फेयर ब्रेक टी–२० क्रिकेट : रुविना बनिन् ५ विकेट लिने पहिलो एसोसिएट बलर

रुविना फेयर ब्रेक टी–२० क्रिकेट प्रतियोगितामा पाँच विकेट लिने चौथो खेलाडी हुन्। उनी जारी प्रतियोगिता पाँच विकेट लिने पहिलो बलरसमेत हुन्।

काठमाडाैँ– नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे फेयर ब्रेक टी–२० प्रतियोगितामा पाँच विकेट लिने पहिलो एसोसिएट बलर बनेकी छन्।

उनले शफायर्स वुमन्सविरुद्ध बर्मी आर्मीले ६१ रनको जित हात पार्दा पाँच विकेट लिएकी हुन्। समग्रमा एकै खेलमा फेयरब्रेकमा पाँच विकेट लिने उनी चौथो खेलाडी हुन्। यस्तै रुविना जारी प्रतियोगिता पाँच विकेट लिने पहिलो बलर हुन्।

जितका लागि १६९ रनको बलियो लक्ष्य पछ्याएकाे शफायर्स १५.५ ओभरमा १७ रनमा अलआउट भयो। तशा फरेन्टले सर्वाधिक ३२ रन बनाइन्। उनले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। यता, इरुन ब्रुन्स २१ र बबेटी डी २३ रनमा आउट भइन्।

शफायर्सका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। स्पिनर रूविनाले ५ विकेट लिइन्। उनले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चिइन्। रुचिता भैंकटेशले २, लौरा कारडोसो र तारा नोरिसले १र१ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङका निम्तो पाएको बर्मी आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। रुविना ३२ रनमा अविजित रहिन्। उनले २५ बलमा १ चौका र २ छक्का प्रहार गरिन्। यसअघि दुई खेलमा मैदान उत्रिएकी रूविनाले ब्याटिङको अवसर भने पाएकी थिइनन्।

ओपनर लौरा वोल्भार्डटले ३९ बलमा ९ चौकासहित ४९ रनमा आउट भइन्। शेमेन क्याम्पबेल ३० रनमा आउट भइन्।

शफायर्सकी जिभाना अर्सले ४ विकेट लिइन्। उनले ४ ओभरमा ३२ रन खर्चिइन्। साना मिर, केरी चान, सिबोना जिमी र अदितिबा चुडासामले समान एक विकेट लिइन्।