भारतको मणिपुरमा जातीय हिंसा, ५४ जनाको मृत्यु

मे ३ मा मणिपुर उच्च अदालतले गैरआदिवासी मेइती समुदायलाई जनजातिमा समावेश गर्नका लागि १० वर्ष पुरानो सिफारिस कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको थियो। त्यसपछि आन्दोलन उग्र बनेको हो।

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भएको जातीय झडपमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि परिस्थिति हिंसात्मक बनेको थियो।

झडपमा शनिबार रातिसम्म ५४ जनाको ज्यान गएको अधिकारीहरूलाई उद्‌धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। मणिपुर सरकारले चरम परिस्थितिमा हिंसासंलग्नलाई गोली हान्न आदेश दिएपछि प्रदर्शन पुनः चर्किएको छ।

हिंसाका कारण हालसम्म नौ हजार मानिस विस्थापित भएका छन्। भारतका कानुनमन्त्री किरेन रिजिजुले केही दिनयता चलेको झडपमा धेरैको ज्यान गएको र सम्पत्तिमा क्षति पुगेको बताएका छन्। इन्टरनेट बन्द गरिएका कारण मणिपुरबाट सूचना प्रवाहमा बाधा पुगेको र पछिल्लो झडपको विवरण पाउन कठिन भएको बीबीसीले उल्लेख गरेको छ।

राज्यको राजधानी इम्फाल र थप दक्षिणमा रहेको चुराचन्दपुर जिल्लामा रहेका अस्पतालका मुर्दाघरमा झडपमा मृत्यु भएका ५४ जनाको शव राखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

फेब्रुअरीमा भाजपा नेतृत्वको सरकारले संरक्षित क्षेत्रबाट अतिक्रमण हटाउन थालेपछि मणिपुरमा तनाव शुरू भएको थियो। सरकारको यो कदमको विरोधमा स्थानीयले प्रदर्शन गरेका थिए।

तर, मे ३ मा मणिपुर उच्च अदालतको आदेशसँगै स्थिति नियन्त्रण बाहिर गएको बीबीसीले जनाएको छ।

उच्च अदालतले गैरआदिवासी मेइती समुदायलाई जनजातिमा समावेश गर्न १० वर्ष पुरानो सिफारिस कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको थियो। त्यसपछि आन्दोलन उग्र बनेको हो।