सरकारमा छँदा काम गर्न नदिइएको र राजनीति प्रतिशोधका कारण आफूमाथि षड्यन्त्र भएको बताउने खानले मुलुकमा नयाँ चुनाव चाहन्छन्।
पछिल्लो समय पाकिस्तानी राजनीतिको महत्त्वपूर्ण व्यक्तित्वका रूपमा उदाएका खान पाकिस्तान तथा अन्तर्राष्ट्रिय जगतमा निकै चर्चित छन्। पाकिस्तानी राजनीति, त्यहाँको क्रिकेट र खेलाडीका रूपमा विश्वमा उत्तिकै चर्चित खान सक्रियरूपमा राष्ट्रिय राजनीतिमा आउनु पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि नै रोमाञ्चको विषय बनेको देखिन्छ।
इमरान खान सन् १९५२ अक्टोबर ५ तारिखमा पाकिस्तानको लाहोरमा पठान परिवारमा जन्मिएका हुन्। सन् १९७५ मा बेलायतको केबल कलेजमा स्नातकसम्मको पढाई पूरा गरेका खानले १८ वर्षको उमेरमै बेलायतमा सम्पन्न टेस्ट सिरिजबाट अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा थालेका थिए। चर्चित राष्ट्रिय खेलाडीको ख्याति कमाएका इमरानले सन् १९८२ देखि १९९२ सम्म पाकिस्तानी क्रिकेट टोलीको कप्तानी सम्हालेका थिए। उनकै नेतृत्वमा पाकिस्तानले सन् १९९२ को विश्वकप क्रिकेटसमेत जितेको थियो। त्यो नै विश्वकपमा पाकिस्तानको पहिलो जित थियो। यसले इमरान खानको रौनक थप बढायो।
खानले टेस्ट क्रिकेटमा कूल ३ हजार ८०७ रन बनाएका छन् भने र ३६२ वटा विकेट लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको हल अफ फेम अवार्डबाट सम्मानित उनले विभिन्न परोपकारी काम गरेर पनि चर्चा कमाएका छन्। यसले उनको राजनीतिक प्रभावलाई थप बलियो बनाउन मद्दत गरेको धेरैको विश्लेषण छ। खानले पाकिस्तानको लाहोर र पेशावरमा क्यान्सर अस्पताल स्थापना गरेका छन्। यस्तै, पन्जाब प्रान्तको मियानवलीमा पनि २००८ मा नमल कलेज पनि खोलेका छन्।
खानले नै सन् १९९६ अप्रिल २५ मा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)नामक दलको स्थापना गरे। पीटीआई सन् २००८ को चुनावमा सहभागी हुन पाएन। तर त्यसपछिका निर्वाचनमा लोकप्रिय मत प्राप्त गर्दै पीटीआई सन् २०१३ को निर्वाचनसम्म आइपुग्दा पाकिस्तानको दोस्रो ठूलो दल बनिसकेको थियो। यसै पृष्ठभूमिमा सन् २०१८ को आम निर्वाचनमा पनि लोकप्रिय मतका साथ खान बलियो पार्टी अग्रपंक्तिमा देखियो। पीटीआई त्यतिबेला राष्ट्रिय सभामा सबैभन्दा बढी मत ल्याउने पार्टीसमेत बन्यो। अन्य स्वतन्त्र दलहरूको सहयोगमा गठबन्धन तयार पार्दै पीटीआईको सरकार बन्यो जसको नेतृत्वमा इमरान खान २०१८ अगस्ट प्रधानमन्त्री बनेका थिए।
पाकिस्तानको मुहार फेर्ने इमरानको बाचा के भयो?
पाकिस्तानको आर्थिक अवस्था सुधार, सामाजिक रूपान्तरण, गरिबी निवारण र जनतामा एकता कायम राख्ने उद्देश्यले इमरान खान प्रधानमन्त्री बनेका थिए। तर देशभक्ति र लोकप्रिय मतका कारण सत्तामा पुगेका खान प्रधानमन्त्री बनेसँगै देशको अर्थतन्त्र थप कमजोर बनेको भन्दै विरोधका आवाज सुनिन थाले। साथै, सरकार सञ्चालनमा पनि उनको अभ्यासको चौतर्फी विरोध भएको थियो। त्यसपछि संसद्बाट उनको बहुमत गुमेको थियो। साथै, प्रधानमन्त्री बनेसँगै पाकिस्तानी अर्थतन्त्र निरन्तर ओरालो लागेको र विदेशी मुद्रा भण्डारसमेत घटेको भन्दै पार्टीभित्र र बाहिर विरोधका स्वर सुनिन थाले।
सन् २०१९ मा त्यसअघिका वर्षको तुलनामा पाकिस्तानी रुपी सबैभन्दा कमजोर अवस्था पुगेको थियो। समय यस्तो सम्ममा आयो सरकार आफैले आर्थिक मितव्ययिताका लागि भन्दै गत जुलाईमा सरकार आफैले सर्वसाधारणलाई दैनिक पिउने चियाको मात्रा घटाउन आग्रह नै गर्नुपर्यो। त्यतिबेला पाकिस्तानको विदेशी मुद्रा सञ्चितिले केबल दुई महिनासम्मका लागि मात्र सामग्री निर्यात गर्न सकिने भनिएको थियो। यस्तै, आर्थिक सहायताका लागि पाकिस्तानले अमेरिकासहित अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको थियो। यति मात्रै होइन बिजुली बचतका लागि भन्दै साँझ चाँडै नै बजार पसल बन्द हुन थालेका थिए। यसले उचाइमा पुगेको खानको साख र पार्टीप्रतिको विश्वास धरमराउन थाल्यो। अन्ततः विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री खान गत अप्रिलमा सरकारबाट बाहिरिनुपर्यो।
त्यसपछि पाकिस्तान मुस्लिम लिगका नेता शहबाज शरिफ प्रधानमन्त्री बने। शहबाज पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ हुन्। तर आर्थिक संकटको घडी घटेको छैन। सन् २०२२ को फेब्रुअरीमा १६ खर्ब डलर रहेको पाकिस्तानको विदेश मुद्रा सञ्चिति रकम चार महिनापछि नै १० अर्ब डलरमा खुम्चिन पुगेको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
पाकिस्तानमा अस्थिर राजनीतिका कारण पनि मुलुकका समस्या समाधान हुन नसकेको दृश्य देखिन्छ। पाकिस्तानमा सन् १९४७ पछि आजसम्मको ७५ वर्षको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँच वर्षे कार्यकाल पूर्ण रूपमा चलाएका छैनन्। इमरान खानको कार्यकालमा पनि यही दृश्य दोहोरिएको छ।
अब के चाहन्छन् इमरान खान?
सरकारमा छँदा काम गर्न नदिइएको र राजनीति प्रतिशोधका कारण आफूमाथि षड्यन्त्र भएको बताउने खानले मुलुकमा नयाँ चुनाव चाहन्छन्। शरिफको सरकारलाई चुनावका लागि दबाब दिन उनको पार्टीले प्रदर्शनका कार्यक्रमलाई तीव्र पारिरहेको छ। प्रजातन्त्रवादी पार्टीको एउटै अस्त्र शान्तिपूर्ण आन्दोलन भएकाले शान्तिपूर्ण आन्दोलनबाट सरकारलाई चुनावका लागि दबाब दिएको उनी बताउँछन्।
आफ्ना पार्टीका नेतालाई लाखौँ डलर दिएर दल परिवर्तन गर्न लगाइएकै कारण आफूले संसद्मा हार बेहोर्नुपरेको उनको दाबी छ।
खानलाई असफल पार्न र उनका राजनीतिक प्रतिबद्धता पूरा गर्न नदिन देशभित्रैको गिरोह र अन्तर्राष्ट्रिय शक्ति लागि परेको उनले बताउँदै आएका छन्। हालको सरकार अन्तर्राष्ट्रिय शक्तिको इसारामा चलेको पनि उनी बताउँछन्। यस्तो विदेशी शक्ति र तत्व अमेरिका भएको सुराक पनि आफूले पत्ता लगाएको खानको दाबी छ।
पाकिस्तानी जनताले मुलुकमा नयाँ चुनाव चाहेको बताउँदै उनले देशका विभिन्न स्थानमा सभा, समारोह तथा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकै क्रममा खानमाथि नोभेम्बर ३ मा गोली प्रहार भएको छ। हत्या प्रयासमा उनीमाथि गोली प्रहार भएको पाकिस्तानी सञ्चारमाध्यममा चर्चा छ। उनको खुट्टाको पिँडौलामा गोली लागेको हो।
गोली प्रहारबाट खानसँगै उनको पार्टीका केही कार्यकर्तासमेत घाइते भएका छन्।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
