एसीसी प्रिमियर कप: उपाधिका लागि नेपालले यूएईसँग खेल्दै, वर्षा बाधक बन्ने सम्भावना

एसीसी प्रिमियर कपको उपाधि विजेता टोलीले भारत र पाकिस्तानसमेत सहभागी हुने एशिया कपमा स्थान बनाउने छ। तर, वर्षाले 'रिजर्भ डे'मा समेत खेल नहुने अवस्था आए वरीयतामा अगाडि रहेको नेपाल एशिया कपमा पुग्नेछ।

तस्वीर: उकालो

काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनलमा सोमबार नेपालले उपाधिका लागि यूएईको सामना गर्दैछ। उपाधि विजेता टोलीले भारत, पाकिस्तानलगायत एशियाका टेस्ट खेल्ने पाँच राष्ट्रसमेत सहभागी हुने एशिया कपमा स्थान बनाउने छ।

तर, जल तथा मौसम विज्ञान विभागले सोमबार काठमाडौँलगायत देशका धेरै भागमा पानी पर्न सक्ने जनाएको छ। फाइनलका लागि एक दिन 'रिजर्भ' राखिएको छ। सोमबार खेल हुन नसके मंगलबार खेलाइनेछ। विभागले भने मंगलबार पनि वर्षाको सम्भावना रहेको जनाएको छ।

सोमबार बेलुका पश्चिम नेपालबाट वर्षा गराउने पश्चिमी वायुको नयाँ प्रणाली पनि भित्रिँदै गरेको कारण थप तीन दिन पानी पर्न सक्ने विभागले जनाएको छ। यस्तो अवस्थामा सुपर ओभरसमेत नहुने सम्भावना हुन्छ।

अहिले भने कीर्तिपुरमा पानी परेको छैन। तर पानी पार्ने बादल सक्रिय भएका कारण धुम्मिएको छ। खेलाडी मैदानमा अभ्यास गरिरहेका छन्। वर्षा नभए बिहान ८:३० बजे टस हुनेछ र ९ बजे खेल शुरू हुनेछ। खेल हेर्न बिहानैदेखि दर्शक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगिसकेका छन्।

तर, वर्षाले दुवै दिन खेल हुन नसके र सुपर ओभर पनि गर्न नसकिए नेपाल एशिया कपका लागि छनोट हुनेछ। आईसीसी विश्व वरीयतामा अगाडि रहेको टिमलाई विजेताका रूपमा एशिया कपमा भाग लिन दिइने एसीसीले जनाएको छ। आइसीसी ओडीआई वरीयतामा नेपाल १४औँ र युएई १९औँ स्थानमा छ।

यसअघि गएको वैशाख १६ गते कीर्तिपुरमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल पनि वर्षाका कारण रद्द भएको थियो। खेल चलिरहेको अवस्थामा वर्षा भएपछि नेपाल समूह विजेताको रूपमा फाइनल पुगेको थियो। 

दोस्रो सेमिफाइनलमा युएईले ओमानलाई डकवर्थ लेविस मेथडमा दुई रनले हराएर फाइनलमा पुगेको थियो। उक्त खेल पनि वर्षाले प्रभावित हुँदा डीएल मेथडबाट नतिजा निकालिएको थियो। तेस्रो स्थानका लागि आइतबार कीर्तिपुरमा भएको खेल पनि वर्षाका कारण रद्द भएको छ। कुवेतविरूद्धको खेल रद्द भएपछि ओडीआई मान्यता पाएको ओमानलाई विजेताका रूपमा इमर्जिङ नेसन्स कपमा स्थान दिइएको छ।