भारतको गुजरातमा पुल भाँचिँदा ३२ जनाको मृत्यु

गुजरातका गृहमन्त्री हर्ष संघवीले ७० जना अस्पताल भर्ना भएको जानकारी दिए। घाइतेलाई राजकोट सिभिल अस्पतालमा ल्याइएको छ।

भारतको गुजरातस्थित मोरबी क्षेत्रमा आइतबार साँझ एउटा पुल भाँचिँदा ३२ जनाको मृत्यु भएको छ भने सयौँ मानिसहरू नदीमा खसेर डुबेका छन्। 

माचु नदीमा बनेको करिब एक सय वर्ष पुरानो पुल मर्मतपछि केही दिनअघि पुनः सञ्चालनमा आएको थियो। 

भारतीय समाचार संस्था पीटीआईले स्थानीय सिभिल अस्तालका अधिकारीलाई उद्धृत् गर्दै घटनामा ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

भाँचिनुभन्दा अगाडि करिब ४०० जना पुलमा रहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार उद्दार कार्य भइरहेको छ। 

गुजरातका गृहमन्त्री हर्ष संघवीले ७० जना अस्पताल भर्ना भएको जानकारी दिए। घाइतेलाई राजकोट सिभिल अस्पतालमा ल्याइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मुख्यमन्त्री भूपेन्द्र पटेलसँग घटनाको जानकारी लिएका छन्। उनले मृतकका आश्रितलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

१.२५ मिटर चौडा र २३३ मिटर लामो यो पुल १९औं शताब्दीमा भारतमा ब्रिटिश शासनको समयमा निर्माण गरिएको थियो।