आत्महत्या गर्नुअघि युकिओ मिस्हिमाले सकाएको उपन्यासको मुख्य विषयवस्तु आधुनिकीकरण, पश्चिमीकरण र पुँजीवादसामु जापानको परम्परागत संस्कृति तथा मूल्य–मान्यताहरूको ह्रास हो।
१९७० नोभेम्बर २५ को दिन जापानी उपन्यासकार र नाटककार युकिओ मिस्हिमा र उनका चार अनुयायीहरूले टोकियोस्थित प्रतिरक्षात्मक बलको एउटा ब्यारेकमा गई त्यहाँका जर्नेललाई कब्जामा लिन्छन्। मिस्हिमाले त्यसपछि त्यहाँका करीब एक हजार सैनिक जवानहरूलाई सम्बोधन गर्दै जापानी सम्राटको नाममा सत्ता हातमा लिन आह्वान गर्छन्। तर, उनीहरूले मिस्हिमाको खिल्ली उडाउँछन्।
लगत्तै, त्यहीँ मिस्हिमाले ‘सेप्पुकु’ गरे र दोस्रो विश्वयुद्धपछि सेप्पुकु गर्ने पहिलो व्यक्ति बने। सेप्पुकु भनेको जापानमा आत्महत्या गर्ने परम्परागत तरिका हो, जसमा आत्महत्या गर्ने व्यक्तिले घुँडा टेकेर आफ्नो भुँडीमा छुरीले हिर्काएर आन्द्राभुँडी बाहिर निकाल्छ। विश्वासिलो व्यक्तिले तरवार हानेर उसको टाउको छिनाल्छ।
त्यही दिन बिहान मिस्हिमाले आफ्नो चार भागको उपन्यास ‘द सी अफ फर्टिलिटी’ को अन्तिम भाग ‘द डिके अफ द एन्जल’को पाण्डुलिपि प्रकाशकलाई पठाएका थिए। उनी ४५ वर्षका थिए र त्यसबखत जापानका सबैभन्दा प्रसिद्ध उपन्यासकारको रूपमा चिनिन्थे। दुई वर्ष अगाडि सन् १९६८ मा साहित्य विधामा नोबेल पुरस्कार पाउने पहिलो जापानी यासुनारी कावाबाटाभन्दा पनि प्रसिद्ध मानिन्थे।
द सी अफ फर्टिलिटीको पहिलो भाग ‘स्प्रीङ स्नो’ सन् १९६८ मा, दोस्रो भाग ‘रनअवे हर्सेस’ र तेस्रो भाग ‘द टेम्पल अफ द डन’ १९७० मा र चौँथो भाग सन् १९७१ मा प्रकाशित भए। कहानीमा सन् १९१२ देखि १९७५ सम्मका घटनाहरू समेटिएका छन्। यो २०औँ शताब्दीको जापानको कथा हो।
कहानीको मुख्य विषयवस्तु आधुनिकीकरण, पश्चिमीकरण र पुँजीवादसामु जापानको परम्परागत संस्कृति तथा मूल्य–मान्यताहरूको ह्रास हो। त्यस्तै युवावस्थाको सौन्दर्यता र यसको ह्रास र बौद्ध धर्मको पुनर्जन्मको अवधारणा पनि छ।
दोस्रो विश्वयुद्धमा हार बेहोरेपछि जापानका मिस्हिमा जस्ता दक्षिणपन्थीहरूमाझ छाएको निराशताको पृष्ठभूमिमा द सी अफ फर्टिलिटी लेखिएको हो। हारपछि अमेरिकाले जापानमाथि लगाएका शर्तहरू, जस्तै जापानी सम्राटको ‘सेरेमोनियल’ भूमिका र सेना राख्न नपाउने कुरा दक्षिणपन्थी जापानीहरूको लागि बेइज्जतको प्रतीक थिए। सन् १८९५ मा चीनसँगको पहिलो युद्धमा र सन् १८०५ मा रुससँगको युद्धमा हासिल गरेको जितसँग सैन्य शक्तिको रूपमा उदय भएको जापानको एक समूहलाई यो घुँडा टेकाइ असह्य थियो।
स्प्रीङ स्नो
‘स्प्रीङ स्नो’मा द सी अफ फर्टिलिटीको मुख्य पात्र शिगेकुनी होन्डा १८ वर्षका हुन्छन् र द डिके अफ द एन्जलमा ८० कटेका हुन्छन्। स्प्रीङ स्नोमा होन्डा हाइस्कूलका भद्र स्वभावका साथी कियोआकी मात्सुगेबाट अति प्रभावित हुन्छन्। द सी अफ फर्टिलिटीका बाँकी तीन भागमा होन्डाको भेट कियोआकीको पुनर्जीवित आत्मा भएका पात्रहरूसँग हुन्छ। तिनीहरूलाई बचाउन उनले हरसम्भव प्रयास गर्छन्।
उच्च घरानाका कियोआकी परम्परागत जापानीहरूजस्तै सिर्पm आफ्नो भावनाको आधारमा बाँच्न चाहन्थे। उनको विचारमा आफ्नो भावनाहरू जिउँदो प्रकृतिप्रति समर्पण गर्नुपर्छ र बन्देजहरूबाट मुक्त हुनुपर्छ। किनभने, बन्देजहरूले स्वतन्त्र रूपले बाँच्न दिँदैनन्।
स्प्रीङ स्नो कियोआकी र साकोतो आयाकुरा बीचको पे्रमकथा हो। कियोआकीलाई उनी सानो छँदा उनको बाबुले जापानी राजपरिवारसँग सम्बन्ध भएको आयाकुरा परिवारमा बस्न पठाएका हुन्छन्। ठूलो भएपछि साकोतोले कियोआकीलाई मन पराए पनि उनले वास्ता गर्दैनन्। साकोतोको विवाहको कुरा चल्न थाल्छ। कियोआकीलाई उनका बाबुआमाले यसबारे उनको विचार सोध्दा मतलब नभएको जवाफ दिन्छन्।
कियोआकी आफ्नो गुमाइबाट प्राप्त हुने सन्तुष्टिबाट आनन्द लिन्छन्। मिस्हिमा लेख्छन्, “उनलाई गुमाइएला भन्ने डरभन्दा त्यो गुमाई नै बेहत्तर थियो।”
साकोतोले विवाहको प्रस्ताव स्वीकार्नुअघि पटकपटक कियोआकीलाई सम्पर्क गर्न खोज्छिन्, तर कियोआकीले वास्ता नगरेपछि मात्र प्रस्ताव स्वीकार गर्छिन्।
साकोतोको राजपरिवारको एक सदस्यसँग मगनी भएपछि मात्र कियोआकीलाई थाहा हुन्छ, उनी साकोतोलाई प्रेम गर्छन्। कियोआकी अब साकोतोको पछि लाग्छन्। साकोतो पनि ठूलो जोखिम मोलेर पटकपटक कियोआकीलाई भेट्न कहिले भट्टीमा त कहिले मात्सुगे परिवारको टोकियो बाहिरको समुद्रको छेउस्थित घरमा आउँछिन्। कियोआकीले आफ्नो मोहबारे उनलाई भनेपछि होन्डा सहयोग गर्न बाध्य पर्छन्।
सातोको गर्भवती हुन्छिन् र यो कुरा थाहा पाएपछि कियोआकीका बाबुआमाको सहयोगमा उनको गर्भपतन गरिन्छ। तुरुन्तै घर नफर्की सातोको बौद्ध भिक्षुनी बन्छिन्। संसारिक भोगाइबाट अलग्गिन्छिन्। कियोआकी सातोकोलाई भेट्न उनी बसेको गुम्बा जान्छन्। उनलाई मनाउन होन्डालाई पठाउँछन्। तर सातोको भेट्न मान्दिनन्। जाडोमा सातोकोको अन्तिम एक झल्कोको लागि प्रयास गर्दा निमोनिया लागेर उनको मृत्यु हुन्छ। त्यति बेला कियोआकी २० वर्षका थिए।
स्प्रीङ स्नोमा इतिहास, कानूनको सिद्धान्त, जापानको विशिष्ट संस्कार ‘फ्रि बिल’ (स्वतन्त्र इच्छा) र कामुकताजस्ता विषयहरूको चर्चा पाइन्छ। यसबाहेक मिस्हिमा र अरू जापानी लेखकहरूका किताबमा जस्तै प्रकृतिको वर्णन यस उपन्यासको ‘हाइलाइट’ हो।
कियोआकी साकोतोलाई भेट्न प्रयास गर्दा एक भट्टीमा बस्छन्। हिउँ परिरहेको हुन्छ। मिस्हिमा लेख्छन्, “यामोतोको मैदानमा छरितो हावामा हिउँका कणहरू नाचिरहेको बिहानी थियो। वसन्तको हिउँ भए पनि नाजुक देखिन्थ्यो, किराहरूको झुण्डजस्तै। बादल लाग्दा ती हराउँथे। घाम लाग्दा मात्र धुलोजस्तै, तर बाक्लो हिउँ भएको महसुस हुन्थ्यो। धेरै हिमपात भएको दिनभन्दा जाडो थियो।”
बिमारी कियोआकीलाई स्याहार गरिरहेका होन्डालाई उनी अन्तिममा भन्छन्, “मैले भर्खर सपना देखेको थिएँ। म तिमीलाई फेरि भेट्छु। मलाई थाहा छ, छाँगामुनि।”
मिस्हिमाले कियोआकीको पुन्र्जन्मको संकेत गर्छन्।
रनअवे हर्सेस
सन् १९३० को दशकका घटनाहरू वर्णन गरिएको ‘रनवे हर्सेस’को मुख्य विषयवस्तु जापानमा त्यसबखत हाबी दक्षिणपन्थी विचारधारा हो। सन् १९३१ मा उत्तरपूर्वी चीनको मन्चुरिया प्रान्त जापानले आफ्नो अधीनमा लियो र १९३७ देखि दोस्रो विश्वयुद्धको अन्तसम्म चीनविरुद्ध धेरै युद्धमा जित हासिल गर्यो। जापानले दोस्रो विश्वयुद्ध सम्राटको नाममा लडेको थियो र जापानीहरू सम्राटको लागि आफ्नो ज्यान दिन तयार थिए। यो अवधारणाको प्रतिबिम्ब रनअवे हर्सेसको मुख्य पात्र इसाओ इनुमामा पाइन्छ। २०औँ शताब्दीको जापानमा पश्चिमी विचारहरूको बढ्दो प्रभावबारे मिस्हिमाका विचारहरू इसाओमार्पmत् यस उपन्यासमा प्रस्तुत गरिएको छ।
१६औँ शताब्दीमा युरोपेलीहरू पहिलोपटक जापानसँग परिचित भए पनि १९औँ शताब्दीसम्म सीमित रूपमा व्यापार र युरोपको वैज्ञानिक उपलब्धिहरू मात्र जापानले भित्रिन दियो। सैन्यबलको आधारमा अमेरिकाले सन् १८५४ मा जापानलाई पूर्णरूपमा व्यापारको लागि खोल्न बाध्य बनायो र जापान आधुनिकीकरणतर्पm होमियो। तर दक्षिणपन्थीहरू यसको विरोधमा थिए र जापानले आफ्नै साम्राज्य बनाउनु पर्छ भन्ने मान्यता राख्थे। सन् १९२० र १९३० को दशकमा सुधारवादी मानिएका वर्तमान र भूतपूर्व प्रधानमन्त्रीहरूलाई दक्षिणपन्थीको समूहले हत्या गरेको थियो।
मिस्हिमाजस्तै इसाओ पनि आफ्नो शरीरलाई तन्दरुस्त राख्न महत्त्व दिन्थे र जापानी मार्सल आर्ट ‘केन्डो’का अब्बल खेलाडी थिए। इसाओले दक्षिणपन्थी विचारधारामा आधारित सम्राटलाई सत्ताको केन्द्रविन्दुमा राखी सुधारवादी राजनीतिज्ञहरू तथा पुँजीपतिहरूको विरोध गर्ने करिब २० युवाहरूको समूह बनाउँछन्।
मिस्हिमाको पनि यस्ते समूह थियो। त्यो समूहका सदस्य, पुँजीपतिहरू र उनीहरूलाई सहयोग गर्ने राजनीतिज्ञहरूको छुट्टाछुट्टै हत्या गर्ने योजना बनाउँछन्। “युवावस्थाको आदर्श पालना गर्नु सजिलो भएको समय थियो,” मिस्हिमा लेख्छन्। तर पोल खुल्छ र उनीहरू पक्राउ पर्छन्।
पहिलो पटक एक छाँगामुनि उनलाई देख्दा र उनको युवा अवस्थाको साथीको जस्तै उनको पनि बाँया काखीमुनि तीनवटा कोठी देख्दा इसाओ इनुमा पुनर्जन्म भएको कियोआकी मात्सुगे भएको शिगेकुनी होन्डा विश्वस्त हुन्छन्। विवाहित, तर निसन्तान होन्डाले उच्च अदालतमा न्यायाधीशको पदबाट राजीनामा दिएर इसाओको वकिल बन्छन्।
“कियोआकीलाई बचाउन उनको असफलता उनको युवावस्थाको सबैभन्दा ठूलो पछुतो भएकोले यसपटक उनी सफल हुुनपर्छ, होन्डालाई लाग्यो। उनलाई कुनै पनि हालतमा खतरा र स्क्यान्डलबाट उद्धार गर्नुपर्छ, उनलाई लाग्यो,” मिस्हिमा लेख्छन्।
उता आफ्नो सुनवाइ पर्खेर जेलमा हुँदा कानूनबारे इसाओ सोच्छन्, “कानून मान्छेले आफ्नो जीवनलाई एक क्षणमा कवितामा परिवर्तन गर्न खोज्ने प्रयास हो।”
मृत्युदण्डबाट इसाओलाई बचाउन होन्डा सफल हुन्छन्। तर इसाओले एक्लैले जापानको सबैभन्दा ठूलो पुँजीपतिको हत्या गर्छन् र त्यसपछि सेप्पुकु। उपन्यासको अन्तिम वाक्यमा मिस्हिमा लेख्छन्, “छुराको धारले उनको शरीरलाई लाग्ने बखत सूर्यको चम्किलो गोलो आकाशमाथि उड्छ र उनको आँखा पछाडि पड्किन्छ।”
इसाओको जीवन एक क्षणको कविता बन्छ। त्यतिबेला उनी २० वर्षका थिए।
इसाओ मुख्य पात्र भए पनि ‘द सी अफ फर्टिलिटी’ को दोस्रो भाग होन्डाको कथा हो। इसाओलाई पहिलो पटक देखेपछि होन्डा सोच्छन्, “अतीत फेरि फर्कन्छ, झूटको कोमल कलंक र सपना तथा आकांक्षाहरूसँग मिसिएर। अनि मान्छेले आफूलाई झन् गहिरो रूपमा बुझ्छ, जुन बुझाइ युवा अवस्थामा सम्भव थिएन।”
अनि सन् १९३० को दशकमा जापानमा हाबी दक्षिणपन्थी विचारको प्रभाव होन्डामाथि परेको विषयमा मिस्हिमा लेख्छन्, “उनको निर्णय उनी कति स्वतन्त्र भएर आफ्नो तर्कमा आधारित थियो र कति त्यस बखतको विचारबाट प्रभावित उनी भन्न सक्दैनथे।”
द टेम्पल अफ द डन
युरोपमा दोस्रो विश्वयुद्ध सन् १९३९ मा शुरु भए पनि जापानको सहभागिता १९४१ डिसेम्बरदेखि मात्र भयो। अमेरिकाको हवाइ राज्यस्थित नौ सैनिक अखडामा जापानले हवाइ आक्रमण गरेर विश्वयुद्धको शुरूआत गरेको थियो। यसको पूर्वसन्ध्यामा शिगेकुनी होन्डा एक सफल वकिलको रूपमा मुद्दा लड्न बैंकक पुग्छन्। द टेम्पल अफ द डन यहीँबाट शुरु हुन्छ। अन्त हुँदा सन् १९६७ को एक घटना वर्णन गरिएको छ।
बैंककमा होन्डाको भेट ७ वर्षकी थाई राजकुमारीसँग हुन्छ र भेट्नासाथ होन्डालाई नामले सम्बोधन गर्छिन्। अनि, आफू जापानी भएको भन्दै जापान नै लैजान जिद्दी गर्छिन्।
रनअवे हर्सेसमा इसाओ इनुमाको पुनर्जन्म गर्मी ठाउँमा र नारीको रूपमा हुने संकेत गरिएको हुन्छ। होन्डाले कियोआकी र इसाओको जीवनको दुई महत्त्वपूर्ण घटना कहिले भएको भनी प्रश्न गर्दा राजकुमारीले ठीक उत्तर दिन्छिन्। बैंककबाट होन्डा कलकत्ता, बनारस र अजन्ता जान्छन्। त्यहाँको हिन्दू परम्परा र बौद्धकलाबाट धेरै प्रभावित हुन्छन्। युद्धको समय जापानमा पुनर्जन्मको बौद्धवादी सिद्धान्त अध्ययनमा बिताउँछन्।
उपन्यासको दोस्रो खण्डमा सन् १९५२ का घटनाहरू समेटिएको छ। थाई राजकुमारी यिन चाङ्ग अध्ययनको लागि जापान आउँछिन् र होन्डाको उनीसँग भेट हुन्छ। तर, राजकुमारीलाई बाल्यवस्थाको केही सम्झना हुँदैन। होण्डालाई भने उनको बाँया काखीमुनि तीनवटा कोठी हेर्नु अति महत्त्वपूर्ण हुन्छ। अनेक जुक्ति लगाउँछिन र अन्तमा उनको छिमेकी केइको हिसेमात्सुको सहायताले हेर्दा तीनवटा कोठी देख्छन्। राजकुमारी त्यसपछि बैंकक फर्किन्छिन्। कियोआकी र उनको सम्झना होन्डाबाट टाढिँदै जान्छ। होन्डाले सन् १९६७ मा मात्र यिन चाङ्ग गोमन सर्पको डसाइबाट वर्षौंअगाडि मृत्यु भएको थाहा पाउँछिन्। यिन चाङ्ग २० वर्षकी थिइन्।
द सी अफ फर्टिलिटीको अरू तीन भागभन्दा द टेम्पल अफ द डन कम कथानक छ। यिन चाङ्गको सोच प्रक्रिया प्रस्तुत छैन। पुनर्जन्मको सिद्धान्तहरूबाहेक इसाओ इनुमालाई बचाउन नसकेपछि होन्डामा आएको निराशता र युद्ध हारेपछिको जापानको प्रतिबिम्ब उपन्यासको विषयवस्तु हो।
नाफामूलक पुँजीवादको संसारतर्फ अग्रसर हुँदै र आफ्नो परम्परागत महिमाको नाश खेप्दै गरेको जापानजस्तै होन्डा पनि पैसाको लागि मात्र काम गर्छन् र अर्काको भलो गर्न छोड्छन्। युद्धमा होमिन थालेको युगबारे उनी सोच्छन्, “कियोआकी रोमान्टिक भावनाको युद्ध भूमिका मरेको युगको सट्टा एउटा नयाँ समय आउँदैथ्यो। जब युवकहरू वास्तविक युद्धहरूमा मर्नेछन्, इसाओको मृत्यु त्यसको अग्रदूत थियो।”
जापानको पश्चिमीकरण पूर्ण भएको बारे होन्डालाई लाग्छ आयातीत पश्चिमी विचारहरूको बलमा उनको जीवनशैली आधारित थियो। बाँच्नका लागि इसाओ झुण्डिएको जस्तो गरेर पवित्रतामा झुण्डिनु हुँदैन।
द डिके अफ द एन्जल
द टेम्पल अफ द डनमा पश्चिमी सोच र जीवनशैलीप्रति केही हदसम्म आशा देखाइए पनि द सी अफ फर्टिलिटीको अन्तिम भागमा यसलाई पूर्णरूपले नकार्दै शून्यवाद दर्शाइएको छ। यो भाग पढ्दा युकिओ मिस्हिमाको आत्महत्याको संकेतहरू भेट्न सकिन्छ।
उनको बाँया काखीमुनि तीनवटा कोठी देखेपछि १६ वर्षको टुहुरो तोरू यागुनागालाई धनी भएका, पत्नी गुमाइसकेका ७६ वर्षको सेगुकुनी होन्डाले धर्मपुत्र बनाउँछन्। तर तोरूमा घमण्डको साथसाथै एक किसिमको नीचपन हुन्छ। होन्डालाई सताउँछन् र होन्डा तोरूसँग डराउन थाल्छन्।
होन्डाको यो हालत देखेर उनको साथी बनेकी केइको हिसेमात्सु तोरूलाई आफ्नो घरमा बोलाउँछिन र किन उनलाई होन्डाले धर्मपुत्र बनाएको सुनाउँछिन्। कियोआकी मात्सुगे, इसाओ इनुमा र यिन चाङ्गबारे बताउँछिन् र तोरू उनीहरूको अवतार भएको सुनाउँछिन्। अनि २० वर्षको उमेरमा तोरू नमरोस् भन्ने होन्डाको चहानाबारे भन्छिन्।
“तिमीलाई लाग्छ तिमी एक अतुलन्य जिनियस हाऔ। तिमीलाई लाग्छ तिमी मानव जातिमाथि उडिरहेको बादल जस्तो होऔ। तिमीबारे केही खास छैन। तिमी लामो जीवन बाच्ने छौ,” केइकोले तोरूलाई भन्छिन्। तोरूले उनको कुरा नपत्याए कियोआकीले उनलाई छोडेर गएको सपना वर्णन गरेको दैनिकी होन्डासँग मागेर पढ्न भन्छिन्। केइकोलाई तोरूको घमण्ड नाश गर्नु थियो।
२० वर्ष पुगेको तोरूले दैनिकी पढ्छन् र विष खाएर आत्महत्याको प्रयास गर्छन्। उनी बाँच्छन्,तर दृष्टिविहीन हुन्छन्। जापानको परम्परागत सुन्दरता र संस्कृति कुरूप बनेको संकेत मिस्हिमाले गरेका छन्।
होन्डालाई भने क्यान्सर हुन्छ र६० वर्षसम्म आँट गर्न नसकेको काम गर्छन्। साकोतोलाई भेट्न जान्छन्। उनले कोही कियोआकी मात्सुगेलाई नचिनेको बताउँछिन्।
३४ उपन्यास, ५० हाराहारी नाटक, २५ लघुकथाका संकलनहरू, ३५ वटा निबन्धका किताब, एक ओपेरा र एक फिल्म कहानी लेखेका युकिओ मिस्हिमाले उनको सर्वोकृष्ट मानिएको कृति ‘द सी अफ फर्टिलिटी’को अन्तमा दुई वाक्य लेखेका छन्, “होन्डाले सोच्छन् उनी कुनै स्मरण, केही नभएको ठाउँमा आइपुगे। शान्त बगैँचामा ग्रीष्मको मध्यदिनको घाम बगिरहेको थियो।”
अतीतको के बाँकी रह्यो र अब? शून्यता?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
