वृत्य र रोहनको शतकमा कुवेतविरुद्ध यूएईको जित

यूएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो। यूएईलाई विशाल स्कोरमा पुर्‍याउन वृत्य अरविन्दले १८५ र रोहन मुस्तफाले ११८ रन बनाए।

काठमाडौँ- वृत्य अरविन्द र रोहन मुस्तफाको दोहोरो शतकीय साझेदारीमा यूएईले एसीसी प्रिमियर कपमा सानदार जित हासिल गरेको छ। बुधबार सम्पन्न खेलमा यूएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो।

यूएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो। कुवेतका परविन्द्र कुमार र सैयद मोनिबले अर्धशतकीय इनिङ्स खेले पनि जितको लागि प्रयाप्त भएन।

कुमारले २६ बलमा १ चौका र ७ छक्कासिहत ५३ रनको विष्फोटक इनिङ्स खेलेका थिए। तर, उनी १०औँ ओभरको तेस्रो बलमा आफजल खानबाट बोल्ड भए।

त्यसपछि कप्तान मोहम्मद असलामले कुवेतको इनिङ्स सम्हाल्ने कोशिश गरेका थिए। उनी ३६ बलमा ५ चौका प्रहार गर्दै ३३ रनमा आउट भए। अन्य खेलाडीले भने क्रिजमा जमेर लामो इनिङ्स खेल्न सकेनन्। 

युएईका जुनैद सिद्दिकी र कार्तिक मयाप्पनले ३/३ विकेट लिए। सञ्चित शर्मा, आयन खान, जहुर खान र रोहन मुस्तफाको नाममा १/१ विकेट रह्यो।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३७१ रन बनायो। यूएईका वृत्य अरविन्दले १८५ रनको शतकीय इनिङ्स खेले। उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे। अनुभवी ब्याटर रोहन मुस्तफा ११८ रनमा आउट भए। मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्का प्रहार गरे।

४.४ ओभरमा २४–३ को अवस्थामा यूएईको इनिङ्स उकास्न वृत्य र रोहनले २७५ रनको साझेदारी गरेका थिए। ४७औँ ओभरको तेस्रो बलमा सैयद मोनिबको बलमा रोहन विकेटकिपर उस्मानघानी इब्राहिमबाट क्याच आउट भए।

यूएईका आसिफ खानले ९ बलमा २ चौका र ३ छक्कासहित ३० रनको विष्फोटक ब्याटिङ गरे। कप्तान तथा ओपनर मोहम्मद वासिम ८, रामेज शाहजद ९ र आर्यन लाक्रा शून्य रनमा आउट भए। सञ्चित शर्मा भने २ रनमा अविजित रहे। 

कुवेतका प्रविन्दर कुमार र शाहरूख कुद्दुसले २/२ विकेट लिए। यासिन पटेल र सैयद मोनिबको नाममा १/१ विकेट रह्यो।