कृष्णप्रसाद भट्टराई र फ्रान्ज काफ्काको ‘द ट्रायल’

पञ्चायती व्यवस्थाको अन्त भएपछि अधिकांश नेपालीलाई जस्तै कृष्णप्रसाद भट्टराईलाई पनि भविष्यप्रति धेरै आशा थियो होला र ‘काफ्काएस्क’ दुनियाँबाट मुक्त भइएको जस्तो लाग्यो होला। तर परिस्थिति फरक भयो।

तत्कालीन राजा वीरेन्द्रले राजनीतिक दलहरूमाथि लगाइएको प्रतिबन्ध हटाएको भोलिपल्ट प्रजातन्त्रको पुनःस्थापना र करिब डेढ महिना लामो जन–आन्दोलन सफलताको हर्ष र उल्लास मनाउन २०४६ चैत २७ गते काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले विजयसभा आयोजना गरे। उक्त सभा तीन कारणले स्मरणीय रह्यो।

पहिलो, नेपाली कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइरालाले आन्दोलनको सफलता सबैको जित हो र मण्डलेहरूको पनि जीत हो भन्दा उपस्थित जनमानस उनीविरुद्ध उर्लिए। सर्वमान्य नेता गणेशमान सिंहले हुललाई थुमथुम्याएपछि मात्र कोइरालाले आफ्नो सम्बोधन अघि बढाउन पाए। पञ्चायती व्यवस्था परास्त पारेका जनताकै सामु पञ्चायत समर्थकहरूको नेपाल राष्ट्रिय विद्यार्थी मण्डल (छोटकरीमा मण्डले) समेतलाई विजयी भएको घोषणा गर्नु सह्य थिएन।

दोस्रो, उद्घोषकले जेएन खनाललाई मञ्चमा आइदिन गरेको अनुरोध। संयुक्त वाममोर्चाका सात घटकमध्ये एक घटक नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) का पूर्वमहासचिव थिए जेएन अर्थात्, झलनाथ खनाल र उनको पार्टी त्यतिखेर भूमिगत थियो। 

तेस्रो, नेपाली कांग्रेसको कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको सम्बोधनको शुरूआत। नेपालीहरू अब उपरान्त फ्रान्ज काफ्काले ‘द ट्रायल’मा वर्णन गरेको जस्तो देशमा बस्नु नपर्ने भट्टराईले बताएका थिए।

सन् १९२५ मा प्रकाशित यो उपन्यासको पहिलो वाक्यमा लेखिएको छ, “जोसेफ केबारे कसैले झुट बोलिरहेको हुनुपर्थ्यो, किनभने कुनै गल्ती नगरेको भए पनि एक बिहान उनलाई गिरफ्तार गरियो।”

निरंकुश र अप्रजातान्त्रिक पञ्चायती व्यवस्थामा जायज कारणबिना पटक–पटक गिरफ्तार भएका र छुटेका भट्टराईलाई काफ्काको काल्पनिक दुनियाँ अवश्य परिचित लागेको हुनुपर्छ। ‘द ट्रायल’ आफ्नो देशको न्याय व्यवस्थाविरुद्ध के (काफ्काले पारिवारिक नाम नदिएर मुख्य पात्रलाई अंग्रेजी वर्णमालाको के मात्र नामकरण गरेका छन्) को संघर्षको कहानी हो।

सन् १८८३ मा अस्ट्रिया–हंगेरी साम्राज्यमा पर्ने बोहेमिया अधिराज्यको शहर प्रागमा फ्रान्जा काफ्काको जन्म भएको थियो। पहिलो विश्वयुद्धमा हारेपछि उक्त साम्राज्य विलय भयो र बोहेमिया चेकोस्लोभाकिया गणतन्त्रमा पर्‍यो। सन् १९९० मा सोभियत संघको पतनपछि पूर्वी युरोपमा भएको राजनैतिक उथलपुथलको असरले चेकोस्लोभाकिया चेक गणतन्त्र र स्लोभाकियामा विभाजित भयो। आज प्राग चेक गणतन्त्रको राजधानी हो। अर्थात्, काफ्का चेक थिए। तर उनी जर्मन भाषामा लेख्थे। 

२०औँ शताब्दीमा कम्युनिस्ट चेकोस्लोभाकियामा क्रियाशील चेक–फ्रान्सेली लेखक मिलन कुन्डेराका अनुसार काफ्काले चेक भाषामा लेखेको भए उनको कृति प्रसिद्ध हुने थिएन। किनभने चेक प्रचलित भाषा थिएन। यदि, कुन्डेरा सही हो भने भट्टराईले ‘द ट्रायल’ पढेका हुँदैन थिए होला र तीन दशक लामो पञ्चायती व्यवस्थाको हर्कत सहँदा उनलाई सान्त्वना दिने काफ्काको दुनियाँबारे अनभिज्ञ हुन्थे। भट्टराईले मात्र होइन संसारभरिका पुस्तौँपुस्ताका पाठकले काफ्का कृतिहरू पढ्न पाए, किनभने उनले जर्मन भाषामा लेखे।

प्रख्यात अस्तित्ववादी फ्रान्सेली लेखकहरू जँ पल सात्र, आल्बेर कामु र लोकप्रिय जापानी उपन्यासकार हारुकी मुराकामी जस्तालाई प्रभाव पारेका काफ्काका उपन्यास तथा लघुकथाहरूको विभिन्न प्रकारले व्याख्या गरिएको छ। आधुनिककालको प्रशासनतन्त्र हावी भएको अव्यक्तिवादी दुनियाँको चित्रण, मानिस–मानिसबीचको सम्बन्धको खोज, धर्म र परम्पराको प्रभाव खुम्चिँदा प्राप्त स्वतन्त्रताको बोझ, मनुष्य जीवनको अर्थको खोज र समग्र मानव परिस्थिति (द ह्युमन कन्डिसन) को चित्रणको रूपमा उनको सबैभन्दा प्रख्यात कृति ‘द ट्रायल’लाई विश्लेषण गरिएको छ। 

काफ्काको व्यक्तिगत जीवनको कोणबाट पनि उनको कृतिहरू हेर्न सकिन्छ। उनका बाबु सफल यहुदी व्यापारी थिए र छोराको साहित्यिक झुकावबारे वास्ता थिएन। बाबुसँग काफ्काको सम्बन्ध औपचारिकतामा सीमित थियो।

आफू यहुदी चेक भए पनि र जर्मन भाषामा लेखे पनि ‘द ट्रायल’ कुन देशबारे लेखिएको उपन्यासमा उल्लेख छैन। ‘द ट्रायल’मा काफ्का सिर्फ लेख्नेछ, “के वैध संविधान भएको देशमा बस्थ्यो, सर्वव्यापी शान्ति थियो, सबै कानून लागु गरिएको थियो। उसकै वासस्थानमा आएर उनलाई गिरफ्तार गर्न कसले आँट गर्न सक्थ्यो?”

गिरफ्तार भए पनि ३० वर्षे अविवाहित केलाई हिरासतमा राखिँदैन, कैद गरिँदैन। उनको दैनिक जीवन चलिरहन्छ, बैंकको अधिकृतको जागिर चलिरहन्छ। उनलाई दुई व्यक्ति आएर उनी गिरफ्तार भएको सुनाउँछन्, तर के कसुरमा भन्ने अधिकार उनीहरूमा नभएको भन्छन्। के मनमनै भन्छन्, “उनीहरू आफूले नबुझ्ने विषयबारे बोलिरहेका छन्। उनीहरू आफ्नो मूर्खताले गर्दा मात्र त्यस्तो आत्मविश्वासको साथ बोल्न सक्थे।”

करिब २५० पृष्ठ लामो उपन्यासमा कतै केको कसुर के थियो र उनी किन गिरफ्तार भए उल्लेख गरिएको छैन।

गिरफ्तार गरिएको केही दिनपछि अदालतमा हाजिर हुन उनलाई फोन आउँछ। ठेगाना दिइएको भए पनि बल्लतल्ल मात्र अदालत भेट्छन्। तर त्यो साधारण तथा कल्पना गरिने खालको अदालत हुँदैन। मान्छेहरूको हुल हुन्छ, होहल्ला भइरहेको हुन्छ र एक महिलाले लुगा धोइरहेको कोठा भएर जानुपर्छ। त्यहाँको परिस्थिति अस्तव्यस्त हुन्छ। त्यहाँ भएका अधिकारीहरूले बल्लतल्ल उनको उपस्थिति देख्छन् र के एक घण्टा पाँच मिनेट ढिलो आइपुगेको बताउँछन्। 

सरकारी वकिल (एग्जामिनिङ म्याजिस्ट्रेट)ले उनी घरमा रङ लगाउने पेन्टर हो भनी सोध्छन्। त्यसपछि त्यो हुलसामु के बोल्न थाल्छन्, उनलाई कसरी गिरफ्तार गरियो, उनीसँग कसरी घूस मागियो, उनको डेरासँगै बस्ने छिमेकीको कोठा कसरी अधिग्रहण गरियो सुनाउँछन् र भन्छन्, “यो संगठन निर्दोष व्यक्तिहरूलाई दोषी भएको आरोप लगाउँछ। उनीहरूविरुद्ध अर्थहीन प्रक्रियाहरू चलाउँछ। तर यसको, मेरो परिस्थितिमा जस्तै, कुनै अर्थ छैन।”

केले सबैलाई घुसखोरीको आरोप लगाउँछ।

उपन्यास भरी केको मुद्दा सम्बन्धी यस्तै अर्थहीन घटनाहरूको मात्र वर्णन छ। त्यही ठाउँ के अर्को दिन जाँदा कोही हुँदैन। अदालतको एक कारिन्दासँग भेट हुन्छ र उनले केलाई अदालत भएको ठाउँ लैजान्छन्। त्यहाँ उनीजस्तै मुद्दा लागेका अरूलाई भेट्छन्। उनीहरूको अवस्था पनि केको जस्तै हुन्छ। कसैले कागजपत्रहरू बुझाएका हुन्छन्, तर अदालतबाट केही जवाफ पाएका हुँदैनन्। अनि अदालतबाट बाहिर निस्कने बाटो पनि केले अरूको सहयोगमा मात्र भेट्टाउँछन्।

फ्रान्ज काफ्काको ‘द ट्रायल’ले प्राचीन ग्रीसको एक मिथक याद दिलाउँछ। त्यो मिथकअनुसार देवताहरूले सिसिफसलाई एउटा ठूलो ढुंगा बोकेर पहाडको टुप्पामा पुर्‍याउने सजाय दिन्छन्। उनी टुप्पा पुग्न लाग्दा ढुंगा पहाडको फेदमा खस्छ र सिसिफसले फेरी ढुंगा बोकेर ल्याउँछन्। तर फेरि फेदैमा खस्छ। यो क्रम कहिल्यै सकिँदैन। के आफूलाई लगाइएको आरोपबाट सफाइ पाउन अनेक गर्छन्, कहिले मन लगाएर त कहिले मन नलगाएर। तर मुद्दा के भइरहेको छ न उनलाई, न त पाठकलाई प्रष्ट हुन्छ। आधुनिककालमा सरकारी काम कारबाहीमा फसेको कुनै व्यक्तिको अनुभवजस्तै केले भोगेको परिस्थिति वर्णन गर्न अंग्रेजीमा ‘काफ्काएस्क’ शब्द पनि बनाइएको छ।

केलाई मुद्दा लागेको थाहा पाएपछि उनका काका भेट्न आउँछन् र उनलाई एक अधिवक्ता भए ठाउँ लैजान्छन्। अधिवक्ता सिकिस्त बिरामी हुन्छन्। मन नहुँदा नहुँदै पनि के उनीसँग फस्छन्। कागजपत्र तयार गरिन्छ, मुद्दा अगाडि बढेको जस्तो हुन्छ, तर बढेको छ कि छैन फेरि प्रष्ट हुँदैन। “मुद्दाको अदालती अभिलेख र आरोपपत्रहरू आरोपित र उनको वकिलको पहुँचमा थिएन। त्यसकारण कुन आरोपको खण्डन गरी अदालतमा कागजपत्र बुझाउने, त्यो प्रष्ट थिएन,” काफ्का लेख्छन्। 

बैंकमा आएको एउटा ग्राहकले पनि केबारे एक चित्रकारबाट सुन्छन् र ती चित्रकारलाई भेट्न सुझाव दिन्छन्। मुद्दाको बोझले बेचैन हुँदै गएको केले चित्रकारलाई भेट्न जान्छन् र उनीबाट अदालती प्रक्रियाबारे थाहा पाउँछन्। तहतहका न्यायाधीशहरू हुन्छन्, तर कसको मुद्दाको निर्णय कुन न्यायाधीशले गर्छ प्रष्ट हुँदैन। त्यसैले चित्रकारले आफ्नो पहुँच भएको न्यायाधीशसामु के निर्दोष छ भनी कुरा राख्न सक्छन्। अनि त्यो न्यायाधीशले अरू न्यायाधीशहरूलाई केबारे भन्न सक्छन्। न्यायाधीशहरूको ‘पोट्रेट’ बनाउने काम उनले बाबुको पालादेखि गरेको हुनाले ती अदालती चित्रकारको न्यायाधीशहरूसम्म पहुँच हुन्छ।

चित्रकारका अनुसार, मुद्दा तीन तरिकाबाट किनारा लाग्न सक्छ। आरोपित व्यक्ति पूर्णरूपले निर्दोष साबित हुन सक्छ, आरोपित निर्दोषजस्तो देखिन सक्छ र अनिश्चितकालको लागि मुद्दा स्थगित हुनसक्छ। कोही पनि पूर्णरूपले निर्दोष भएको इतिहास छैन, तर कुनै व्यक्ति निर्दोष भए यो सम्भव छ, चित्रकार भन्छन्। 

‘यो आफैँमा विरोधाभास हो’ भनी केले जवाफ दिँदा चित्रकारले स्वीकार गर्छन्। चित्रकारका अनुसार पछिल्लो दुई उपाय अपनाउँदा बेलाबेला अदालतमा हाजिर भई कागजात प्रस्तुत गर्नुपर्छ, तर स्वतन्त्र जीवन निर्वाह गर्न सकिन्छ।

चित्रकारको कुरा सुनेर केले आफ्नो अधिवक्तालाई बर्खास्त गर्ने निधो गर्छन्। अधिवक्ताको घर जाँदा त्यहाँ केलाई जस्तै मुद्दा लागेको अर्को व्यक्ति भेट्छन्। बर्षौंदेखिको मुद्दाबाट मुक्त हुने प्रयासहरूमा रहेका उनलाई केको मुद्दा भर्खर शुर मात्र भएको लाग्छ। सिसिफसजस्तै ढुंगा पहाडको टुप्पामा पु¥याउन खोज्नु र ढुंगा खसेपछि फेरि त्यहीक्रम शुरू गर्नुबाहेक अरू कुनै उपाय हुँदैन। मुद्दा लड्दा आफ्नो व्यापार व्यवसायमा धेरै गुमाएका ती व्यक्तिले अधिवक्तालाई भनेको केले सुन्छन्, “अधिवक्ताको सेवा लिन थालेपछि अवश्य पनि मेरो मनको बोझ अधिवक्ताको काँधमा सर्नुपथ्र्र्यो। तर ठीक उल्टो भयो। अधिवक्ता लगाएपछि ममाथि बोझ थपिएको छ। म एक्लै उभिँदा म केही गर्दिन थिएँ, तर म बेफिकर थिएँ। तर तपाईंको सेवा लिएपछि केही होला जस्तो लाग्थ्यो, प्रतीक्षा गर्थें। तर, तपाईंले केही गर्नु भएन। तैपनि ती व्यक्तिले केजस्तो आफ्नो अधिवक्तालाई बर्खास्त गर्दैनन्।”

‘द ट्रायल’ मा केको तीन नारीहरूसँगको अनुभव पनि वर्णन गरिएको छ। ती तीनैसँग भेट्दा उनको समस्याबाट केही राहत भएको जस्तो उनलाई अनुभव हुन्छ। तर, राहत भने हुँदैन। उनी बसेको डेरासँगै बस्ने सुश्री बर्सट्नरलाई आफू गिरफ्तार भएको सुनाउँछन्, तर उनीलाई केबारे खासै चासो लाग्दैन। दोस्रोपटक अदालत जाँदा भेट भएको कारिन्दाको श्रीमतीले केलाई सहयोग गर्ने चाहना भएको भन्छिन्, तर असमर्थ भएको बताउँछिन्। बिमारी अधिवक्तालाई हेरचाह गर्ने लेनीले उनलाई मन पराउँछिन्। अधिवक्ताका अनुसार मुद्दा लागेको सबै व्यक्ति लेनीलाई आकर्षक लाग्छ। अर्थात्, के एक्ला छन् र कसैबाट सहारा पाइएला भनी आशा गर्नु बेकार छ।

फ्रान्जा काफ्का अविवाहित रहे। धेरै नारीहरूसँग लागे। दुई जनासँग उनको मगनी पनि भएको थियो। उनका कृति चेक भाषामा अनुवाद गर्ने मिलेना येसेन्सकासँग केही समय घनिष्ठ पत्राचार गरे। ती पत्रहरूको संगालो ‘लेटर्स टु मिलेना’ सन् १९५२ मा मिलेनको मृत्यपछि प्रकाशित  भयो। अर्कोतिर काफ्का पनि केजस्तै पुँजीवादी संस्थामा काम गर्थे। कानून पढेकी काफ्का दिनभरि कामदारहरूलाई बीमा पोलिसी बेच्थे र राति लेख्थे।

भनिन्छ, काफ्काले लेखेको दश प्रतिशत कृति मात्र बाँकी छ, नब्बे प्रतिशत उनले जलाएर नष्ट गरे। उनको इच्छा पूरा भएको भए उनको कुनै कृति आज हाम्रो सामु हुँदैनथ्यो। सन् १९२४ मा ४० वर्षको उमेरमा क्षयरोगबाट मृत्यु हुने बेला काफ्काले आफ्ना साथी म्याक्स ब्रडलाई एउटा नोट छाडेका थिए। उनले लेखेको सबै अप्रकाशित कृति कसैले नपढी जलाइदिनु भनी अनुरोध गरेका थिए। उनले लेखेका चिठ्ठीहरू विभिन्न व्यक्तिले जलाइदिओस् र उनको जीवनकालमा प्रकाशित केही लघुकथाहरू पनि फेरि प्रकाशित नहोस् भन्ने उनको चाहना थियो।

तर ब्रडले काफ्काको अन्तिम इच्छा पूरा गरिदिएनन्। काफ्काको उपन्यासहरू ‘द ट्रायल’, ‘द कास्ल’ र ‘अमेरिका’ उनको मरणोपरान्त प्रकाशित भए। ‘द ट्रायल’को पाण्डुलिपि ब्रडले सन् १९२० मा आफ्नो घर ल्याएका थिए। पाण्डुलिपिको काफ्काले शीर्षक दिएका थिएनन्, तर त्यसलाई काफ्काले ‘द ट्रायल’ भन्ने गरेको भएर त्यही शीर्षकमा ब्रडले प्रकाशन गरे। 

उपन्यासका अध्यायहरूको शीर्षक काफ्काले नै दिएका थिए। तर, ब्रडले आफ्नो तजबिजले क्रममा राखे। काफ्काको प्रकाशन गर्ने उद्देश्य नभएकोले होला सायद ‘द ट्रायल’ एक्कासि अन्त हुन्छ, केको मुद्दाको फैसला कुन आधारमा हुन्छ, लेखिएको छैन। 

काफ्काको लेखनमा शक्ति अवश्य छ। उपन्यास पढ्दा सिरिङ्ग हुन्छ, डर लाग्छ, निराश भइन्छ, सबै बेकार लाग्छ।

पञ्चायती व्यवस्थाको अन्त भएपछि अधिकांश नेपालीलाई जस्तै कृष्णप्रसाद भट्टराईलाई पनि भविष्यप्रति धेरै आशा थियो होला र ‘काफ्काएस्क’ दुनियाँबाट मुक्त भइएको जस्तो लाग्यो होला। तर उनले २०४८ सालको आमनिर्वाचनमा नचिताइएको हार बेहोर्नु पर्‍यो। किन हारे? कसरी हारे? हारेपछि शायद उनलाई काफ्काको केको याद आयो होला। केमा जस्तै नेपाली जनतामा पनि पटक–पटक नयाँ शुरूआतको महसुस हुन्छ, तर सधैँ पुरानोजस्तै हुन्छ। कहिले केको कचिंगल त कहिले के को।

‘द ट्रायल’को अन्ततिर उनको परिस्थितिबारे बुझाउन एक पादरीले केलाई भन्छन्, “सबै कुरा साँचो हो भनेर स्विकार्न जरुरी छैन, तर ती आवश्यक हो भनी स्विकार्न जरुरी छ।”

जवाफमा के भन्छन्, “एक उदासी निष्कर्ष। यसले झुट बोल्नुलाई सर्वव्यापी सिद्धान्तमा परिणत गरिदिन्छ।”

यहाँ यस्तै छ।