पश्चिमाहरू पूर्वीयलाई अल्छी, सुस्त, शंकालु, सीधा–सादा, रहस्यमय, कुटिल, अशिष्ट र असभ्य, रूढिवादी भन्ने ठान्थे। 'लकिरको फकिर' भनेर हेप्थे अनि आफूलाई सभ्य र अभिजात ठान्थे।
एडवर्ड सेड बिसौँ शताब्दीका मूर्धन्य ‘प्यालेस्टिनी–अमेरिकी साहित्य’का प्राध्यापक थिए। १९७८ मा प्रकाशित उनको पुस्तक ओरियन्टलिजम् (प्राच्यवाद)ले विश्वको बौद्धिक जनमानसमा हलचल मच्चाएको थियो। प्राच्यवादको बहस छेडिनुअघि सर्वसाधारण र खासगरी बौद्धिक जमातमा उपनिवेशबारे गलत अवधारणा व्याप्त थिए। ‘उपनिवेशहरूका केही सामान्य त्रुटि हुँदाहुँदै पनि तिनीहरू समग्रमा जनहित र कल्याणकारी थिए’ भन्ने अवधारणा चलेको थियो।
सेडले त्यस्ता अवधारणा गलत मात्र नभई घातकसमेत रहेको आफ्नो पुस्तकबाट प्रस्ट पारे, “साम्राज्यवादी आफूहरू अरूजस्तो होइन भन्छन्। कुनै पनि देशमा उनीहरूको उपस्थिति या तिनले उपनिवेश स्थापना गर्नुको कारण त्यहाँका जनता जगाउन, सभ्य बनाउन, त्यहाँ शान्ति र स्थिरता कायम गर्न र प्रजातन्त्र स्थापना गर्न हो भन्छन्। त्यस्ता लक्ष्यहरू हासिल गर्न बलको प्रयोग गर्नु स्थानीयवासीको हितका लागि हो भन्छन्। चिन्ताको विषय के हो भने कतिपय बुद्धिजीवीसमेत साम्राज्यहरू सौम्य र परोपकारी हुन्छन् भन्ने सोच राख्छन्।”
ओरियन्टलिजम्को परिचय दिँदै सेड भन्छन्, “यो कुनै विवादास्पद कुरा होइन। उन्नाइसौँ शताब्दीको अंग्रेज चाहे भारतमा होस् या इजिप्टमा, ती देशहरूमा उसको सरोकार हुन्छ भने उसको मन बेलायती उपनिवेशबाट मुक्त हुँदैन। जति पनि शैक्षिक ज्ञान भारत र इजिप्टबारे निर्माण गरिन्छ, त्यो राजनीतिक दृष्टिकोणबाट अतिक्रमित हुन्छ।”
पूर्व एउटा व्यवसाय र वृत्ति हो भन्थे बेन्जामिन डिज्राली। डिज्रालीको भनाइ उद्धृत गर्दै पुस्तकको प्रारम्भमा सेड थप्छन्, “यसको अर्थ पूर्वमा अनुरक्त हुनु पश्चिमी युवाहरूका लागि जीवन उपभोगको एक अवसर हो।” उपनिवेशवादीहरू पूर्वीयलाई 'ओरिएन्ट' र पश्चिमीलाई 'अक्सिडेन्ट'जस्ता शब्दले सम्बोधन गर्छन्। दुवै निरोधात्मक शब्द हुन्। ओरियन्ट शब्दले पूर्वीयहरू अशिक्षित, रुढिवादी र असभ्य हुन् भनेर अर्थ दिन्छ भन्ने पश्चिमाहरूको बुझाइ हो।
'ओरियन्टलिजम्' प्रकाशित भएपछि सेड प्रख्यात सांस्कृतिक आलोचकको रूपमा परिचित भए। उनको पुस्तकले विशेष गरेर पश्चिमले पूर्वलाई कसरी हेर्छ र बुझ्छ भन्नेबारे विस्तृत विवेचनात्मक टिप्पणी गर्छ। पश्चिमीहरू, विशेषतः अमेरिकाले मुसलमान र अरब जगत्लाई तेल आपूर्तिकर्ता या सम्भावित आतंकवादीका रूपमा मात्र बुझे, अझै बुझ्छन्। अरबको मानव घनत्व, अरब मुसलमानको 'जुनून', उनीहरूको साहित्यिक र सांस्कृतिक उच्चताजस्ता विषय पश्चिमीहरूको मानसपटलमा कहिल्यै पसेन।
पश्चिमी ज्ञानोदय र सांस्कृतिक परम्पराको मानववाद औपनिवेशिक र साम्राज्यवादी विचारमा आधारित थियो। पूर्वीय (मध्यपूर्वी, दक्षिणपूर्वी)हरूबीच पश्चिमी उपनिवेशवादीहरू आफूलाई शिक्षित, सभ्य र संस्कारी बनाउन समर्पित भएको झूट फैलाउन व्यस्त थिए। पश्चिमीहरूले घुमाउरो तरिकाबाट पूर्वीयहरूलाई भ्रमित पार्दै पश्चिमीहरूको संस्कृति, सभ्यता र विचार उच्च कोटीको हो भन्दै संगठित प्रचार गरिरहेकोमा सेडले जोड दिए।
ओरियन्टलिजम् एक समयानुकूल पुस्तक थियो, जसले गैरपश्चिमी, तर उच्चशिक्षा पाएका गतिशील जमात (उपनिवेशबाट लाभान्वित पनि यस जमातमा पर्थे)को सोचलाई समेत कसरी पश्चिमी उपनिवेशवादीहरूले प्रभावित पार्न सफल भयो भन्ने प्रस्ट्यायो। कसरी पश्चिमाहरूले पूर्वीयहरूलाई दमन गरिरहेका छन् भन्ने विषय पुस्तकको माध्यमबाट सेडले अवगत गराउन खोजे।
सेड बहुप्रतिभाशाली व्यक्ति थिए। उनी बौद्धिकहरूमध्ये तीक्ष्ण थिए। एक असाधारण धर्मनिरपेक्ष र मानववादी थिए। आफ्नो समयमा मिडिया जगत्मा निकै चर्चित थिए। ओरियन्टलिजम्मा उनले पूर्व, दक्षिण एशिया, उत्तरी अफ्रिका या मध्य–पूर्वकालाई पश्चिमाले एउटा 'अर्धपौराणिक परिकल्पना'मा आधारित 'ओरिएन्ट' भनेर पृथक् दृष्टिकोणबाट हेर्ने गर्थे भन्ने अवगत गराए। 'ओरिएन्ट' कुनै विशेष भौगोलिक सीमाभित्र सीमित थिएन। यो शब्दले लेबनान, टर्की, इराक आदिका समुदाय र संस्कृतिलाई समेत जनाउँथ्यो, अर्थात् अन्य उपनिवेशभित्रका समुदाय पनि सोही शब्दद्वारा सम्बोधित हुन्थे। विविध परिदृश्य, स्थल, संस्कृतिभित्रका जातिहरूलाई एउटा पृथक् र अपरिवर्तनीय एकाइका रूपमा पश्चिमाले सम्बोधन गर्ने शब्द थियो 'ओरिएन्टल।'
पश्चिमाहरू पूर्वीयहरूलाई अल्छी, सुस्त, शंकालु, सीधा–सादा, रहस्यमय, कुटिल, अशिष्ट र असभ्य, रूढीवादी भन्ने ठान्थे। 'लकिरको फकिर' भनेर हेप्थे र आफूलाई सभ्य र अभिजात भन्ने सोच्थे। पूर्वीयमाथि उपनिवेश चलाउनुलाई स्वाभाविक र आफ्नो नैसर्गिक अधिकार ठान्थे। प्राच्यवादीहरू आफूलाई सांस्कृतिक रूपमा श्रेष्ठतर र चेतनशील 'अक्सिडेन्ट' मान्थे। पूर्वीयलाई पिछडिएका अविवेकी 'ओरिएन्ट' भन्दै पृथक् आँखाले हेर्थे। यसरी पूर्व र पश्चिमबीच एक द्वैध सम्बन्ध स्थापित थियो। यस सन्दर्भमा रूडयार्ड किप्लिङको भनाइ सापट लिन सकिन्छ, "पूर्व पूर्व नै हो, पश्चिम पश्चिम हो। दुवै मिल्न सक्दैनन्।"
सेडका अनुसार प्राच्यवादीहरू आफ्ना मानव विज्ञान, भाषाशास्त्र, संस्कृति आदिमाथिको शैक्षिक अनुसन्धान या खोजलाई वैज्ञानिक र वस्तुनिष्ठ भएको उल्लेख गर्छन्, जबकि ती खोज र अनुसन्धानहरू नितान्त पक्षपाती हुने गर्थे, जसले पूर्वीय समाजको अवस्थाको वास्तविक चित्रण गर्न कहिल्यै सकेन। सेड आफ्नो पुस्तकमा भन्छन्, “प्राच्यवाद मिथक या झूटहरूको संग्रह मात्र होइन, परस्पर सम्बन्ध राख्ने नीति, संस्थान र आख्यानहरूको समष्टिको पद्धति हो, जुन अति जटिल हुन्छ। जो कोहीलाई त्यसको वास्तविक अर्थ र लक्ष बुझ्न गहनतम अध्ययन आवश्यक पर्छ।”
औपनिवेशिक कालमा प्राच्यवादले इस्लाम धर्मावलम्बीलाई कट्टर, धर्मान्ध, हिंस्रक, कामुक, अज्ञानी र अरूलाई धम्क्याउने जाति ठान्थ्यो। मुसलमानलाई 'अर्को' भनेर बुझिन्थ्यो, तिनको अध्ययन साधारणतया कसरी तिनमाथि दमन र प्रभुत्व जमाउने भन्ने सन्दर्भमा युरोपियन पश्चिमाले गर्थे। यो विचार अझै पनि विद्यमान छ। इस्लाम धर्मलाई पश्चिमाले प्रतिस्पर्धीको रूपमा लिने गरेका कारण पनि यस्तो हुन्थ्यो। बेलायती र फ्रान्सेली उपनिवेशमा प्राच्यवादलाई वैचारिक आधार मानिन्थ्यो। औपनिवेशिक कालपछि या उत्तर औपनिवेशिक अवधिमा समेत प्राच्यवादीहरूको अवधारणामा पूर्वीय देश र उत्तर अफ्रिकाका जनतालाई हेर्ने दृष्टिकोणमा केही फरक आएन। उनीहरूको सामयिक वैदेशिक र आन्तरिक नीतिनिर्माणका लागि समेत त्यस्तो सोच र अवधारणा आवश्यक थियो। त्यही सोच, विचार र नीतिबाट उनीहरू उपनिवेशमा आफ्नो साम्राज्यलाई न्यायोचित ठान्थे।
प्राच्यवादमार्फत पश्चिमाहरू रुढीबद्ध धारणा या 'स्टिरियोटाइप' दृष्टिकोण संस्थागत गर्न सफल भए। यी धारणा पछिल्ला दुई शताब्दीमा विकसित भएका थिए। सेडले प्राच्यवादलाई उजागर गरेपछि विशेष गरेर साहित्यिक सिद्धान्त, सांस्कृतिक अध्ययन, इतिहास र मानव भूगोलको अध्ययन गर्न सहज भएको छ। सेडको उत्तर संरचनात्मक विश्लेषण विशेष गरी जाक डेरिडा र मिसेल फुकोको विचारबाट प्रभावित छ।
प्राच्यवादीहरू आफ्नो धारणा र निष्कर्ष फैलाउन लेखक, कलाकार, राजनीतिज्ञ, दार्शनिक आदिको प्रचुर प्रयोग गर्थे। यिनको लेख–रचना पश्चिमिहरूबीच मात्र नभएर पूर्वी एशिया, मध्य एशिया र उत्तर अफ्रिकी उपनिवेशभित्रका जनमानस र बौद्धिक जमातमा पुग्थे।
सांस्कृतिक समालोचनाका लागि सेडको पुस्तक ओरियन्टलिजम् उत्तर उपनिवेशवाद अध्ययनको क्षेत्रमा आधारभूत दस्ताबेज बन्न सकेको छ। उत्तर औपनिवेशिक सिद्धान्तले कसरी पश्चिमी शक्तिले पूर्वीय र उत्तर अफ्रिकी देशका बौद्धिक विचारलाई अन्धाधुन्ध प्रभाव पारिरहेको छ भन्ने बताउँछ।
किताबले व्यापक ख्याति पाउँदापाउँदै पनि कतिपय विद्वान उनको 'प्राच्यवाद'सँग सहमत छैनन्। दक्षिण एशियासम्बन्धी अन्वेषक र विज्ञ डेभिड कोफ् भन्छन्, "सेडको ओरियन्टलिजम्मा ऐतिहासिक शुद्धता पाइँदैन। सेड बेलायती–भारतको प्राच्यवादलाई गलत रूपले बुझ्छन्।"
उन्नाइसौँ शताब्दीतिर बेलायती प्राच्यवादको युरोपकेन्द्रित दृष्टिकोण थिएन। त्यसले हिन्दु संस्कृतिलाई आधुनिकीकरण गर्नसमेत निकै सहयोग गरेको थियो। हिन्दु धर्मको पुनर्निर्माण र भारतीय नवचेतनाको उदयमा समेत सहयोग पुर्यायो। आइ वारग भन्छन्, "सेडको साम्राज्यवादको बुझाइ बिलकुल नकारात्मक छ। बेलायतीले नै भारतमा पुनर्जागरण गर्न सहयोग गरेका थिए। भारतको एकतामा बेलायतीहरूको भरपुर सहयोग थियो।"
यता, डेनियल मार्टिन भरिस्को भन्छन्, "भारतमा ब्रिटिस शासनको अन्त्य गर्ने सवालमा गान्धी प्राच्यवादबाट प्रभावित थिए।"
बिसौँ शताब्दीका एक खरा र खारिएका उत्तर आधुनिक खेमाका असाधारण व्यक्ति भईकन पनि सेड विवादमुक्त हुन सकेनन्। उनका साहित्यिक, सांस्कृतिक र राजनीतिक लेखहरू विश्वसाहित्य र मानवशास्त्रका लागि अभिन्न मात्र होइन, उत्कृष्ट कृतिहरूमध्ये पर्छन्।
"मेरो जीवनको पछिल्लो ३५ वर्षको दौरान प्यालेस्टिनी जनताको आत्मनिर्णयको वकालतमा बिताएँ, तर मेरो ध्यान यहुदीहरूको जीवनको यथार्थतामा पनि केन्द्रित रह्यो। साथै उनीहरू उत्पीडन, अत्याचार र जाति–संहारबाट कति कष्ट भोगिरहेका थिए र छन् भन्ने कुराले म सधैँ चिन्तित छु। सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने, प्यालेस्टाइन र इजरायलबीचको अनवरत संघर्षलाई हामीले मानवीय लक्ष्यको तवरबाट बुझ्नुपर्छ। त्यो दीर्घकालीन गतिरोधलाई सहअस्तित्वको रूपमा समाधान गर्नुपर्छ, अरू बढी अवरोध, दमन र अस्वीकार होइन। म इंगित गर्छु, प्राच्यवाद र यहुदीविरोधी भावनाको एउटै आधार छ, दुवैको जरासँगै गाडिएको छ," सेडले भनेका थिए।
बेलायती अखबार 'गार्डियन'मा सेप्टेम्बर २६, २००३ मा एडवर्ड सेडको मृत्युबारे छापिएको शोक सन्देश यस्तो थियो, "६७ वर्षको उमेरमा बितेका एडवर्ड सेड बिसौँ शताब्दीका अन्तिम समयतिरका साहित्यका आलोचकहरूमध्ये एक हस्ती थिए। उनी कोलम्बिया विश्वविद्यालय, न्युयोर्कका अंग्रेजी र तुलनात्मक साहित्यका प्राध्यापक थिए। अमेरिकामा उत्तर–संरचनावादी वाम खेमाका प्रतिनिधि पनि थिए। मुख्यतः उनी अमेरिकाका प्यालेस्टिनी मुद्दाका स्पष्ट, खुला समर्थक थिए। त्यस कारण उनले धेरै बैरीहरू कमाए। उनको सबैभन्दा प्रभावशाली पुस्तक 'ओरिएन्टलिजम्'को प्रमुख पक्ष युरोपेली ज्ञानोदय (एन्लाइटमेन्ट) र उपनिवेशवादबीचको अपवित्र गठबन्धन उजागर गर्नु हो।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
