बाढीपहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो जाँदा ६ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो जाँदा ६ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक र अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा ती राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका हुन्।

यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोरको यातायात सेवा पनि पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा शनिबार र आइतबार मुसलधारे वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागले बाढी र पहिरोको जोखिम उच्च रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा बस्ने सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।