कतारविरुद्ध नेपालको खराब ब्याटिङ, १५७ रनमा समेटियो

एसीसी प्रिमियर कपअन्तर्गत समूह 'ए'को अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपालले १५८ रनको लक्ष्य दिएको छ। ४०.२ ओभरमा अलआउट भएको नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए।

काठमाडौँ- नेपालले एसीसी प्रिमियर कपअन्तर्गत समूह 'ए'को अन्तिम खेलमा कतारलाई १५८ रनको लक्ष्य दिएको छ। नेपालले ४०.२ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका थिए। कतारका बलरले शुरूआतदेखि नै नेपाली ब्याटरलाई दबाबमा राखे। तल्लोक्रममा आएर सन्दीप लामिछानेले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए। 

सन्दीपले ५८ बलमा ६ चौका प्रहार गरे। उनले अन्तिम विकेटको लागि ललितनारायण राजवंशीसँग ४६ रनको साझेदारी गरे। ललित १७ बलमा १ रन बनाएर एलबीडब्ल्यू आउट भए। कप्तान रोहितकुमार पौडेलले २७, आशिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले ११/११ रन बनाए।

नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४६ रन मात्रै बनाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमै २ रनमा आउट भए। त्यसपछि क्रिजमा आएका भीम सार्की पनि क्रिजमा टिक्न सकेनन्। उनी चौथो ओभरको तेस्रो बलमा क्याच आउट भए।

३.३ ओभरमा २-९ को स्थितिमा रहेको नेपालको इनिङ्स आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले उकास्ने प्रयास गरेका थिए। तर, ४८ रनको साझेदारी गरेपछि आसिफ १३औँ ओभरको चौथौ बलमा क्याच आउट भए। उनले २७ बलमा २ चौका प्रहार गरे। १६औँ ओभरको तेस्रो बलमा  रोहित पनि आउट भए। नेपालका लागि कुशल मल्ल ३, सोमपाल कामी ११ र आरिफ शेखले ११ रन बनाए।

२६औँ ओभरको चौँथो बलमा आरिफले जीवनदान पाएका थिए। कट गर्दै प्वाइन्टतिर हावामा पठाएको बललाई ओमानका कमरान खानले क्याच ड्रप गरे। तर, अर्को २७औँ ओभरको दोस्रो बलमा उनी खुर्रराम शाहजादबाट क्याच आउट भए। त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी १२, गुलशन झा ७ रनमा आउट भए।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले टोलीमा एक परिवर्तन गरेका थिए। उनले तीव्र गतिका बलर करण केसीको स्थानमा अलराउन्ड गुलशनलाई मौका दिएका थिए। 

कतारका अमिर फारूकले सर्वाधिक ४ विकेट लिए। उनले ९.३ ओभर बलिङ गर्दै ४२ रन खर्चिए। ओवैस अहमदले ३ विकेट लिए। गायन मुनवीरा र इक्रममुल्लाह खानको नाममा १/१ विकेट रह्यो।
 
नेपाल एक खेल अगावै सेमिफाइनल पुगिसकेको छ। बिहीबारको खेलमा कतारलाई पराजित गरे नेपाल अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने छ। नेपालले ३ खेलमा २ जित र १ मा अंक बाँड्दै ५ अंक जोडेको छ। नेपाल अंक तालिकामा दोस्रो स्थानमा छ।