नेपाल रहेको समूह ‘ए’मा भारत, बंगलादेश र किर्गिस्तान छन्। यस्तै, समूह ‘बी’मा काजकिस्तानसहित उज्बेकिस्तान, श्रीलंका र मालदिभ्स छन्।
काठमाडौँ– नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सहायक प्रशिक्षक जगदीश भट्टले सेन्ट्रल एसियन भलिबल संघ (काभा) वुमन्स भलिबल च्यालेन्ज कप प्रतियोगितामा आफ्नो लक्ष्य ‘गोल्ड मेडल’ नै रहेको बताएका छन्।
जेठ ८ गतेदेखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुने प्रतियोगिताको जानकारी दिन नेपाल भलिबल संघ (एनएभी)ले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यसपटक टोलीले कमजोरी रहेको स्थानमा सुधार गरेको बताउँदै ‘गोल्ड मेडल’को लक्ष्य रहेको बताएका हुन्।
“विगतमा भएका कमी कमजोरीलाई सुधार गरेका छौँ। स्पेसली डिफेन्स र सर्भिसमा सुधार गरेका छौँ,” उनले भने, “घरेलु दर्शक र मैदान छ। त्यसैले पनि सहयोग गर्छ। त्यसैले हाम्रो लक्ष्य भनेको गोल्ड जित्नु हो।”
भलिबल च्यालेन्ज कपमा यसपटक नेपालले मध्य एशियाका काजकिस्तान, किर्गिस्तान र उज्बेकिस्तानसँगै व रीयतामा आफूभन्दा माथि रहेको भारतसँग खेल्ने छ। यसका अतिरिक्त नेपालले बंगलादेश, मालदिभ्स र श्रीलंकासँग पनि आफ्नो क्षमता प्रदर्शन गर्ने छ।
काभाले यसअघि वरीयताका आधारमा १४ सदस्य राष्ट्रलाई वर्गीकरण गरी प्रतियोगिता आयोजना गर्दै आएको थियो। शीर्ष वरीयतामा रहेका काजकिस्तान र भारतीय टोलीसहित अफगानिस्तान, इरान, ताजकिस्तान, तुर्कमिनिस्तान र पाकिस्तान ‘रसियन ब्लक’मा रहेर खेल्दै आएका थिए। त्यसैले नेपालको प्रतिस्पर्धी तल्लो वरीयताका मालदिभ्स, भुटान, बंगलादेश, उज्बेकिस्तान, किर्गिस्तान र श्रीलंका ‘इरान ब्लक’मा थिए।
यो पनि– काभा भलिबल : अब्बल प्रतिस्पर्धी, 'बदलाको भावना'मा नेपाल
नेपालले तल्लो वरीयताका प्रतियोगितामा दुईपटक उपाधि जितिसकेको छ। सन् २०१९ मा बंगलादेशमा आयोजना भएको सेन्ट्रल जोन भलिबल प्रतियोगितामा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलोपटक उपाधि जितेको थियो। त्यो नै नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। त्यसको दुई वर्षपछि बंगलादेशमै उज्बेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै पुनः नेपालले उपाधि रक्षा गर्यो।
नेपाल रहेको समूह ‘ए’मा भारत, बंगलादेश र किर्गिस्तान छन्। यस्तै समूह ‘बी’मा काजकिस्तानसहित उज्बेकिस्तान, श्रीलंका र मालदिभ्स छन्।
उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यले नै भलिबल संघले तीन महिनासम्मको बन्द प्रशिक्षण गराएको सहायक प्रशिक्षक भट्टले बताए। “हाम्रो टार्गेट उपाधिमा ह्याट्रिक गर्ने नै हो। त्यसैले तीन महिना लामो प्रशिक्षण गरेका छौँ। दुखद नै भन्नुपर्छ हामीसँग एक मेन खेलाडी (स्पाइक प्रतिमा माली) त छैन। मलाई लाग्छ, अरू खेलाडीले जिम्मेवारीबोध गरेर र मानसिक रूपमा आफूलाई केही गर्नुपर्छ भनेर उत्सुकताका साथ खेलाडीले प्रशिक्षण गरिरहेका छन्। त्यसैले उपाधि जित्छौँ भन्ने लागेको छ,” उनले भने।
यसपटक न्यू डायमन्ड एकेडेमीकी प्रतिमालाई कोर्टमा देख्न पाइने छैन। प्रशिक्षणको क्रममा घुँडामा चोट लागेपछि प्रतिमाले यो प्रतियोगिता गुमाउने छिन्। भरखरै घुँडाको शल्यक्रिया गरेको कारण उनी प्रतियोगिता खेल्न नसक्ने भट्टले जनाकारी दिए। प्रतिमाको स्थान निरूता ठगुन्ना र उषा भण्डारीले लिने छिन्। उनीहरू नेपाली टोलीका लागि नयाँ खेलाडी हुन्।
उनीहरूसँगै स्पाइकर पूजा चौधरी र रिमा कुँवर, मिडल ब्लकर संगम महतो र कविता भट्ट, लिबरो शान्तिकला तामाङ र सेटर प्रगति नाथ पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्। ‘ब्याक पेन’बाट ग्रसित स्पाइकर कामना विष्टले टोलीमा पुनरागमन गरेकी छन्।
अनुभवी खेलाडीहरू कप्तान अरुणा शाही, सलिना श्रेष्ठ, उषा भण्डारी र सोफिया पुन छन्। काजकिस्तान उत्कृष्ट टोलीको रूपमा लिए पनि हालसम्म उनीहरूले कस्तो खेल्छन् भन्ने कुनै जानकारी नभएको भट्टले बताए। त्यही पनि आफूहरूले काजकिस्तानविरुद्ध राम्रो खेल प्रदर्शन गर्ने उनले बताए।
“काजकिस्तानका खेलाडीको फुटेज हालसम्म पनि भेटेनौँ। तर, हेर्दा शारीरिक रूपमा अग्ला खेलाडी रहेछन्। अग्ला भएर मात्रै हुने पनि होइन। हामी उनीहरूसँग कसरी खेल्छौँ भनेर रणनीति बनाइसकेका छौँ,” उनले भने, “एशियाली वरीयतामा पनि माथि नै भएको टिम हो। हामी राम्रो खेल प्रदर्शन गर्ने प्रयास गर्छौँ।”
भलिबल च्यालेन्ज कप नेपालमा आयोजना हुन लागेको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हो। यसअघि नेपालले सन् २०१९ मा पुरुषतर्फ एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता आयोजना गरिसकेको छ। यस्तै, १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा महिला र पुरुष दुवैको प्रतियोगिताको व्यस्थापकीय जिम्मेवारी संघले पाएको थियो।
भलिबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक जितेन्द्रबहादुर चन्दले प्रतियोगितालाई सफल रुपमा आयोजना गर्न कुनै कसर बाँकी नराखेको जानकारी दिए।
“नेपालको प्रतिष्ठा जोडिएको प्रतियोगिता भएको कारण हामीले भेन्यूदेखि टिम तयारीसम्ममा कुनै कसर बाँकी राखेका छैनौँ,” उनले भने। प्रतियोगिताको लागि २ करोड ७१ लाख अनुमानित बजेट रहेको छ। त्यसमा राखेपले मुख्य प्रायोजकबापत ५० लाख दिने निर्णय भइसकेको र अन्य क्षेत्रबाट पनि सहयोग आउने क्रममा जारी रहेको चन्दले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
