कर्नाटकमा कांग्रेसलाई बहुमत, भाजपा ६५ सिटमा खुम्चियो

आइतबार बिहान सम्पन्न मतगणना अनुसार विधानसभामा १३६ सिट जित्दै कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ। यहाँ सरकार बनाउन ११३ सिट आवश्यक पर्छ।

तस्वीर: पीटीआई

भारतको कर्नाटकमा भएको विधानसभा निर्वाचनमा भारतीय कांग्रेस पार्टीले बहुमत प्राप्त गरेको छ। आइतबार बिहान सम्पन्न मतगणना अनुसार विधानसभामा १३६ सिट जित्दै कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको हो।

अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ६५ सिटमा खुम्चिएको छ। यस्तै जेडीएसले १९ र अन्य दलले ४ सिट जितेको टाइम्स अफ इन्डियाले जनाएको छ।

२२४ सिट रहेको कर्नाटक विधानसभामा सरकार बनाउन कम्तीमा ११३ सिट आवश्यक पर्छ। १३६ सिट जितेको कंग्रेसले अब प्रदेशमा एकल सरकार बनाउनेछ।

कर्नाटकमा बुधबार विधानसभाको निर्वाचन भएको थियो। निर्वाचनमा ७३.१९ प्रतिशत मत खसेको थियो।