सुर्तीजन्य पदार्थमा कर बढाएर विपन्न नागरिकको उपचारमा खर्च गर्छौं: स्वास्थ्यमन्त्री

सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन लागिरहेको बताएका छन्।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

सिन्धुपाल्चोकको हेलम्बुमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए।

ग्रामीण भेगमा अहिले पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ। सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको मन्त्री बस्नेतले बताए।

“सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन म लागिरहेको छु,” उनले भने।

मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाइ पाल्चोकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताए।