समुदायमा सिकेका र देखेका कुरा पाठ्यक्रममा आउनुपर्छ र पाठ्यक्रममा सिकेका कुराहरू पुनः समुदायमै सदुपयोग हुनुपर्छ।
तपाईँँहरूले ‘कम्युनिभर्सिटी’ भनेर स्नातकोत्तर अध्ययन गर्न चाहाने विद्यार्थीका निम्ति नयाँ शैक्षिक कार्यक्रम शुरू गर्नुभएको छ। काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिएको छ। यो कस्तो कार्यक्रम हो?
कम्युनिभर्सिटीको मर्म ‘कम्युनिटी एज करिकुलम’ (समुदाय नै पाठ्यक्रम) हो। समुदायमा सिकेको र देखेको कुरा पाठ्यक्रममा आउनुपर्छ र पाठ्यक्रममा सिकेका कुराहरू पुनः समुदायमै सदुपयोग हुनुपर्छ। उनीहरूका बीचमा अन्तरक्रिया र अन्तरसम्बन्ध हुनुपर्छ। त्यही अनुरूप नै हामीले कलेजका कक्षाकोठालाई समुदायमा लगेका छौँ। नेपालका तीन ठाउँमा हाम्रा कक्षा सञ्चालन हुन्छन्, ती ठाउँ हुन्– मुस्ताङ, चित्लाङ र जनकपुर। केही दिनअघि हामी चित्लाङ पुगेका थियौँ। त्यहाँको संस्कृति, उद्यमशीलता र मौलिकतालाई पाठ्यक्रममा कसरी ल्याउने भनेर छलफल पनि भयो।
हामीले पढाउने एउटा विषय ‘कम्युनिटी बेस्ड प्रोजेक्ट’ (समुदायमा आधारित योजना) हो। यसमा विद्यार्थीले समूहमा समुदायमै आधारित प्रोजेक्ट सम्पन्न गर्नुपर्छ। विद्यार्थीलाई प्रविधि, सामाजिक विज्ञान र उद्यमशीलता गरी तीनवटा फरक विधा पढाइन्छ। यी विषय एकअर्कासँग जोडिनुपर्छ। साथसाथै, विद्यार्थीले समुदायमा आधारित प्रोजेक्ट पनि गर्छन्।
चित्लाङको उदाहरण लिउँ। हाम्रा विद्यार्थी केही समय चित्लाङमा बसेर अध्ययन गर्छन्। उनीहरूले त्यहाँको स्थानीय विषयमाथि अध्ययन गर्छन्। नेपालको पहिलो ‘गोट चिज फ्याक्ट्री’ चित्लाङमा रहेछ। साथसाथै त्यहाँ नासपाती र आरूको वाइन उत्पादन हुने रहेछ। यी विषयमाथि विद्यार्थीले अध्ययन गर्न सक्ने भए। हामीले यसपटक ३० जना विद्यार्थी लिँदै छौँ, उनीहरूको ६ वटा ग्रुप बन्छ (प्रत्येक ग्रुपमा ५–५ जना हुन्छन्)। चित्लाङमा हामीले ‘मदन भण्डारी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’ सँग सहकार्य गरेका छौँ। कक्षा त्यहीँ सञ्चालन हुन्छ।
यसका साथै हामीले ‘होलिस्टिक वेलबिइङ’ को अवधारणा राखेका छौँ, जुन हाम्रो क्रेडिट कोर्सकै एउटा अंग हो। विद्यार्थीले समुदायको मौलिकता जे छ, त्यहीअनुसारका गतिविधि गर्नुपर्छ। जस्तै, जनकपुर जाँदा उनीहरूले मिथिला आर्टमा सहभागी हुनैपर्छ, त्यहाँको ठेकुवा बनाउने ‘रोल प्ले’ गर्नैपर्छ। त्यहाँको जे मौलिकता हो, त्यहीअनुसारको गतिविधि गरेपछि त्यसको छुट्टै क्रेडिट पाइन्छ।
यसरी कलेज चलाउने सोच कसरी आयो?
शुरू चाहिँ ठ्याक्कै सन् २०१८ नोभेम्बरको एउटा बैठकबाट भएको हो। हामीले एकचोटि पुराना रेकर्डहरू हेर्दा सन् २०१८ नोभेम्बरको मिटिङ माइन्युट भेटेका थियौँ। त्यसलाई आधिकारिक मिति मान्न सकिन्छ। नेपालमा जुन ढङ्गबाट उच्च शिक्षा पढाइ हुन्छ, त्योभन्दा केही फरक हुनुपर्छ भन्ने हाम्रो सोच थियो। प्रारम्भिक अवधारणा र परिकल्पनामा नरोत्तम अर्याल र अमिगो खड्काले पनि पर्याप्त काम गर्नुभयो। किङ्स कलेजमा काम गरिरहँदा शिक्षामा नवप्रवर्तन (इनोभेसन) आउनुपर्छ भन्नेबारेमा छलफल हुन्थ्यो। नेपालमा सिकाइ प्रक्रिया फरक हुनुपर्छ भन्ने हाम्रो मत थियो। यही सिलसिलामा सन् २०१८ नोभेम्बरको बैठक चाहिँ कम्युनिभर्सिटीको पहिलो मिटिङ थियो।
त्यो बेलामा जमघट भएका हामी साथीहरू लगभग सबै विदेशमा पढेर, अनुभव लिएर फर्केकाहरू थियौँ। त्यो मिटिङमा हामीले के छलफल गर्यौँ भने, यदि शिक्षामा नवप्रवर्तन ल्याउने हो भने हामी आफैँसँग डिग्री दिने अधिकार हुनुपर्छ। अहिले किंग्स कलेजले अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीबाट सम्बन्धन लिएको छ। त्यसो हुँदा उनीहरूले जे डिजाइन गरिदिएका छन्, उनीहरूको जे संरचना छ, त्यसै अनुसार चल्नुपर्छ। यदि हामीले नेपालकै काठमाडौँ विश्वविद्यालय वा पोखरा विश्वविद्यालयसँग सम्बन्धन लियौँ भने पनि उहाँहरूले डिजाइन गर्नुभएकै कुरामा हामी बाँधिन्छौँ। नेपालमा कलेजले सिधै डिग्री दिन मिल्दैन, युनिभर्सिटीले मात्र मिल्छ। त्यसैले हामीले चाहेजस्तो नवप्रवर्तनकारी शिक्षा दिने हो भने हामी आफैँले ‘डिग्री’ प्रदान गर्नसक्ने विश्वविद्यालय खोल्नुपर्छ भन्ने सोच त्यही मिटिङमा बनेको थियो। त्यसो हुँदा करिकुलम आफैँ डिजाइन गर्ने, असेसमेन्ट आफैँ गर्ने र डिग्री पनि आफैँले अवार्ड गर्न सकिन्छ।
त्यो मिटिङ माइन्युटमा हामीले ‘एन्टरप्रेनरशिप युनिभर्सिटी’ को परिकल्पना गर्यौँ। ‘यो विश्वविद्यालय हामी सबैको परिकल्पनामा कस्तो देखिन्छ?’ भनेर गहन मन्थन गरेका थियौँ। त्यसपछि बिस्तारै त्यो विश्वविद्यालयमा पठनपाठन कस्तो हुन्छ, शिक्षक कस्ता हुन्छन्, पूर्वाधार कस्तो हुन्छ भन्ने गफगाफ शुरू भएको थियो।
कक्षाकोठालाई ज्ञान उत्पादन गर्ने महत्वपूर्ण थलो मानिन्छ, तपाईँहरू चाहीँ किन समुदाय केन्द्रित हुनुभएको हो?
हाम्रो शिक्षा क्लासरुमभित्र मात्र सीमित हुन्छ। हिजो पनि त्यही थियो, र आजको स्थिति पनि फरक छैन। अझ ब्याचलर र मास्टर्समा त बिहान दुई घण्टा, चार घण्टा वा छ घण्टा क्लासरुमभित्र पढ्यो, त्यसपछि सकियो। पढाउने शिक्षकलाई त्यो विषयमा केही ज्ञान हुन्छ, उहाँले आएर विज्ञको रूपमा पढाउनुहुन्छ र विद्यार्थीहरूले ‘म पढ्न आएको’ भनेर त्यसलाई ग्रहण गर्छन् अनि जान्छन्। तर हामीले त्यो बेलामा ‘यसरी चार पर्खालभित्र मात्र सीमित नहोऔँ’ भन्ने सोच्यौँ। किनभने सिक्ने भनेको त विशेष गरी बाहिरी संसारमा हो।
हामी सबैले विदेशको शिक्षामा व्यापक परिवर्तन देखिसक्दा हाम्रो देशको शिक्षा भने उस्तै यथास्थितिमा थियो। त्यही कक्षाकोठा, टेक्स्टबुक, शिक्षक र असेसमेन्टमै सीमित भइरहेको देखिन्थ्यो। त्यसैले हामीले परिकल्पना गर्दा शिक्षा कक्षाकोठाभन्दा बाहिर हुनुपर्छ भन्ने सोच्यौँ। सिकाई भनेको शिक्षकबाट मात्र होइन, अन्य संस्थाका संस्थापक वा कम्पनीहरूबाट पनि हुन सक्छ। काठमाडौँमा वा काठमाडौँबाहिर आफैँले केही उद्यम शुरू गरेका उद्यमीहरू हुन्छन् नि, उनीहरूले कति कुरा लड्दै, गल्ती गर्दै सिकिरहेका हुन्छन्, ती कुराहरूबाट पनि त सिक्न सकिन्छ। हाम्रो शिक्षामा आधारभूत परिवर्तनको जरूरी छ भन्ने हाम्रो सोच थियो।
काठमाडौँ विश्वविद्यालयसँग तपाईँहरूको सहकार्य कस्तो मोडलको हो?
अहिले यो कार्यक्रम मास्टर्स डिग्रीको रूपमा रूपान्तरित भइसकेको छ र विद्यार्थीले काठमाडौँ विश्वविद्यालयबाट मास्टर्स डिग्री पाउँछन्। हाम्रो संस्था ‘नेपाल कम्युनिभर्सिटी’ भयो, काठमाडौँ विश्वविद्यालयसँग हाम्रो ‘पार्टनरशिप मोडल’ छ। मास्टर्स डिग्रीमा काठमाडौँ विश्वविद्यालयले दुईवटा संस्थासँग मात्र यसरी काम गरेको छ। एउटा ‘साउथ एसियन इन्स्टिट्युट फर हिस्ट्री एन्ड फिलोसोफी’ हो, र अर्को हामी हौँ।
यो पार्टनरशिप मोडलमा, अघि हामीले युनिभर्सिटी खोल्ने जुन सपना छ भनेका थियौँ, उहाँहरूले हामीलाई त्यो स्वायत्तता दिनुभएको छ। हामी आफैँले विषयवस्तु डिजाइन गर्न पाउँछौँ, हामी आफैँले शिक्षक र विद्यार्थी छान्न सक्छौँ। उहाँहरूको एकेडेमिक काउन्सिलबाट कतिपय कुराहरू स्वीकृत हुनुपर्छ, तर उहाँहरूको धेरै हस्तक्षेप छैन। काठमाडौँ विश्वविद्यालयजस्तो संस्थाले हामीलाई पत्याएर यो अवसर दिनु नै हाम्रो अवधारणा सही छ र शिक्षामा यो चाहिन्छ भन्ने बुझाइको प्रमाण हो।

हामीले एकैचोटि मास्टर्स डिग्री शुरू गरेका होइनौँ। सन् २०१८ मा परिकल्पना गरेपछि सन् २०२३ मा हामीले एउटा ‘कन्सेप्ट नोट’ पेपर लेखेर देश–विदेशका शिक्षाविद्हरूलाई पठाएका थियौँ। उहाँहरूले फिडब्याक दिनुभयो। बीचमा कोभिडका कारण केही समय अगाडि बढ्न सकेन। सन् २०२३ मा त्यो पेपरमा सबै फिडब्याक आइसकेपछि ‘मोडल त कागजमा राम्रै देखिएको छ, अब फिल्डमै गरेर हेर्नुपर्छ’ भन्ने सोच्यौँ।
किनभने नगरेसम्म कागजमा जति राम्रो देखिए पनि यसका चुनौतीहरू र कहाँ फेल भइन्छ भन्ने कुरा थाहा हुँदैन। त्यसैले सन् २०२३ मा हामीले दुई महिनाको ‘समर प्रोग्राम’ गर्यौँ। पाँचखाल नगरपालिकाको बजारभन्दा अलि माथि सर्वमङ्गला क्याम्पससँग मितेरी साइनो (मित) लगाएर १९ जना विद्यार्थीहरूलाई त्यहीँ राख्यौँ। यसमा १२ जना पाँचखालकै विद्यार्थी र ७ जना काठमाडौँबाट लगेका थियौँ र ठ्याक्कै यही मोडलमा चलायौँ। सन् २०२४ मा फेरि १३ जना विद्यार्थी लिएर पाँचखालमै कार्यक्रम चलायौँ।
त्यतिबेला उनीहरूलाई डिग्री अवार्डचाहिँ कसले गर्यो? कति समयको थियो यो?
यो बेलामा डिग्री थिएन। सन् २०२५ को शुरूसम्म हामी यसलाई ‘फेलोसिप’का रूपमा चलायौँ। उनीहरूले सर्टिफिकेट पाउँथे, तर डिग्री थिएन। यो प्रोग्राम दुई महिनाको थियो। पाँचखालमा यी दुईवटा प्रोग्राम गरिसकेपछि हामीले गल्तीहरू सुधार्दै नयाँ कुराहरू पनि थप्दै गयौँ। त्यहाँबाट हामीले के बुझ्यौँ भने, हामीले विद्यार्थीलाई नेपालको समुदाय बुझाउन खोजिरहेका छौँ तर पाँचखाल मात्र जाँदा त त्यो नेपालको विविधताको एउटा सानो अंश मात्र भयो। त्यो बेला हामीले सोच्यौँ– यदि विद्यार्थीलाई नेपालको विविधतामै भिजाउन पाए, एउटा ठाउँको सट्टा दुई–तीनवटा ठाउँमा लान पाए कस्तो हुन्थ्यो होला!
त्यसपछि हामीले ‘सोसियल इनोभेसन फेलोसिप’ गर्दा जनकपुर, पाँचखाल र हेलम्बु रोज्यौँ। १५ जना विद्यार्थीहरूलाई दुई–दुई हप्ता गरेर शुरूमा जनकपुर, त्यसपछि पाँचखाल र अन्तिममा हेलम्बुमा राख्यौँ। पढ्ने विषयहरूमा यिनै टेक्नोलोजी, सोसियल साइन्स र एन्टरप्रेनरशिप नै थिए। यसरी दुई महिनाको प्रोग्राम सम्पन्न गर्यौँ।
त्यो बेला पनि हामीलाई के लाग्यो भने, दुई महिना एकदमै छोटो समय भयो। हरेक ठाउँमा दुई–दुई हप्ता मात्र बस्दा त्यहाँको रहनसहन, संस्कृति, उद्यमशीलता र इन्डस्ट्रीबारे बुझ्न थाल्दाथाल्दै अर्को ठाउँमा जाने बेला भइहाल्थ्यो। अर्कोतिर, फेलोसिप भनेर चलाउँदा पनि पैसा लिनैपर्ने हुन्थ्यो। पैसा लिँदा विद्यार्थीहरूले ‘सर्टिफिकेट मात्र भयो, डिग्री पाए हुन्थ्यो’ भन्ने कुरा उठाए।
यो प्रोग्राम सकिएपछि, सन् २०२५ को बीचतिर हामीले काठमाडौँ विश्वविद्यालयलाई ‘हामी यसरी मास्टर्स डिग्री नै चलाउन चाहन्छौँ’ भनेर प्रस्ताव गर्यौँ। हामीले स्नातक कार्यक्रम संचालन गर्ने सोचेनौँ, किनभने स्नातक चार वर्षको हुन्छ र त्यति लामो समयका लागि धेरै कुराहरू सोच्नुपर्ने हुन्छ। तर, मास्टर्स छोटो समयको हुन्छ। नेपालमै पहिलोचोटी यो मास्टर्स डिग्री छोटो समयको हुन्छ। विद्यार्थीले ४५ क्रेडिट्स नै पाउँछन्, तर १५ महिनामै डिग्री पूरा हुन्छ। यसरी डिग्री दिने कुरामा काठमाडौँ विश्वविद्यालय सहमत भएपछि हामीले यो कार्यक्रम शुरू गरेका हौँ।
यो मास्टर्स डिग्रीको नतिजा कस्तो आउँछ भन्ने कुरा एक–दुईवटा ब्याच चलाएपछि मात्रै थाहा हुन्छ। तर आजभोलिको बदलिँदो परिस्थिति हेर्नुहुन्छ भने, विद्यार्थीहरू विदेश पलायन हुने अनेकौँ कारणहरूमध्ये एउटा कारण यहाँ त्यही पुरानो डिग्री वा पठनपाठनका विषयवस्तुले पनि हो। विदेशमा ‘लिबरल आर्टस्’ मा म साइकोलोजी पढ्छु, गणित पढ्छु वा इन्टर–डिसिप्लिनरी तरिकाले पढ्छु भन्ने विकल्प हुन्छन्। यहाँ त्यो सुविधा भएन।
धेरै विद्यार्थीहरू विदेशीएका छन्, कलेजहरूले विद्यार्थी नहुँदा समाज विज्ञानका कतिपय विषय पढाउनै छाडिसके। यस्तो बेलामा नयाँ विषयमा कत्तिको विद्यार्थी आउलान्?
समयले नै बताउला, तर हाम्रो विश्वास चाहिँ कम्तिमा पनि ३० जना विद्यार्थीहरू आउँछन् भन्ने हो। तपाईँंले भन्नुभएजस्तै प्लस–टु सकेपछि ब्याचलर पढ्न बाहिर जानेहरूको ठूलो लर्को छ र ब्याचलर सकेर मास्टर्सका लागि जानेहरूको पनि ठूलै संख्या छ। तर हामीले चाहिँ ‘म विदेश गइहाल्न चाहन्न’ भन्नेहरूका लागि एउटा विकल्प तयार पारेका हौँ। अहिले हामीले राम्रै प्रतिक्रिया पाइरहेका छौँ। हामी न्यूनतम १५ देखि २० जना विद्यार्थी भए पनि कार्यक्रम चलाउछौँ।
यस्ता नयाँ प्रोग्रामहरूमा विशेषगरी अहिलेका युवाहरू (जो राजनीतिक र सामाजिक रूपमा परिवर्तन चाहन्छन्) आकर्षित हुन्छन्। यो कार्यक्रम एउटा राम्रो विकल्प हुन सक्छ भन्ने हाम्रो विश्वास छ।
यो त काठमाडौँमा मात्र सीमित नभएर देशभरि नै घुम्ने कार्यक्रम छ। आर्थिक चुनौती हुँदैन?
हाम्रो सबैभन्दा ठूलो चुनौती नै वित्तीय सस्टेनेबिलिटी हो। यो प्रोग्रामको ट्युसन फि हेर्ने हो भने हामीले विद्यार्थीबाट जम्मा ४ लाख रुपैयाँ मात्र लिइरहेका छौँ। ठूलो खर्च भनेकै विद्यार्थीहरूको आवास, खाना र यात्रा (लजिङ, फुडिङ र ट्राभल) मा हुन्छ, जुन निकै महँगो छ।
त्यो बस्ने, खाने र ट्राभल गर्ने सम्पूर्ण व्यवस्था कलेज आफैँले गर्ने भएकाले त्यसको खर्च ६ लाख ७५ हजार रुपैयाँ लाग्छ। यसरी ट्युसन फि ४ लाख र आवास–यात्रा खर्च ६ लाख ७५ हजार गरेर कुल १० लाख ७५ हजार रुपैयाँ लाग्छ। हाम्रो बजेटिङअनुसार आगामी तीन–चार वर्षमा यो प्रोग्राम विद्यार्थीकै शुल्कबाट आत्मनिर्भर (पर्याप्त) होस् भन्ने हाम्रो अपेक्षा त छ, तर अहिले शुरूआती चरणमा सबै ३० जना विद्यार्थीले पूर्ण शुल्क तिर्न सक्ने अवस्था हुँदैन। यो नयाँ प्रोग्राम भएकाले हामीले धेरैलाई छात्रवृत्तिहरू पनि दिनुपर्ने हुन्छ।
हाम्रो विश्वास के हो भने, शिक्षामा उद्योग (इन्डस्ट्री) र स्थानीय समुदाय पनि जोडिनुपर्छ। त्यसैले हामीले केही संस्थाहरूसँग पार्टनरशिप गरेका छौँ। कतिपय संस्थाहरूले आफ्नो सीएसआरबाट फन्ड दिने प्रतिबद्धता जनाउनुभएको छ। केही संस्थाहरूले हाम्रा विद्यार्थीहरूलाई रोजगारीमा प्राथमिकता दिने सम्झौता गरेका छन्। किनभने भोलि हाम्रा विद्यार्थी कि त आफैँ उद्यमी बन्छन्, कि तत्कालै राम्रो ठाउँमा रोजगारी पाउँछन्। उनीहरूको यो सफलताले नै आगामी ब्याचका लागि बाटो खोल्छ। यसरी हामीले इन्डस्ट्रीहरूलाई अनबोर्ड गरेर वित्तीय सन्तुलन मिलाउने प्रयास गरिरहेका छौँ।
यसका साथै, हामीले अमेरिकामा पनि एउटा टिम गठन गरेर ‘कम्युनिभर्सिटी युएसए’ नामको गैरनाफामूलक (नट–फर–प्रफिट) संस्था दर्ता गरेका छौँ। त्यहाँमार्फत हामी नेपाली डायस्पोरा (गैरआवासीय नेपालीहरू)बाट फन्ड उठाउने योजनामा छौँ। अर्को महत्वपूर्ण कुरा, अहिले हामी जो–जो बोर्ड मेम्बरमा छौँ, कसैले पनि तलब लिएका छैनौँ। हामी पूर्ण रूपमा एउटा उत्कट चाहना (प्यासन) का साथ यो काम गरिरहेका छौँ। त्यसैले शुरूका केही वर्ष विभिन्न स्रोतहरू जुटाएर जसोतसो यसलाई टिकाउनुपर्छ भन्ने हाम्रो सोच हो।
जुन मोडालिटीमा नेपालमा कलेजहरू चलिरहेका छन्, त्यसबाट अब शिक्षाको विकास सम्भव छैन भन्ने निष्कर्षमा तपाईँंहरू पुग्नुभएको हो?
अहिलेको समयमा त्यो मोडालिटीबाट हुँदैन भन्नु त अलि गाह्रै होला, तर केवल त्यही एउटै तरिका मात्र पर्याप्त छैन। अब शिक्षा क्षेत्रमा नयाँ विकल्प र नवप्रवर्तनहरू आउनैपर्छ भन्ने हाम्रो दृढ विश्वास हो। हिजोकै परम्परागत तरिकाले मात्र पढाउने हो भने त्यसले आजका युवाहरूको आवश्यकता र उनीहरूको चाहनालाई परिपूर्ति गर्न सक्दैन। हाम्रो यो एउटा मोडल हो, तर यस्तै अरू पनि धेरै मोडलहरू आउनुपर्छ जुन हिजोको पठनपाठनभन्दा नितान्त फरक हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
