पुरानै लयमा फर्किँदै हेलम्बुको पर्यटन व्यवसाय

भूकम्प र काेराेनाले शून्यमा पुर्‍याएकाे हेलम्बुकाे पर्यटन तंग्रन थालेकाे छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण र काेराेनाकाे जाेखिम कम हुँदै गएकाले यहाँ दैनिक ५० जनाभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।

चौतारा– भूकम्प र कोरोनाले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय पहिलेकै लयमा फर्किने क्रममा छ। भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटेल र होमस्टेको पुनः निर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो। 

बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रंगीन ध्वजापताकाले सिँगारिएको गाउँ, आँखै अगाडि सेता हिमाल। गर्मी महिनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पति र वन्यजन्तु हेलम्बुका आकर्षण हुन्। पर्यटकीय गाउँ हेलम्बु आइपुगेका जावलाखेल ललितपुरका विपुल शाक्य यहाँको सौन्दर्य देखेर छक्क परे।

राजधानीको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने बहानामा हेलम्बु आएका उनले पहिलोचोटी नजिकबाट हिमाल देखे। गुम्बाको शहर भनेर चिनिने हेलम्बुको धार्मिकस्थलको ग्राउन्ड भूकम्पले तहसनहस बनायो।  पुनःनिर्माणमा आएका विविध समस्यालाई स्थानीयको एकताले समाधान गरेपछि अहिले माने, गुम्बा ठडिएका छन्। 

पदयात्राका क्रममा बाटैभरि ध्वजापताका, गुम्बा, माने देखेर आफू रमाएको शाक्यकाे भनाइ छ। “गाउँका मान्छेमा पाप हुँदैन भन्थे। हाे रहेछ,” उनले भने, “यहाँको परिवेश र संस्कृति नेपालभित्रकै नमूना हुनसक्छ।” भूकम्प र कोरोनाले थलिएको  पूर्वाधार, धार्मिकस्थलको पुनः निर्माणसँगै हेलम्बु गाउँपालिकामा पर्यटक बढेका छन्। शाक्यसँगै हेलम्बु आइपुगेका रविन महर्जनले पनि यहाँको बखान गरे।

एकैनासका ह्योल्मो संस्कृति झल्काउने लहरै उभिएका हरिया घर उनलाई अचम्म लागे। “यहाँको कृषि क्षेत्र पनि उदाहरणीय लाग्यो,” उनले भने,  “स्याउ फल्छ भन्ने सुनेको मात्रै थिएँ। अहिले आफैँले त्यसको बोट देखियो। किवीखेती पनि लोभलाग्दो रहेछ।” समथर भू–भागमा मिलेर बसेको तार्केघ्याङ र मेलम्चीघ्याङ बस्ती निकै सुन्दर छन्। 

शाक्य र महर्जनमात्रै होइन, भूकम्पपछिको पुनः निर्माणले देखिएको सुन्दरता देखेर यहाँ आइपुग्ने पर्यटक मोहित हुने गरेका छन्। गुम्बाको पुनःनिर्माणले आन्तरिक तथा बाह्य पर्यटक बढेका छन्। वार्षिक ३६ हजार पर्यटक हेलम्बु पदमार्ग हुँदै आमायांग्री, मेलम्ची घ्याङलगायत स्थलमा पुग्ने गर्थे। “पर्यटकीय पदमार्गका लागि भनेर दिनहुँ ५० जना हाराहारी स्वदेशी तथा विदेशी पर्यटक आउन थालेका छन्,” हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने, “गुम्बालगायत अन्य भौतिक पूर्वाधार र आरामदायी बास बस्ने रिसोर्टको सुविधा सहज बनेपछि पर्यटक आउन थालेका हुन्।”

ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्चीघ्याङ, महादेव पाइलामा पर्यटक पुग्ने गर्छन्। समुद्री सतहबाट तीन हजार ७७० मिटरमा पर्ने आमायांग्री पर्यटकको पहिलो रोजाइमा पर्छ। पदयात्रा रुचाउने पर्यटक आमायांग्री पुग्ने गरेको अध्यक्ष शेर्पाले जानकारी दिए। यो ठाउँमा पुग्न सवारीसाधन पुग्ने स्थानबाट झन्डै चार घण्टा उकालो लाग्नुपर्छ।

किउलको सेर्माथान, मेलम्चीघ्याङस्थित पर्यटकका लागि लक्ष्य गरेर बनाइएको होटेल, रिसोर्ट पहिलेकै सुविधासम्पन्न अवस्थामा ल्याइसकिएको छ। दुई दर्जन सडक, बिजुली, खानेपानीलगायत सबै सुविधा एकैसाथ गरिएपछि पर्यटकको रोजाइमा हेलम्बु परेको शेर्पाको दाबी छ।

हेलम्बुबाट पदमार्ग हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ। सिमसिसाङ हिमाल, गन्जलापास–लाङटाङ क्षेत्र पुग्ने पदमार्ग बन्दै छ। त्यसैगरी सुन्दरीजल–कुन्टुङसाङ, घोप्टेघ्याङ–मेलम्चीघ्याङ, तिम्बु–मेलम्चीघ्याङ, पाल्चोक–ककनी, निगाले–ककनी, सेर्माथान–पाल्चोक भगवती, निन्देश्वरी महाकाल–आमायांग्रीजस्ता दर्जन पदमार्ग मर्मतसमेत भइरहेको छ।

पर्यटक आउने क्रम बढिरहेकाले किउल, हेलम्बु भेगका होटेल, रिसोर्ट भरिन थालेको होटेल सञ्चालक रोशनी लामाले बताइन्। “भूकम्प र कोरोनापछि साम्य बनेको पर्यटन फेरि उठ्न थाल्यो, दिनकै धेरैको संख्यामा आउने पर्यटकले यहाँको रिसोर्ट ‘बुकिङ’ बढ्न थालेको छ,” लामाले भनिन्।

पर्यटकीय बस्तीका होमस्टे र कला संस्कृतिले पर्यटक लोभिँदै हेलम्बु धाउने गरेको उनले बताइन्।