन्। यस वर्ष भने धान रोप्न पाएका छैनन्। “खेत बाँझै छ। असारपछि साउन पनि बित्न लाग्यो, तर पानी परेन। बेलाबेला परे पनि अत्तर छरेजस्तो मात्रै भइरहेको छ। राखेको बीउ जलेर गयो,” उनी भन्छन्।
उनी आफैले उत्पादन गरेको धानले वर्षभर खान पुग्थ्यो। तर अब चामल पनि किन्नु पर्ने भएको उनी बताउँछन्।
मनसुन सक्रिय भएको करिब दुई महिनासम्म मधेश प्रदेश सुक्खा छ। मधेशमा छिटपुट मात्रै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको अभिलेख छ। खडेरीका कारण मधेशमा साउनको दोस्रो हप्तासम्म बल्ल आधा रोपाइँ भएको छ।
कृषि विभागको तथ्यांकअनुसार साउन ११ गतेसम्म मधेशमा बल्ल ५० प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा ९२ प्रतिशत रोपाइँ सकिइसकेको थियो। धान रोपाइँ हुने १३ लाख ७८ हजार ९६६ हेक्टरमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल मधेश प्रदेशमा छ।
जम्मा एक लाख ९३ हजार ११६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ। मधेशबाहेक अन्यत्र भने रोपाइँ करिब सकिने अवस्थामा छ। कोशी प्रदेशमा ८० प्रतिशत, सुदूरपश्चिममा सबैभन्दा धेरै ९८, लुम्बिनीमा ९२, कर्णालीमा ९१ र गण्डकीमा ८४ प्रतिशत रोपाइँ भएको छ।
वर्षा नहुँदा खेती मात्रै होइन, खानेपानीका मुहान पनि सुकेका छन्। “खेती भएन एउटा चिन्ता छ। त्यसमाथि खानेपानी पनि सुक्यो। मुहान नै सकियो। मधेशमा पानीको अभाव भएमा अनिकाल लाग्ने अवस्था छ। अब रेमिट्यान्सले भारतबाट चामल किनेर ल्याउने, खाने अवस्था देखियो,” गोलबजारका अर्जुन भन्छन्।
मधेशका आठै जिल्लामा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेको छैन। बोरिङलगायत वैकल्पिक उपायबाट रोपाइँ गरिएका खेतमा पनि धाँजा फाटेका छन्। रोपेका धानका बीउ सुकेर पहेँलो भएको छ।
सिँचाइका लागि कमलालगायतका विभिन्न आयोजना छन्। ती आयोजनाबाट पर्याप्त रोपाइँ हुँदैन।
कृषिमा कस्तो असर पर्छ?
कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईं मधेशको खडेरीले कुल गार्हस्थ उत्पादनमै असर पुर्याउने बताउँछन्। मधेशमा उत्पादन हुनेमध्ये धान महत्त्वपूर्ण बाली हो। धानको कुल उत्पादनमध्ये करिब २५ प्रतिशत मधेशमा उत्पादन हुन्छ।
चौलागाईंका अनुसार धानको उत्पादकत्व पनि मधेशमा राम्रो छ। यहाँको उत्पादनमा प्रभाव पर्ने बित्तिकै सम्पूर्ण कुल गार्हस्थ उत्पादनमा असर पार्छ। “धानको मात्रै पनि करिब सात प्रतिशत जति कुल गार्हस्थ उत्पादनमा योगदान छ। त्यसमा सिधै असर पार्छ,” उनी भन्छन्।
मधेश प्रदेश सरकारले असार २६ गते मधेशका आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। संघीय सरकारले पनि साउन ७ गते मधेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्यो। मधेशमा यो वर्ष ‘अनावृष्टिका कारण जमिनमा पानीको कमीले खानेपानी तथा सिँचाइ प्रणालीमा समेत प्रभाव परेको’ सरकारको विश्लेषण छ।
“नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) बमोजिम नेपाल राजपत्रमा यो सूचना प्रकाशित भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोले यो सूचना प्रकाशन गरिएको छ,” राजपत्रममा उल्लेख छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेशमा पानीको अध्ययनका लागि अध्ययन टोली पठाउने निर्णयसमेत गरेको छ।
मधेश संकटग्रस्त क्षेत्र घोषणा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टरबाट मधेशका विभिन्न जिल्लाको अवलोकनसमेत गरेका थिए। त्यसलगत्तै तराइमा ५०० वटा डिप बोरिङ राखेर किसानलाई सिँचाइको व्यवस्था मिलाउने ओलीले घोषणा गरेका थिए। यस्तै, सिँचाइका लागि किसानलाई प्रतियुनिट ३ रुपैयाँमा विद्युत् उपलब्ध गराउने पनि सरकारको घोषणा छ।
तर डिप बोरिङ गाडेर मात्रै समस्याको दीर्घकालीन समाधान नहुने विज्ञहरू बताउँछन्। “पानी रिचार्ज नहुने अनि तानिरहने गर्दा खानेपानी नै सुक्ने अवस्था आउँछ। लामो समयमा जाने हो भने हाम्रो अध्ययनमा सतह सिँचाइमै जानुपर्छ,” कृषि अर्थविज्ञ चौलागाईं भन्छन्, “थुप्रै सिँचाइ आयोजना छन्, तिनलाई सुचारु गर्नुपर्छ।”
कृषिविज्ञ कृष्णप्रसाद पौडेल डिप बोरिङ गरेर सरकारले मधेशलाई मरुभूमीकरण गर्न खोजेको बताउँछन्। “सरकारले मधेशमा डिप बोरिङ गरेर तत्कालको समस्या समाधान गर्ने भनेको छ, यो झन् घातक कुरा हो। किनकि भूमिगत पानी नै सुकेको छ। यसले कसरी समस्याको समाधान हुन्छ?” उनको प्रश्न छ।
पौडेलका अनुसार मधेशमा पानी अभाव हुनुको मुख्य कारण चुरे दोहन हो। चुरेमा भइरेहेको वन फडानी, गिटी बालुवा उत्खनन्, खानी दोहनले पानीका स्रोत सुक्दै गएका छन्। उनले भने, “मधेशमा पानीको संकट आजको होइन। जमिनमुनिको पानी बिगारेको अहिलेको विकासे सोचले चुरे दोहन गरेर हो।”
चुरे दोहन रोक्न र मधेशमा पानीको समस्या समाधान गर्न माग गर्दै अघिल्लो वर्ष मधेशबाट किसानहरू काठमाडौँ आएका थिए। उनीहरूले माइतिघर मण्डलमा धर्ना दिँदै विरोध जनाएका थिए। तर सरकारले उनीहरूको माग बेवास्ता गर्दै आएको छ।
पौडेलका अनुसार तत्कालको समस्या समाधानका लागि चुरेमा पानी जम्मा गर्ने, दोहन र वन विनास रोक्ने गर्नुपर्छ। मधेशको खेतीलाई अब जलवायु अनुकूलन बनाउँदै लैजानुपर्र्ने उनको भनाइ छ।
“आज खेतमा धाँजा फाटेका छन्, किसानलाई उत्साह छैन। बीउ सुकिसके। किसानमा डर र असुरक्षा छ। अहिलेको संकटबाट अताल्लिएको किसानलाई अझै अत्याउनु हुँदैन,” उनी भन्छन्, “उनीहरूलाई धान बाहेको विकल्पमा लैजानुपर्छ। कम पानीमा हुने बाली लगाउन प्रोत्साहन गराउनुपर्छ।”
किसानलाई त्यस किसिमको खेतीका लागि सरकारले राहत र सहजीकरण गरिदिनु पर्ने कृषि विज्ञ पौडेल बताउँछन्। अब चुरे जोगाउँदै बाली परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
कहिले पर्ला मधेशमा पानी?
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार जुलाई मध्ययता पूर्वी मधेशमा सरदर वर्षाको ३० देखि ५० प्रतिशत मात्रै पानी परेको छ। मध्यदेखि पश्चिम मधेशमा ५० देखि ७५ प्रतिशत पानी परेको छ। यसपटक मनसुनमा अनुमान गरेभन्दा कम पानी परेको उनी बताउँछन्।
“मौसम पूर्वानुमान महाशाखाले अन्य प्रदेशको तुलनामा मधेशमा कम त कमै पर्छ भनेको थियो। एकदमै कम पानी परेको छ। पानी पर्ने ट्रेन्ड पनि बदलिएको छ,” अर्याल भन्छन्, “एक घण्टा पानी पर्ने ह्वारै र जाने भएकाले पानी नै नपरेको जस्तै भएको छ।”
मधेशमा मसिनो पानी लामो समय नपरेकाले जमिन भिज्न नसकेको उनको भनाइ छ। ह्वात्तै पानी पर्ने र रोकिने हुँदा जमिनले सोच्न पाउँदैन। त्यहीकारण कृषि र खानेपानीमा असर परेको छ।
मौसमविद् अर्यालका अनुसार मधेशमा पानी अझै केही दिन पर्ने सम्भावना छैन। एक हप्तापछि भने पानी पर्ने सम्भावना रहेको उनी बताउँछन्। “आगामी ४–५ तारिख (साउन १९–२०) बाट वर्षाको सम्भावना छ। एक दुई हप्तापछि मधेशको समस्या समाधान हुन्छ जस्तो देखिन्छ,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
