मौसम पूर्वानुमान महाशाखाले भन्यो– नेपालमा ‘मोखा’ चक्रवातको प्रभाव पर्दैन

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा प्रभाव नरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको प्रभाव नेपालमा नरहने देखिन्छ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।