लामो बिदा : विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए

दशैँतिहार लगायतका विभिन्न चाडपर्वका कारण शिक्षणसिकाइमा देखा परेको ‘ग्याप’ले विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिएका छन्।

सांकेतिक तस्वीर

टीकापुर- टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्छिन्। उनी दशैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसकेका छन्। लामो बिदामा पहाड उक्लिएकी विक एक महिनापछि विद्यालय जाँदा धेरै कुरा बिर्सिसकेको अवस्था छ। 

“पढाइमा छोरी राम्रै थिइन्, फरर उच्चारण गरेर पढ्ने, लेखाइ पनि राम्रो थियो, एक महिना बिदामा गाउँ गयौँ”, सम्झनाकी आमा रत्ना विकले भनिन्, “अहिले त छोरी धेरै कुरा बिर्सिसकेकी छिन्, उनलाई आफ्नै कोर्स नयाँ लाग्न थालेको छ।” उनले शिक्षकको सल्लाहमा छोरीले बिर्सेका कुरा अध्ययनका लागि अतिरिक्त कक्षा शुरू गरेको बताइन्। 

लामो समय बालबालिका बिदामा बस्दा पहिले पढाइ भएका अधिकांश कुरा बिर्सने गरेको शिक्षक बताउँछन्। दसैँ तिहारको एक महिना बिदापश्चात् यही कात्तिक १४ गतेदेखि विद्यालय पुनः सञ्चालन भएका छन्। विद्यालय आउँदा बालबालिकाले धेरै कुराहरू बिर्सेको सेतिमैया चौधरी माविका प्रधानाध्यापक पतिराम चौधरी बताउँछन्। 

“बालबालिका बिदामा किताबबाट टाढा रहे, घरमा पढ्ने वातावरण भएन, अधिकांशले पहिला पढेका कुरा बिर्सिएको पाइयो”, उनले भने, “अब पहिला पढेका कुरा पुनः सम्झाउने काम भइरहेको छ। साना कक्षाका बालबालिकामा यस्तो समस्या बढी पाइयो।”

मल्लिका विद्यापीठ टीकापुरका प्रधानाध्यापक टीकाराम आर्यको पनि यही गुनासो छ। हाल उनीसँग आश्रममा चार विद्यार्थी बस्दै आएका छन्। घरमा बस्दै आएका अन्य विद्यार्थी विद्यालय आउँदा पहिले पढाइ भएका धेरै कुरा बिर्सेर आएको र आफूसँगै आश्रममा बस्दै आएका विद्यार्थीको त्यस्तो समस्या नभएको उनी बताउँछन्। 

“बिदामा पनि बालबालिकालाई नियमित पढ्न लगाउनुपर्छ, बिदामा बालबालिका किताबबाट टाढा रहेकाले यस्तो समस्या देखिएको हो”, उनी भन्छन्,, “यसरी महिनौँसम्म नपढेपछि साना बालबालिका बिर्सिन्छन्।”

जानकी गाउँपालिका–७ स्थित मोती मावि मोतिनगरका प्रधानाध्यापक दीपक दास यसको सबै अपजस शिक्षकमाथि आउने गरेको दुखेसो गर्छन्। “विद्यालयमा हुँदा शिक्षक र घरमा रहँदा अभिभावकले ध्यान दिने हो, आफ्नो जिम्मेवारी महसुस गर्ने हो भने विद्यार्थीमा यस्तो कमजोरी देखिँदैन”, उनी भन्छन्, “तर अभिभावकले खासै बालबालिकालाई समय दिएको देखिँदैन। एक महिनामा बालबालिका अधिकांश पढेका कुरा बिर्सेर आउँछन्।”

बिदाका समयमा विद्यार्थी नियमित पठनपाठन क्रियाकलापबाट टाढा हुने हुँदा यस्तो बेला घरमा अभिभावकले निगरानी गरी विभिन्न शैक्षिक क्रियाकलापमा व्यस्त राख्न सके बालबालिका पठनपाठनमै व्यस्त हुन्छन् र नबिर्सने हुन्छन्। अब विद्यालयमा बालबालिकालाई पहिलेका कुरा सम्झने गरी दोहोर्‍याएर पढाउँदा केही हदसम्म पहिले पढाइ भएका कुराहरू सम्झन सक्ने जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीको भनाइ छ। 

“लामो बिदापछि विद्यालयले बालबालिकाको पढाइ सुधारका लागि दोहोर्‍याएर पढाउनु पर्छ”, उनी भन्छन्, “बिदामा गृहकार्य दिएको हुन्छ, अभिभावकले दिएको गृहकार्य गर्न सघाउने गरेको भए पनि सहज हुन्थ्यो।”

हरके वर्ष वर्षे, हिउँदे र दसैँ बिदामा लामो समय विद्यालय बन्द हुन्छ। विद्यालय बन्दपश्चात् विद्यालयमा पुनः पठनपाठन हुँदा विद्यार्थी पहिले पढाएका धेरै कुरा बिर्सेर आउने भएकाले लामो बिदाबारे पनि सोच्न आवश्यक रहेको अभिभावक बताउँछन्। कतिपय स–साना बालबालिकाहरूलाई त झन् शून्यबाटै शुरू गर्नुपर्ने शिक्षकको गुनासो रहेकाले बिदाका समयमा घरमा अभिभावकले ध्यान दिन सके यो अवस्था नआउने शिक्षकको  सुझाव छ।

बिदाको समय कसैको सामान्य, कसैको सिर्जनशील

लामो बिदाको यो समय कैलालीका मावि तहमा अध्ययनरत बालबालिकाले सामान्य तवरले मनाएका छन् भने कसैले सिर्जनात्मक काममा खर्च गरेका छन्। विद्यार्थी सिजर्नशिल हुन्छन्। उनीहरूका लागि हरेक समय सिर्जनात्मक हुनु आवश्यक छ। कैलालीका केही विद्यार्थीले दसैँ तिहार बिदाको एक महिनाको समय सिर्जनात्मक बनाएका छन् भने केहीले सामान्य रूपमा मनाएका छन्। 

पढाइको रफ्तार चलिरहेका बेला एक महिना बिदा हुँदा विद्यार्थीलाई विद्यालयले गृहकार्य दिने तथा घरमा पढ्नका लागि समय निकाल्न सुझाएका हुन्छन्। कक्षा १० मा अध्ययनरत  महेश साउँदले दसैँ तिहार बिदामा पढ्नमै समय बिताए। ‘‘पढ्ने विद्यार्थीका लागि एक महिना पर्याप्त हो। मैले पढाइमा मात्र ध्यान दिए”, उनी भन्छन्, “घरबाट बाहिर जान अनुमति थिएन, त्यसैले घरमै बसेर पढाइमा ध्यान दिए।”

वीरेन्द्र विद्या मन्दिरमा अध्ययनरत रीतिका शाहले बिदाको समय पढाइसँगै नयाँ सीप सिक्ने, घरको काममा सघाएर बिताए। “मैले घरको काम सिके, भान्सामा नयाँ परिकार बनाउन सिके”, उनी भन्छन्, “पढाइमा पनि ध्यान दिए, पेन्टिङ गर्न, चित्र बनाउन सिके। यो समय मेरा लागि सृजनशील रह्यो।” 

लामो समयसम्म पढाइ लेखाइबाट टाढा रहँदा, सिर्जनात्मक काम नगर्दा पढाइप्रतिको रुचि घट्न सक्छ। त्यसैले बिदाको समयलाई हरेक विद्यार्थीले सिर्जनात्मक बनाउनुपर्छ। बिदाको समयमा कोही विद्यार्थी पढाइ र नयाँ कुरा सिकाइमा व्यस्त रहन्छन् भने कोही पूरा समय खानपान र घुमफिरमा बिताउँछन्। कक्षा १० मै अध्ययनरत प्रकृति बोगटीले पनि घरको काम, अभिभावकलाई पसलको काममा सघाउने, नयाँ सीप सिक्ने गरी समय सदुपयोग गरे।

“घरको काम सिके, पसलको काममा सघाए, यसपटक रक्षा धागो बनाउन सिके”, उनले भने, “तिहारमा पकाइने परिकार बनाउनसमेत सिकेकी छु।”

अंकित तिमिल्सिनाले पनि पसल र घरको काममा सघाउने, आफ्नो पढाइलाई समय दिनुका साथै रमाइलो गरी बिताउनुभयो। जनजागृति मावि सितापुरमा कक्षा ९ मा अध्ययनरत रविना परियार र रेखा परियारले पनि पढाइमै केन्द्रित भएर बिदाको सदुपयोग गरे। बिदाको समयमा विद्यार्थीले पढाई सुधारका साथै सामाजिक कार्य, सिर्जनात्मक सीप सिक्न सक्ने भएकाले शिक्षकले समेत त्यहीअनुसार गर्न सुझाव दिने र गृहकार्य दिने गरेको त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायत बताउँछन्। 

“हामीले बालबालिकालाई सामाजिक कार्यमा सक्रिय हुन सिकाएका हुन्छौँ, नयाँ सीप सिक्न, जस्तै नृत्य सिक्न, गीत गाउन, रमाइला कार्यक्रममा सहभागी हुन सक्छन्”, उनी भन्छन्, “विद्यार्थीलाई पढ्न प्रेरित गर्नुका साथै सामाजिक जिम्मेवारी पनि सिकाउन आवश्यक छ।”