सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ: प्रधानमन्त्री

सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षा नीतिमा गुणात्मक सुधार गरिने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए। सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

“सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा छ,” उनले भने, “स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी विद्यालयको अनुगमन र मुल्यांकन गरिँदै आएको छ। यस्ता कार्यलाई निरन्तरता दिई शिक्षा प्रणाली थप सुदृढ गरिने बेहोरा सदनलाई जानकारी गराउन चाहन्छु।”

आव २०७९/८० को नौ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको उनको भनाइ थियो।